PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कान्तिपुर गाथा : महाराज महारानीको भोजमा राष्ट्रपति



किशोर नेपाल

कान्तिपुर गाथा : महाराज महारानीको भोजमा राष्ट्रपति

कनिका समाचारलाई निकै ध्यान दिएर पढदै थिइ। समाचार रोचक थियो। रोचक मात्र होइन, अत्यन्त रोचक। सर्वोच्च अदालतले पशुपतिनाथ लगायतका विभिन्न धार्मिक मठ मन्दिरमा बाँदरबाट हुने सम्भावित आक्रमणबाट भक्तजनको शारीरिक र स्वास्थ्यको सुरक्षा गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेछ। अन्तरिम आदेश जारी भएपछि अरु समस्या नै रहेन। सर्वोच्चको काम आदेश दिनु हो। सरकारले त्यो आदेश पालना गरेको नगरेको हेर्नु होइन।
 
बाँदर व्यवस्थापनप्रति अदालत सकारात्मक हुनु जरुरी थियो। नभए पशुपतिनाथप्रति आस्थावान तीर्थालुमा नकारात्मक सन्देश जाने थियो। सर्वोच्च अदालतमा यही बेहोराको रिट परेको थियो। यो समाचार पढेपछि कनिकाको मनमा अनेक कुरा खेल्न थाल्यो। जुन सरकारले सर्वोच्चको आदेश अनुसार एउटा आइजीपीसम्म नियुक्त गर्न सकेको छैन त्यो सरकारले पशुपति र अन्य देवस्थलहरुमा स्वच्छन्द जीवन बिताइरहेका बाँरहरुबाट कसरी भक्तजनहरुको सुरक्षा गर्ला? यो त तत्काल हुनसक्ने कुरै होइन। किनभने, बाँदरहरुमा एचआइभी र क्यान्सरजस्ता रोगका किटाणु छन्। तिनको निदान भर्खरै हुन सक्दैन।

एक त सरकार नै चटारोमा परेको छ। उता वैशाख ३१ गतेभित्र स्थानीय चुनाव गराउनुपर्ने बाध्यता छ भने यता आइजीपीको फूली लगाउन योग्य, ज्यूँदो जाग्दो मान्छे अहिलेसम्म फेला परेको छैन। मन्त्रीको वरिष्ठताको झगडाले गर्दा क्याविनेट मिटिङ बस्न सकेको छैन। संसदीय व्यवस्थामा प्रधानमन्त्री नै क्याबिनेट हुन्छ। त्यसको लागि सरकार एउटै पार्टीले बनाएको हुनु पर्दछ । अब यहाँ त सरकार बनाउने मूल दुईवटा पार्टी परे, कांग्रेस र माओवादी। त्यसपछि बहुमत पुर्‍याउन जोडिएका अरु पार्टी त कति कति।
 
कनिका यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा सोच्दैथिइ। यो पार्टी कमल थापाको राप्रपा–नेपालमा विलय भएपछि यसको नीतिले तेस्रो लिंगी जामा लगाएको ठहर गरेकी थिइ कनिकाले। यो पार्टीका अध्यक्ष कमल थापा आफैं माओवादी केन्द्रका नेता प्रचण्डको नेतृत्वमा सरकारको उप–प्रधानमन्त्री भएर बसेका छन्। प्रधानमन्त्री देश बाहिर जाँदा कार्यवाहकको पोजिसन आफूलाई दिनुपर्ने दावी थापाजीको छ। यही दावीका कारण मन्त्रिमण्डलको बैठक बस्न सकेको छैन। अर्कोतिर थापाजी एमालेका नेता केपी ओलीको नेतृत्वमा राप्रपालाई एमालेसँगै मिलेर चुनाव लडाउने तयारीमा लागेका छन्।

उता महाराज–महारानीले नातिको व्रतबन्धको भोजमा राष्ट्रपति विद्या भण्डारीलाई निम्त्याएर ओली–थापा गठबन्धनलाई हौस्याएका छन्। महाराजालाई पनि एकपटक गणतन्त्रको राजा बन्ने रहर त पक्कै होला। गणतन्त्रमा राजा मिल्ने कुरा त होइन। तर बाँदर व्यवस्थापनका लागि सर्वोच्च अदालतले आदेश दिइ सकेको यो पाशुपत क्षेत्रमा सर्वोच्चका न्यायाधीशहरुको फूलकोर्टले “राजतन्त्र र गणतन्त्रलाई मिलाएर लैजानू” भन्ने आदेश जारी गर्‍यो भने त सक्किइ हाल्यो। महन्त आदित्यनाथको आशिर्वादको त ग्यारेण्टी छँदैछ।
 
प्रधानमन्त्री प्रचण्डको पहिलेको कार्यकाल र अहिलेको कार्यकालको तुलना गर्नेहरु धेरै छन्। उतिबेला प्रचण्ड प्रधानमन्त्री हुँदा कनिका सानै थिइ। उसले राजनीति बुझ्ने बेला नै भएको थिएन। अहिले पनि, उसले बेला भएर वा उमेर पुगेर राजनीति बुझेकी होइन। साथीहरुको संगतले राजनीति अलिअलि बुझ्ने भएकी हो। उसले राजनीतिलाई नेपाली कार्टूनिष्ट वात्स्यायन र भारतीय कार्टूनिष्ट आविद सुरतीको कार्टुन बुझे झैँ बुझेकी छ। कार्टुन नै लाग्छ राजनीतिका कतिपय कुरा त। नहाँसु भनेपनि हाँसो लाग्ने परिस्थितिको सिर्जना भै हाल्दछ। बाँदरको प्रसंगमा अदालतको आदेश त आदेश नै भै हाल्यो।

कनिकालाई अचेल धेरैैले सोध्दछन्, “चुनाव हुन्छ कि हुन्न नानी ?” राजनीतिक समाचार धेरै नलेख्ने हुनाले ऊ सकेसम्म यस्ता प्रश्नको उत्तर दिन चाहन्न। आफूले जे जानेको छैन त्यसको जवाफ दिएर के गर्ने? तर, अचेल ऊ यस्तो प्रश्नको पनि जवाफ दिन थालेकी छ। जब चुनावको घोषणा गर्ने सरकारका नेता नै चुनावका बारेमा आलटालका कुरा गर्दछन् भने कनिकाले के गरोस्? प्रधानमन्त्रीजी कहिले दुई चरणमा चुनाव भन्छन्, कहिले के भन्छन्। वार्ता जोसँग गर्नुपर्ने हो त्योसँग गर्दैनन्। प्रतिपक्षसँग गर्नुपर्ने वार्ता सरकारमा सामेल दलसँग गर्दछन्। मधेशसँग वार्ता गर्न हतारिन्छन्, त्यसपछि फेरि पछाडि सर्छन्। यो अवस्थामा चुनाव तोकिएको मितिमा हुन्छ कसरी भन्नु? के हुन्छ के हुन्छ?

सरकारले मधेशका दलहरुलाई चुनावमा ल्याउन नसके के हुन्छ? एकातिर स्थानीय चुनाव अर्कोतिर आन्दोलन? कि के हो? कनिका उत्तरको खोजीमा यो साता मधेशको भ्रमण गर्दैछे। उसको यो भ्रमण पक्कै पनि उपलव्धिमूलक हुनेछ। कम्तिमा उसले यही सोचेकी छ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा
चुनावी चक्रव्यूहमा कनिका

कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु

किन डराएका छन् देशका पत्रकार?


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell