PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा बढ्दो पश्चिमा सक्रियता, इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाललाई तान्दै अमेरिका, चीन सशंकित



विधुर ढकाल

नेपालमा बढ्दो पश्चिमा सक्रियता, इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाललाई तान्दै अमेरिका, चीन सशंकित

काठमाडौं: नेपालमा पश्चिमा शक्तिहरुको सक्रिता बढ्दै गएको छ। पछिल्लो सातामात्र नेपालमा केही उच्चस्तरीय भ्रमणहरु भए। जुन पश्चिमा मुलुकहरुका मन्त्री तथा उपमन्त्रीहरुको थियो।

२०१९ को दोस्रो महिना सकिनै लाग्दा अष्ट्रियाकी परराष्ट्र मामिला मन्त्री कारिन केन्सल, बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टर र अमेरिकी रक्षा उपराज्यमन्त्री डा जोय फ्लेटरले नेपालको भ्रमण गरे।

अष्ट्रियाबाट नेपालको उच्चस्तरीय भ्रमण भएको यो २९ वर्षपछिको पहिलो थियो। बेलायती रक्षा राज्यमन्त्री ल्यांकास्टरले भने गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।

अमेरिकी रक्षा उपराज्य मन्त्रीको यो भ्रमण अमेरिकाबाट भएको ८ वर्ष यताकै उच्च राजनीतिक भ्रमण भएको अमेरिकी दूतावासले नै जनाएको छ।

त्यतिमात्र होइन यसबीचमा केही अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु पनि नेपाल भ्रमण गरे। गत शुक्रवार मात्र इन्टरनेसनल फाइनान्स कोअपरेसनकी एसिया प्यासिफिक क्षेत्रीय उपाध्यक्ष नेना स्टोइलजेकोभिचले नेपाल भ्रमण गर्दै नेपालमा उच्चस्तरीय भेट वार्ता गरिन्।

नेपाल भ्रमण पश्चिमा मुलुकका मन्त्रीहरुले नेपालमा उच्चस्तरीय भेटवार्ता गरे। प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे। बेलायतका रक्षा राज्यमन्त्री र अमेरिकी रक्षा उपराज्य मन्त्रीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँगै सेना प्रमुखसँग पनि भेट गरे।

के नेपाल इन्डो प्यासिफिक स्ट्राटेजीमा जोडिएकै हो?

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस वर्ष १७ वर्षपछि अमेरिकाको औपचारिक भ्रमण गरे। भ्रमणका क्रममा उनले समकक्षी माइक पोम्पिओसँग द्वीपक्षीय वार्ता भयो।

वार्तापछि अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले जारी गरेको वक्तव्यले नेपाल तरंगित भयो। अमेरिकी रक्षा नीतिको प्रमुख हिस्साको रुपमा रहेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’मा नेपाल तानियो।

हुन त परराष्ट्र मन्त्री ज्ञवालीले ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ नभई ‘रिजन’को विषयमा छलफल भएको स्पष्टीकरण दिएका थिए।

अमेरिकाको चीन घेर्ने रणनीति दक्षिण एसियामा सामरिक महत्त्व राख्ने नेपाल हालसम्म हिस्सा त बनेको छैन। तर, पनि नेपालप्रति अमेरिका र भारतीय चासो भने रहँदै आएको छ।

अमेरिकाले पछिल्लो समय नेपाललाई दिएको महत्त्वले पनि यसलाई झल्काउँछ। अमेरिकी विदेशमन्त्री पोम्पिओले नेपाली समकक्षीलाई वासिङ्टनमा स्वागत गर्नु, अमेरिकी रक्षा मन्त्रालयका एसिया प्यासिफिक क्षेत्र हेर्ने उपराज्यमन्त्री नेपाल आउनुले पनि स्पष्ट पारेको छ।

त्यतिमात्र होइन नेपालमा अमेरिकी सेनाको सबैभन्दा ठूलो कमाण्ड ‘इन्डो प्यासिफक कमाण्ड’को सक्रियता पनि उस्तै छ।

जनवरीमा मात्र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्ड (युएस इन्डो प्यासिफिक कम)का कमाण्डर एड्माइरल फिलिप एस डेभिडसन नेपालको भ्रमण गरेका थिए। उनले अमेरिकी र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यमा जोड दिएका थिए।

उनको भ्रमणका क्रममा एसिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति र यसमा नेपालको भूमिकाबारे छलफल भएको थियो। यस क्षेत्रको केन्द्रमा नेपाललाई राख्न अमेरिकी चासो प्रस्ट देखिँदै पनि आएको छ।

अमेरिकी रक्षा उपराज्यमन्त्रीको नेपाल-चीन सम्बन्धमा टिप्पणी

यसै साता नेपालको भ्रमण गरेका अमेरिकी रक्षा उपराज्यमन्त्री जोसेफ फ्लेटर सोमवार उपप्रधानमन्त्री पोखरेलसँग भेट गरे।

भेटका क्रममा उनले नेपालमा चीनको सक्रियता बढ्दै गएको प्रति चासो व्यक्त गरे। उनले चिनियाँ लगानीको विषयमासमेत टिप्पणी गरेका थिए। सोमवार केही सञ्चारकर्मीसँगको भेटमा उनले चिनियाँ लगानी प्रति चासो व्यक्त गर्दै नेपालको हितमा हुनुपर्ने बताएका थिए।

उनले यस्तो भन्दै गर्दा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गतका सदस्य राष्ट्रहरुको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउन नदिने बताएका थिए। ‘इन्डो प्यासिफिकस्ट्राटेजी कुनै देशविरुद्ध लक्षित छैन, सार्वभौम मुलुक नेपालले अन्य मुलुकलगायत चीनसँग पनि रचनात्मक सम्बन्ध राख्न सक्छ,’ फ्लेटरले भनेका थिए, ‘चीनको मात्रै नभएर नेपालको पनि हित हुने खालको सम्बन्धलाई अमेरिका स्वागत गर्छ ।’

उनले चीनले गरिब देशहरूलाई ऋणको भार बोकाएर आफूले मात्रै फाइदा लिने गरेको इतिहास भएकाले त्यसप्रति अमेरिका सचेत भने भएको र इन्डो प्यासिफिक स्ट्राटेजी सदस्य मुलुकको सार्वभौमिकता जोगाउन सघाउने अमेरिकी योजना भएको बताएका थिए।

उनले नेपाललाई इन्डो प्यासिफिक स्ट्राटेजीको सदस्य राष्ट्रकै रुपमा सम्बोधन गर्दै नेपालको सैन्य क्षमताको विकास गर्ने रणनीतिसमेत सुनाएका थिए।

श्रीलंका, माल्दिभ्स, मलेसियालगायत देशमा चीनको क्रियाकलापले अमेरिकाको ध्यानाकर्षण सुनाउँदै नेपालमा चिनियाँ सक्रियाता प्रति संकेत गरे। उनले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले चीनको मात्र हितमा रहेको भन्दै सचेत हुन आग्रह गरेका थिए।

अमेरिकी टिप्पणीले आक्रोशित चीन

नेपालमा पश्चिमा सक्रियता र अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीको नेपालमा प्रभाव पर्दै जाँदा चीनले चासो व्यक्त गरेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलवार सार्वजनिक रुपमा अमेरिकी टिप्पणीको आलोचना गरिन्।

मंगलबार ललितपुरमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’को अन्तराष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले दुई छिमेकीबीचको सम्बन्धका विषयमा कोसौँ टाढाको देशले टिप्पणी गर्न आवश्यक नभएको बताइन्

‘नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका छिमेकी देश हुन्। कोसौँ टाढा भएको देशले दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टीकाटिप्पणी गर्नु आवश्यक छैन,’ उनले भनिन्। उनले चीनले आफ्नो स्वार्थ हेरेर भन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनाहरुमा मात्र काम गर्ने गरेको बताइन्।

‘हामीले नेपाली मिडियामा केही रिपोर्टहरु देख्यौँ। चीन नेपाल वेल्ट एण्ड रोड इनिसिएटिभ प्रतिको टिप्पणीले हामीलाई आश्चर्यमा पारेको छ,’ उनले भनिन्, ‘चीनले यो परियाजना समनताको सिद्धान्तमा अगाडि बढाएको छ। चीनको सहयोगमा कुनै पनि राजनीतिक इच्छा जोडिएको छैन।’

नेपालको चीनको विश्वासनीय मित्र रहेको भन्दै राजदूत यान्छीले भनिन्, ‘यदी कुनै देशले विकसशील देशलाई सहयोग गर्न सक्दैन भने अरुको सहयोग रोक्न तथा अनावश्यक टिप्पणी गर्न आवश्यक छैन। यो टिप्पणीले नेपाल र चीनबीचको सम्बन्धमा हस्तक्षेप हो जुन अस्वीकार्य छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell