PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनतिर ढल्किँदो नेपाललाई 'इन्डो प्यासिफिक स्ट्राटेजी'तिर तान्दै अमेरिका



विधुर ढकाल

चीनतिर ढल्किँदो नेपाललाई 'इन्डो प्यासिफिक स्ट्राटेजी'तिर तान्दै अमेरिका

काठमाडौं : तेस्रो मुलुकसँगको व्यापारका लागि रहँदै आएको भारतीय परनिर्भरताको अन्त्य गर्दै उत्तरतिरबाट बाटो खोलेको नेपाललाई रोक्न दक्षिणी र पश्चिमा शक्तिहरु सक्रिय हुन थालेका छन्।

हालैमात्र राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहान सन्धीको प्रोटोकलमा हस्तक्षर भएको छ। यो हस्ताक्षरसँगै नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहको प्रयोगको बाटो खुलेको छ।

तर, नेपालको उत्तरतिरको ढल्काइप्रति पश्चिमा चासो भने बढ्दै गएको छ। पछिल्लो समय अमेरिकाले नेपाललाई उत्तरसँग नजिक हुनबाट रोक्नका लागि दबाब दिइरहेको छ।

अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला हेर्ने कार्यबाहक अमेरिकी उपमन्त्री डेभिड रान्जले नेपालको भ्रमण गरेका छन्। एसियाका लागि नेपाली दूतावासका अधिकारीहरुको एक कार्यक्रममा सहभागि हुन आएका उनले नेपालमा रहँदा परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग पनि भेट गरे। उनले भेटका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपालको सहभागिताका विषयमा चासो राखेको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए।

अमेरिकाले बीआरआईमा नेपाल सहभागि भएदेखि नै रोक्ने प्रयास गरिरहेको छ। चीनले बीआरआई परियोजनामार्फत् नेपालमा लगानी बिस्तार गर्न थालेपछि नेपाल जस्तो मुलुकहरु चीनको ऋणको चपेटामा पर्ने भन्दै अमेरिकाले पटकपटक नेपाली अधिकारीहरुलाई सचेत गराउँदै आएको छ।

नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक मन्त्री रान्जले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेट गरेका थिए। भेटमा दुई देशबीचको सुरक्षा साझेदारी, सुरक्षा निकायको सैन्य तालिमलगायतका विषयमा छलफल भएको थियो।

भेटमा अमेरिकी उपसहायक मन्त्री रान्जले केही महिनाअगाडि नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणका क्रममा भएको सहमतिको विषयमा समेत छलफल भएको थियो।

परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणका क्रममा भएको अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँगको भेटमा सुरक्षा साझेदारीसहितका विषयमा छलफल भएको थियो। साथै त्यतिबेला इन्डो प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिकाको बारेमा समेत चर्चा भएको थियो।

त्यतिबेला अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा एसिया प्रशान्त क्षेत्रमा नेपालको केन्द्रीय भूमिका खोजिएको उल्लेख छ।

दक्षिण एसियामा सामरिक महत्त्व राख्ने नेपाल हालसम्म अमेरिकी इन्डो प्यासिफिक रणनीतिको हिस्सा त बनेको छैन। तर, पनि नेपालप्रति अमेरिका र भारतीय चासो भने रहँदै आएको छ।

अमेरिकाले पछिल्लो समय नेपाललाई दिएको महत्त्वले पनि यसलाई झल्काउँछ। अमेरिकी विदेशमन्त्री पोम्पिओले नेपाली समकक्षीलाई वासिङ्टनमा स्वागत गर्नु एउटा उदाहरणमात्र हो। पछिल्लो समय अमेरिकी सेनाको सक्रियता पनि नेपालमा बढ्दो छ।

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डको पनि नेपालको सक्रियता बढ्दो छ।

यो सक्रियता र परराष्ट्र मन्त्रीको अमेरिकी समकक्षीसँगको भेटपछि जारी वक्तव्यले ‘इन्डो प्यासिफिक स्ट्राटेजी’मा नेपाल तानिँदै गएको छ।

हुन त परराष्ट्रमन्त्री ज्ञवालीले ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ नभई ‘रिजन’को विषयमा छलफल भएको स्पष्टीकरण दिएका थिए।

अमेरिकाको चीन घेर्ने रणनीति दक्षिण एसियामा सामरिक महत्त्व राख्ने नेपाल हालसम्म हिस्सा त बनेको छैन। तर, पनि नेपालप्रति अमेरिका र भारतीय चासो भने रहँदै आएको छ।

गत वर्ष फागुनमा नेपाल भ्रमण गरेका अमेरिकी रक्षा उपराज्यमन्त्री जोसेफ फ्लेटरले बीआरआईमा नेपालको सहभागिताका विषयमा टिप्पणी गरेका थिए। उनले चिनियाँ लगानी प्रति चासो व्यक्त गर्दै नेपालको हितमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए।

उनले ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गतका सदस्य राष्ट्रहरुको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउन नदिने बताउँदै नेपाललाई पनि त्यसको सदस्यका रुपमा जोडेका थिए। ‘इन्डो प्यासिफिक स्ट्राटेजी कुनै देशविरुद्ध लक्षित छैन, सार्वभौम मुलुक नेपालले अन्य मुलुकलगायत चीनसँग पनि रचनात्मक सम्बन्ध राख्न सक्छ,’ फ्लेटरले भनेका थिए, ‘चीनको मात्रै नभएर नेपालको पनि हित हुने खालको सम्बन्धलाई अमेरिका स्वागत गर्छ ।’

उनले चीनले गरीब देशहरूलाई ऋणको भार बोकाएर आफूले मात्रै फाइदा लिने गरेको इतिहास भएकाले त्यसप्रति अमेरिका सचेत भने भएको र इन्डो प्यासिफिक स्ट्राटेजी सदस्य मुलुकको सार्वभौमिकता जोगाउन सघाउने अमेरिकी योजना भएको बताएका थिए।

दक्षिण एसियामा भारत र भुटान बाहेकका मुलुकहरु चीनले अगाडि सारेको बीआरआइमा जोडिएका छन्। नेपाल पाकिस्तान श्रीलंका, माल्दिभ्स लगायतका मुलुकहरु बीआरआइमा सहभागि हुँदै गर्दा अमेरिकाले आफ्नो विदेश नीतिको प्रमुख हिस्सा इन्डो प्यासिफिक स्टाटेजी अनुसार सक्रियता बढाइरहेको छ।

नेपालमा अमेरिकी सक्रियता बढ्दै जाँदा नेपालले बुद्धिमद्धतापूर्ण तरिकाले सन्तुलन कायम राख्नुपर्ने परराष्ट्र मामिलाका जानकार तथा रुसका लागि नेपालका पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन्।

'अमेरिकाले नेपालमा हाम्रो पनि इन्ट्रेस्ट छ, भनेको छ। अब नेपालले अमेरिकाको चासोलाई बढाउनुपर्छ। तर, सुरक्षा गाँठोभित्र फस्नु हुँदैन। नेपालको परराष्ट्रनीति दुई ढुंगाबीचको तरुल भनेर संसारै भारत सम्झिने पहिले अहिले संसार नै भारत र चीन भन्ने। भूमण्डलीकृत विश्वमा अहिले यी दूई वटा मात्र शक्ति होइन संसार भनेको। यसैले 'ओदान' भन्ने हुन्छ तीन खुट्टे। नेपालको परराष्ट्र नीति तीन खुट्टे ओदान हुनुपर्छ। उत्तर, दक्षिण र पश्चिमसँग सम्बन्ध सन्तुलित रुपमा राख्न सक्नुपर्छ,' उनले भने।

नेपालले आफ्नो पक्षमा सहयोग र सहानुभूति पनि लिन सक्नुपर्ने उनको भनाई छ।

'भारत अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको प्रमुख हिस्सा हो। यसमा नेपाललाई पनि सहभागि गराउन चाहन्छन्। रणनीतिक रुपमा चीनलाई एक्लो बनाउनका लागि सहयोग बढाउन चाहन्छन् भारत र अमेरिका,' पहिलोपोस्टसँग श्रेष्ठले भने, 'नेपाल 'इन्टरनेशनल स्टेज अफ मल्टिपावर' बन्दै छ। यसमा भूमिका खेल्न जान्नुपर्‍यो। नेपालले सन्तुलन कायम गर्न जानुपर्‍यो र विकासका लागि मित्रताको प्रयोग गर्न जान्नुपर्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell