PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कान्तिपुर गाथा : सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल



किशोर नेपाल

कान्तिपुर गाथा : सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल

खुसी थिई कनिका। दुई सातादेखि भूतको कथा पढेर बसेकी थिई केटी। असी वर्षको उमेरमा लेखक तारक मेहताको निधन भएपछि उनको उल्टो चश्मा पनि भाँचियो। कनिकालाई त्यसपछि बोर लागेछ, कामगर्न थाली। काम गर्न थालेपछि कुन्नि कतिजना मर्दले गर्ने काम एक्लै गर्छे ऊ। बेलाबेलामा जङ्गिन्छे, आफैसँग र आफ्नै परिवेशसँग। बिहान अफिस आउनुभन्दा अघिसम्म ऊ चहकिईरहेकी थिई।

टेलिभिजनबाट समाचार आइरहेको थियो, सरकारले आजदेखि वीस वर्ष पुरानो सवारी साधन हटाउँदैछ। थोत्रा गाडी हट्ने कुरा सबैका लागि सुखद थियो। अफिस आउँदा भने ऊ फेला परिछ। हेर्दै तीस वर्ष पुरानो एउटा टिपरले उसलाई र उसको स्कुटीलाई झण्डै लतारेनछ। चलाउन मनाही गरिएको त्यो गाडी चलाइएकोमा कनिका क्रुद्ध थिई। तर, दोष थियो उसको आफ्नै। उसले ट्राफिकमा रिपोर्ट गरी। तर, ट्राफिकले उसको रिपोर्ट हाँसेर उडाइदियो। कतिपय नयाँ गाडी पनि राम्ररी धोइपखाली नराख्ने हो भने निकै पुराना देखिन्छन्। कनिका जुन टिपरको फेला परेकी थिई त्यो पाँच वर्षमात्रै पुरानो थियो। ट्राफिकले भनेपछि त पत्याउनै पर्‍यो।
 
कान्तिपुरमा समाचारको दुःख थिएन। यता, स्थानीय चुनावको घोषणा भएपछि राष्ट्रिय शान्ति–सुरक्षाको मुद्दा जुर्मुराएर उठेको थियो। उता, आइजीपी नियुक्तिको मुद्दा सर्वोच्च अदालतको कीलामा टाँगिएको टाँगियै थियो। विचरा न्यायाधीशहरु पनि के गरुन्? अख्तियार मुद्दा टुंग्याएर सांसदहरुलाई राहत दिएको साता वित्न नपाउँदै आइपुग्यो आइजीपी मुद्दा। आइजीपी कसलाई बनाउनु? चन्दलाई बनाए सिलवाल रिसाउने, सिलवाललाई बनाए चन्द रिसाउने। बडो घीडघीडो। यही घीडघीडो अवस्थामा सरकारलाई चुनावको बाजा बजाउनु पर्यो।

उता, सडकमा धूलो उडेको उड्यै छ। त्यसका विरुद्ध परेको रीटको सुनुवाई बाँकी नै छ। सडकमा धूलो उडेको रीटमा कसका विरुद्ध कारण देखाउ आदेश जारी गर्ने? मेलम्चीको पानी पिउन नपाउँदै धूलोले आधाभन्दा बढी जनताको ज्यानलिने डर भैसक्यो।
 
समाचार अरु पनि छन्। सुन त सुन भैहाल्यो। पुलिसले ३३ किलो सुनको मालिक दुवईमा पत्ता लाग्यो भनेको छ। पुलिस आफैले त्यो मालिकलाई देखेको हो कि के हो? स्पष्ट केही छैन। यता ३३ किलो सुनको हल्ला हुँदाहुँदै ३३३ किलो सुन भित्रिइसक्यो होला। कसलाई के थाहा र? हुने त्यस्तै हो। ‘बाघ आयो बाघ आयो’ भन्यो। सधैँ विरालो आउँथ्यो। एक दिन बाघै आयो। कसैले थाहा पाएन।
 
समाचारमा नयाँ सिनेमा लुट–२ त भैहाल्यो। लैजाउ घुमाउन मलाई ठमेल बजार। कनिकालाई खुब रमाइलो लाग्छ यो गीत। खुब रमाउँछे। तर, कहिलेकहीँ पछुताउँछे कि यो मस्तीको उमेरमा पनि उसलाई ठमेल बजार घुमाउन लैजाने कोही छैन। यस्तो बेला चार्ली सम्झनामा नचढ्ने होइन। चढेर पनि के गर्नु। चार्लीको सम्झनामा ऊ देखिएकी नै छैन। कनिका झस्किन्छे, ओहो सुन...लूटको कथा पनि त सुनकै कथा हो। सुन, पुलिस, गीत र गुण्डा कस्तो मिलेको सिक्वेल। मान्नै पर्दछ। यही अवस्था रहने हो भने त निश्चल बस्नेतले लुट–१० सम्म पनि बनाउन सक्नेछन्। देशमा न कहिल्यै सुनको माग सकिन्छ, न पुलिस र तस्कर सरहरुको गीत सकिन्छ।
 
ऊ सहरमा उपलब्ध समाचारहरुको रिभ्यु गर्दै थिई सुदिप्ती आइपुगी। कनिकालाई देखेर रमाउँदै सोधी, ‘ओइ, तँ कामगर्ने मुडमा हो?’
 
कनिकाले जवाफ दिई, ‘हो, किन र?’
 
सुदिप्तीले जवाफ दिई, ‘हे बेबी, आई हायभ अ भेरी सेक्सी एण्ड इन्टरटेनिंग प्याकेज फर यू। अ नेपाली जर्नलिस्ट फ्रम जिबी रेडियो हायज रिजाइन्ड टू ज्वाइन पोलिटिक्स हियर। हि इज स्मार्ट। फ्लर्टिंग। लट अफ सेक्स अपिल। वुमन इटर। यू मे लाइक हिम। तेरो क्रश हुनसक्छ। एभ्री पसिविलिटी। हि इज गेटिंग टू मच कभरेज इन सोसल मेडिया। गो एण्ड फाइण्ड आउट दि सेक्रेट।’
 
सुदिप्तीको कुरा सुनेर कनिका हाँसी। त्यसपछि उसले सोधी, ‘यो घटना–स्थलचाहिँ कहाँ हो? जिबी कि नेपाल?’
सुदिप्ती केही बोलिन। उसलाई थाहा थियो कनिकालाई समाचारको मुख्य ‘थीम’ मन परेको छ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)

यो सिरिजका थप गाथा

भ्यालेन्टाइन किसको सोसल रियाक्सन

अशान्त कान्तिपुरका केही छिद्रहरु

डस्टमाण्डूमा जारी छ चमत्कार



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell