PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कान्तिपुर गाथा : कुलमानमा कनिकाको आँखा



किशोर नेपाल

कान्तिपुर गाथा : कुलमानमा कनिकाको आँखा

आइतबार सम्पन्न हुने स्थानीय तहको पहिलो चरणको चुनावको प्रचार प्रसार बन्द भएको १२ घण्टाभन्दा बढी समय बितिसकेको छ। ४८ घण्टाको यो समय पत्रकारहरुका लागि अलिकति फुर्सदको समय हो। तैपनि कर्टेन रेजर स्टोरीहरुका लागि मेहनत त गर्नै पर्दछ। कनिका यही काममा लागेकी छ।

अहिले चाहिँ ऊ कफी र स्मोकको आनन्द उठाउँदै फेसबुकको तिलस्मी संसारमा छिरेकी छ। फेसबुकमा चुनाव छ। स्थानीय तहको चुनाव भएपनि लोडशेडिंग महत्वपूर्ण इस्सू बनेको छ। माओवादीको नेतृत्वमा कांग्रेस–माओवादी सरकार गठन भएपछि देशमा नियमित भइरहेको लोडशेडिंग हुन छाड्यो। लक्ष्मीपूजा जस्तो बत्तीको धेरै खपत हुने समयमा पनि बत्ती गएन। पन्ध्रौं वर्षदेखि लोडशेडिंगको मार खपिरहेका नेपालीहरुका लागि लोडशेडिंगबाट मुक्ति आफैमा एउटा ठूलो उपलव्धि थियो। यो उपलव्धिका लागि अलिकति सरकारले र अलिकति मन्त्रीले जस पाए। यो उपलव्धिको बाँकी जस बिजुली अड्डाका हाकिम कुलमान घिसिंङले पाउनु स्वाभाविक थियो। मानिस हुनु त कुलमान जस्तो, जसले पूरै देशलाई अँध्यारोबाट उज्यालोतिर ल्याए।

कुलमानको मार्केट भ्यालु र पव्लिसिटीको पारो ह्वात्तै बढेको बेलामा लोडशेडिंग विवाद बढाउने राजनीतिक प्रयास भएको छ। सरकारले जनताको सुविधाका लागि भारत सरकारको कम्पनीसँग एलइडी चीम खरीद गर्ने निर्णय गरेपछि कुलमानलाई त्यसमा तान्ने प्रयास गरिएको छ। देशका ठूला साना पत्र–पत्रिका प्रकाशन कम्पनीदेखि तिनमा कामगर्ने समाचार उद्यमीहरुको ध्यान एलइडीको उज्यालोले तानेको छ। फेसबुकमा समाचार पढेर कनिकालाई उदेक लाग्यो। जनतालाई उज्यालो चाहिएको छ। कुलमानले त्यसको उचित र कुशल व्यवस्थापन गरी हालेका छन। त्यसका लागि तार र चीम जनताले आफै जुटाइहाल्छन्। सरकारलाई किन जान्ने हुनु परेको हो? चुनावको बेलामा खरीदको निर्णय गरेपछि जतिसुकै सही काम भएपनि विवाद आइ नै हाल्छ।
 
कनिकाले सिगरेटको लामो सर्को तानी। फेसबुक हेर्दाहेर्दै ऊ मुसुक्क मुस्काइ। उसको आँखा कुलमान रोएको स्टाटसमा परेको थियो। कुनै बुझक्कडले लेखेको थियो, यस्ता कुरामा रोएर सुख पाइँदैन। उज्यालोे दिएर मात्रै हुन्छ? त्यो कसरी दियो त्यसको पनि छिनोफानो हुनु पर्दछ। यो लोडशेडिंग त ओली सरकारले नै हटाउने निर्णय गरेको थियो। कसरी अहिले हट्यो? के षड्यन्त्र भयो यसमा?

पत्रकारितामा लागेपछि कनिका यथार्थको संसारमा जमेकी थिइ। उसले जीवनका बाटाहरुको पहिचान गरेकी थिई। मानिसका दुःखहरु बुझ्न थालेकी थिइ । नेपाली बुद्धिको औकातको समझ हुन थालेको थियो उसलाई। कनिकालाई थाहा थियो, आर्थिक रुपले विपन्न मानिसमा एकपटक विपन्नताको विचार गाडिएपछि ऊ त्यसबाट कहिल्यै मुक्त हुन सक्दैन। विपन्नता नेपालीहरुको संस्कार बनिसकेको छ। कल्चर अफ पोभर्टी – उसका बाबा सँधै भन्ने गर्दछन्।

फेसबुकमा उसले अरु पनि धेरै कुरा पढी। एउटाले कुलमानको राजिनामा तुरुन्तै मागेको थियो। उसको भनाइ थियो, एकपटक उज्यालो ल्याएँ भन्दैमा त्यसैको नाममा सँधै खान पाइन्छ? पढेर कनिका खूब हाँसी। मानिसको दिमाग पनि अजीवको छ हाम्रो देशमा। कोही पनि आफूलाई नियालेर हेर्न तयार छैन। सबैलाई अर्काको खोइरो खन्दैमा फूर्सद छैन। शुक्रवारको दिन थियो। सुलभले आज साँझ सुदिप्ती एण्ड कम्पनीलाई रोडहाउसमा ट्रिट दिँदै थियो। सुलभ कम्पनीको मार्केटिङ चिफ थियो। कम्पनी नाफामा थियो। सुदिप्ती र उसको टीम यसको मुख्य कारण थियो।
 
फेसवुकमा चुनावको प्रत्यक्ष प्रचार थिएन। तर, सबैको स्टेटस राजनीतिक नै थियो। त्यहाँ मानिसका तस्वीर थिएनन्। सवै तस्वीर पार्टीका थिए। रुख, सूर्य र हँसिया–हथौडा। क्यामरा, इष्टकोट र सेलरोटी। कान्तिपुरमा उम्मेदवारको पोशाकमा पनि दृष्टि थियो मतदाताको। कुन पार्टीको मेयरको उम्मेदवारले के लगाएको छ? कस्तो लगाएको छ? कुन पार्टीकी उप–मेयरको उम्मेदवारले के लगाएको छ? कुर्ता सुरुवाल कि जीन्स कि सारी व्लाउज। मानौं यो चुनाव होइन, फेशन शो हो।

कनिकालाई थाहा छ, चुनाव आयोगले प्रचार निषेध गरेको यो समयमा कान्तिपुर शहरका विभिन्न भागमा भोज–भतेरको आयोजना गरिएको छ। यी भोजहरुले उम्मेदवारका पक्षमा सन्देश प्रसारण गर्दछन्, मौन सन्देश । कनिकाले थाहा पाएकी छ – चुनाव अघिको ४८ घण्टा नै निर्णायक हुन्छ मतदानका लागि। मतपत्र गन्नु भन्दा पहिले नै जित्ने उम्मेदवार सट्टा बजारमा परिचित भै सकेको हुन्छ।

 (तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा
अदालतमा कनिका
कनिकाको मधेश यात्रा
कान्तिपुर मेयरमा बाबुराम

कनिकाको नयाँ वर्ष

महाराज महारानीको भोजमा राष्ट्रपति ​

चुनावी चक्रव्यूहमा कनिका
कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell