PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'इन्डो प्यासिफिक स्ट्राटेजी'मा नभई 'रिजन'मा छलफल भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण: अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो



विधुर ढकाल

'इन्डो प्यासिफिक स्ट्राटेजी'मा नभई 'रिजन'मा छलफल भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण: अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल इण्डो प्यासिफिक स्ट्राटेजीको हिस्सा नबन्ने बताएका छन्। 

हालै अमेरिकाको भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले अमेरिकामा त्यहाँका विदेशमन्त्री माइक पोम्पिओसँगको भेटका क्रममा दुई देशको सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको बताए। 

अमेरिकी विदेशमन्त्रीसँगको भेटमा भएको भनिएको इन्डो प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भुमिकाको विषय सत्तारूढ दलभित्रै विवादमा तानिएको छ। मन्त्री ज्ञवालीले आइतवार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी भेटवार्तामा नेपाल इन्डो प्यासिफिक स्ट्राटेजीको विषयमा नभइ इन्डो प्यासिफिक क्षेत्रको विषयमा कुरा उठेको बताए। 

'ठूला देशका आफ्नै मुद्दा हुन्छन् हाम्रा आफ्नै मुद्दा छन्। नेपाल सार्कको अध्यक्ष बिम्स्टेकको निवर्तमान अध्यक्ष र नेपालको भौगोलिक अवस्थितिले यस क्षेत्रमा नेपालको केन्द्रीय भुमिका हुन सक्छ भन्ने उहाँले कुरा उठाउनु भयो,' उनले भने, 'नेपालको विदेश नीतिकै सिद्धान्त छन्। हामीले ती नीतिबाट निर्देशित छन्। सबैसँग मित्रता कसैसँग वैरभाव नराख्ने। नेपाल आफ्नो देशको विकासका लागि सहयोग चाहन्छ ठूला देशका प्रतिस्पर्धा छन् हामी कसैको प्रतिस्पर्धाको अंश बन्दैनौँ।'

एसिया प्रसान्त क्षेत्रमा चिनियाँ बढ्दो प्रभावलाई नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाली राष्ट्रको भ्रमणका क्रममा सन् २०१७ मा इन्डो प्यासिफिक स्ट्राटेजी उच्चारण गरेका थिए। हाल इन्डो प्यासिफिक स्ट्राटेजी अमेरिकी विदेश नीतिमा समावेश छ। 

नेपालका दुई ठूला एसियाली दातृ राष्ट्र भारत र जापान यो रणनीतिका प्रमुख साझेदार हुन्। भने अमेरिका पनि यसको हिस्सा हो। 

उनले भ्रमणका क्रममा कोरियाली प्रायद्वीपको शान्ति प्रक्रिया, आणविक निशस्त्रीकरणको विषयमा छलफल भएको बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई मुलुकबीच १७ वर्षपछि संवादको वातावरण अगाडि बढेको बताए। 

अमेरिकाको विदेश मन्त्रालयमा अमेरिकी विदेशमन्त्री पोम्पिओसँग द्विपक्षीय औपचारिक भेटवार्तामा दुई बीच नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप उचाइमा लैजाने विषयमा छलफल भएको उनले स्पष्ट पारे। 

'यस अवसरमा मैले नेपालको शान्ति प्रकृया, पछिल्लो राजनीतिक विकासक्रम र वर्तमान सरकारका विकास प्राथमिकताहरु सम्बन्धमा नेपालको धारणा राखेको छु। नेपालमा अमेरिकी लगानीका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै नेपालमा मार्चको अन्तिम सातामा आयोजना हुन लागेको लगानी सम्मेलनबारे जानकारी दिएको छु,' उनले भने, 'व्यापारको क्षेत्रमा अमेरिकाले नेपाललाई प्रदान गरेको सहुलियतका लागि हार्दिक धन्यवाद दिँदै नेपाललाई प्रदान गरेको भन्साररहित तथा सीमारहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेका केही थप वस्तुहरु (पुरुष र महिलाका पोशाकहरु) समावेश गरिदिन अनुरोध गरेको छु।' 

भेटमा अमेरिकी विदेशमत्री पोम्पिओले नेपालको राजनीतिक प्रगति र स्थायित्वको प्रशंसा गर्दै नेपालको विकासमा सहयोग गर्न आफू तत्पर रहेको बताएको उनले जानकारी दिए। 

अमेरिका भ्रमणका क्रममा मन्त्री ज्ञवालीले त्यहाँका सहायक रक्षामन्त्री र्‍यान्डल स्क्रिभरसँग रक्षा साझेदारीका विषयमा छलफल भएको उनले जानकारी दिए। 'संयुक्त राष्ट्र संघको शान्ति सेनामा नेपालको महत्वपूर्ण योगदानका बारेमा छलफल भएको छ। सो अवसरमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्षमता अभिवृद्धिमा अमेरिकाले गर्नसक्ने सहयोगबारेसमेत छलफल भएको छ,' उनले भने।

मन्त्री ज्ञवालीले आफ्नो अमेरिका भ्रमण सफल भएको दाबीसमेत गरे। 'समग्रमा मेरो संयुक्त राज्य अमेरिकाको द्विपक्षीय भ्रमण सफल रहेको मैले ठानेको छु,' उनले भने, 'यस भ्रमणले झण्डै दुई दशकसम्म दुई देशबीच औपचारिक रुपमा हुन नसकेको उच्चस्तरीय भ्रमणको क्रमलाई तोडेको छ।'

राजदूत शेर्पामाथिको छानविन अन्तिम चरणमा

यसैबी परराष्ट्र मन्त्री ज्ञवालीले अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पामाथिको छानविन अन्तिम चरणमा पुगेको जनाएका छन्। 

राजदूत शेर्पामाथि मानव तस्करीको अभियोग लागेको छ। उनका चालकले उनीमाथि यस्तो आरोप लगएका थिए। उनीमाथि आरोप लागेपछि मन्त्रालयले उनीसँग स्पस्टीकरण सोधेको थियो। उनको स्पस्टीकरण चित्त नबुझाएपछि मन्त्रालयले छानविन टोली बनाइ छानविन गरिरहेको छ। 

मन्त्रालयले शेर्पालाई काठमाडौं बोलाइ बयानसमेत लिएको थियो। 'छानविन अन्तिम चरणमा पुगेको छ। समितिले प्रतिवेदन बुझाएपछि आवश्यक कारवाही अगाडि बढ्छ,' मन्त्री ज्ञवालीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell