PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कान्तिपुर गाथा : चुनावी चक्रव्यूहमा कनिका



किशोर नेपाल

कान्तिपुर गाथा : चुनावी चक्रव्यूहमा कनिका

कनिका कम्प्युटरमा व्यस्त थिइ। उसका लागि चुनावी चक्रव्यूह बुझ्नु त्यति सजिलो विषय थिएन। राजनीतिक रिपोर्टिङमा भर्खर हात हाल्दै थिइ कनिका। राजनीतिक रिपोर्टिङ र विश्लेषणमा पोख्त मानिएका सुवीर र तलत पत्रकारिता छोडेर नयाँ खुलेको पार्टीमा लागेका थिए। उनीहरुको विचारमा भर्खर खुलेको नयाँ पार्टी अहिले देशमा शासन चलाइरहेका पार्टीहरु भन्दा खँदिलो थियो। नयाँ पार्टीका संस्थापक र प्रवर्द्धकहरु पहुँचवाला पत्रकार थिए। भोलिका दिनमा उनीहरुले खोलेको पार्टी नचले पनि उनीहरु राम्ररी चल्नसक्ने कुरामा कुनै शंका थिएन। उनीहरु चलायमान थिए। उनीहरुमा आफ्नो साथ लाग्नेहरुलाई पनि चलाउनसक्ने ताकत छ भन्ने विश्वास थियो धेरैको। उनीहरु दायाँबाट बायाँ र बायाँबाट दायाँ – जुनसुकै बेला जताबाट पनि चल्न सक्ने ब्यक्तित्व जो थिए।

कनिकाको राजनीतिक रिपोर्टिङ सुवीर र तलतको जस्तो विश्लेषणात्मक र खारिएको थिएन। यो साता अधिकांश अनलाइनले प्रधानमन्त्रीको चीन भ्रमण र त्यसमा पनि चीनियाँ पोशाकमा सजिएका सम्माननीय प्रधानमन्त्री र म्याडम प्रधानमन्त्रीको तस्वीरलाई बढी महत्व दिएका थिए।

म्याडम प्रधानमन्त्रीले लगाउनु भएको कालो चश्मा उहाँलाई सुहाएको थियो। त्यसपछि प्रोटोकलको महत्वपूर्ण विषयले महत्व पाएको थियो। उप–प्रधानमन्त्रीहरुमा को ठूलो ? भन्ने निकै चर्को प्रश्न र रमाइलो डिबेट। त्यसपछि विभिन्न प्रस्तावित प्रदेशहरुबाट आएका स्थानीय तह चुनावका समाचार थिए। ती समाचारका अनुसार, चुनावमा एउटा मात्रै पार्टी हावी हुने वातावरण बन्दै थियो। त्यो पार्टीका अध्यक्ष आफैंले भनेका थिए, हाम्रो पार्टीको स्टामिना देखेर अरु पार्टीहरुको सातो गएको छ। उनले मधेशवाला नेताहरुलाई अपराधी भनेका थिए।

यी सबै विषयमा अनलाइन र न्यूजपेपर्स पढेर कनिकालाई झोक चलेको थियो। त्यही झोकको मूडमा उसले सररर्र लेखेकी थिइ – देशमा चुनाव हुने भएको छ। सरकारले चुनावको घोषणा गरेर मितिसमेत तोकिसकेको छ। तैपनि, प्रमुख चुनाव आयुक्त चुनावका लागि राजनीतिक वातावरण नबनेको गुनासो गर्दैछन्। चुनावका लागि खटिएका कतिपय कर्मचारी दुई नम्बर प्रदेशमा छिर्न डराइरहेका छन्। लहान जान हिंडेका निर्वाचन कर्मचारीहरु बन्दीपुरमा झडप भएकाले मिर्चैयामा अडकिएका छन्। सरकार चुनावका लागि त्यहाँको वातावरणमा सुधार ल्याउन चाहन्छ। तर, दुई नम्बर प्रदेशका नेताहरु सरकारसँग वार्ता नै गर्न चाहँदैनन्। कति गर्नु बाँझो वार्ता ? सरकार सबै कुरा हुन्छ भन्छ। गर्न केही गर्दैन। एउटा अहंकारको मातमा डुबेको प्रतिपक्ष छ जसले राष्ट्रवादको पूरै ठेकेदारी लिएको छ। यस्तोमा देशको आर्थिक वृध्दिदर ५.२ प्रतिशत पुगेको तथ्यले पनि केही गर्न सक्दैन।

कनिकाले सोची,  वृध्दिदरका बारेमा अर्थशास्त्रीहरुसँग सल्लाह लिनु उपयोगी हुनेछ। अहिले राष्ट्रिय हिसाबले ५.२ प्रतिशत देखिएको वृध्दिदर सात प्रदेशका बीचमा समानुपातिक वितरण गर्दा कति प्रतिशतमा खुम्चिने हो? यी सात प्रदेशलाई आफैं उन्नति गर भन्यो भने अहिलेको भन्दा तेज रफ्तारमा उन्नति हुने हो कि होइन? यो उसको मथिंगलले भ्याउने प्रश्न थिएन। त्यसैले कनिका यसको गहिराईमा जान चाहिन।

चुनावको प्रसंगमा आएका अनेकन समाचारहरुले उसको ध्यान खिचेका थिए। एउटा समाचार थियो - कांग्रेसले स्वास्थ्य मन्त्री गगन थापालाई काठमाडौ महानगरपालिकाको मेयरमा उठाउँदैछ। कनिकाले समाचार पढी सक्दानसक्दै स्वास्थ्य मन्त्री थापाको खण्डन पनि आइ हाल्यो – म काठमाडौं महानगरपालिकाको मेयरमा उठ्दिन। पढेर कनिकालाई लाग्यो, थापालाई मेयर बनाउने समाचार जति गलत थियो, यो खण्डन त्यति नै गलत छ। आखिर लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र जे भएपनि देशमा पार्टीतन्त्र छ। पार्टीमा लागेर राजनीति गर्ने मानिसले निहूँ खोजेर हिंडन मिल्दैन। भोलि पार्टीको हितका लागि हाइ कमाण्डले गगन थापालाई काठमाडौंको मेयरमा उठायो भने के थापाले नाईं र अहँ भन्न सक्लान्? 

कनिकाले लेखी सकी। त्यसपछि ऊ सुदिप्तीको केबिनमा गई। ऊ चुनावी रिपोर्टिङका लागि विराटनगरदेखि वीरगन्जसम्मको यात्रा गर्न चाहन्थी। सुदिप्ती पनि चाहन्थी कनिका राजनीतिक रिपोर्टिङमा पनि लागोस्। कनिकालाई देख्ने बित्तिकै सुदिप्तीले भनी, ‘हेर कनि, पुलिस चिफको त कुरै टुंगिएन। मधेश जानुभन्दा अघि एकपटक यसो चियाएर हेर्न। को हुँदैछ आइजीपी? इट्स इम्पोर्टेन्ट टू नो।’

कनिकाले भनी ‘आइ वील ट्राइ। कतै आइजीपी विवाद चर्कियो भने सरकार नै नरहला। त्यतिबेला चुनाव होला कि नहोला?’

सुदिप्ती हाँसी मात्र। उसले केही भनिन। त्यसपछि प्रश्नको जवाफ खोज्ने हिसाबले कनिका अफिसबाट निस्किइ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा
कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell