PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युएस इन्डो प्यासिफिक कमका कमाण्डर नेपालमा : चीन घेर्ने अमेरिकी रणनीतिबाट नेपाल कसरी अलग्गेला?



विधुर ढकाल

युएस इन्डो प्यासिफिक कमका कमाण्डर नेपालमा : चीन घेर्ने अमेरिकी रणनीतिबाट नेपाल कसरी अलग्गेला?

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको गत मंसिरको अन्तिम साता सम्पन्न अमेरिका भ्रमणबाट चर्चामा रहेको विषय हो - ‘इण्ड प्यासिफिक स्टाटेजी’। 

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँगको भेटका क्रममा ज्ञवालीको यस विषयमा कुराकानी भएको थियो। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख भए अनुसार एसिया प्रशान्त क्षेत्रमा केन्द्रीय भूमिका खोजिरहेको छ नेपाल। 

दक्षिण एसियामा सामरिक महत्त्व राख्ने नेपाल हालसम्म अमेरिकी इन्डो प्यासिफिक रणनीतिको हिस्सा त बनेको छैन। तर, पनि नेपालप्रति अमेरिका र भारतीय चासो भने रहँदै आएको छ। 

अमेरिकाले पछिल्लो समय नेपाललाई दिएको महत्त्वले पनि यसलाई झल्काउँछ। अमेरिकी विदेशमन्त्री पोम्पिओले नेपाली समकक्षीलाई वासिङ्टनमा स्वागत गर्नु एउटा उदाहरण मात्र हो। पछिल्लो समय अमेरिकी सेनाको सक्रियता पनि नेपालमा बढ्दो छ। 

बिहीवार मात्र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्ड (युएस इन्डो प्यासिफिक कम)का कमाण्डर एड्माइरल फिलिप एस डेभिडसन नेपाल आएका छन्। दुई दिने नेपाल भ्रमणमा आएका उनले शुक्रवार बिहानमात्र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरे। 

बिहीवार नेपाल आएका उनलाई नेपाली सेनाले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो। बिहीवार नै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटसमेत गरेका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्दैछन्। त्यस्तै उनले नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। 

नेपाल भ्रमणमा रहेका युएस इन्डो प्यासिफिक कमका प्रमुख एडमिरल डेभिडसन रक्षामन्त्री पोखरलेललाई भेट्न सिंहदरबार पुगेका थिए। उपप्रधान तथा रक्षा मन्त्री सँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौतिबारे छलफल भएको छ। यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भूमिकाबारे पनि छलफल भएको छ। 

साथै, अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनीतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिएका छन्। 

युएस इन्डो प्यासिफिक कमको सक्रियता पहिलेदेखि नै 

नेपाल अमेरिकी इन्डो प्यासिफिक रणनीतिको हिस्सा त बनको छैन तर अमेरिकाले नेपाललाई रणनीतिक रुपमा पहिलेदेखि नै महत्त्व दिँदै आएको छ। 

अमेरिकाको यही रणनीति अनुसार परिचालित हुँदै आएको अमेरिकी सेनाको शक्तिशाली कमाण्ड हो इन्डो प्यासिफिक कमाण्ड। अमेरिकी सेनाको यही कमाण्ड र नेपाली सेनाबीच साझेदारी पहिले देखि नै चल्दै आएको छ। हरेक वर्ष इन्डो प्यासिफिक कम र नेपाली सेनाबीच विभिन्न विषयमा संयुक्त अभ्यास तथा कार्यक्रमहरु हुँदै आएका छन्। 

बिहीवार नेपाल आइपुगेका कमाण्डर एड्माइरल डेभिडसन भन्दा अगाडि पनि यो कमाण्डाका प्रमुख तथा अधिकारीहरु हरेक वर्ष जस्तो नेपाल आइरहेका छन्। नेपाललाई यस क्षेत्रको रणनीतिक महत्त्वको रुपमा लिएको इन्डो प्यासिफिक कमका कमाण्डिङ जनरल रोवर्ट बी ब्रोनले एक वर्ष अगाडि नेपालको भ्रमण गरेका थिए। 

त्यस्तै, अमेरिकी सेनाको युएसआर प्याकको टोलीसमेत नेपाल भ्रमणमा आएको थियो। गत जेठमा नेपाली सेना र अमेरिकी सेनाबीच पहिलो पटक ल्याण्ड फोर्स टक भएको थियो। अमेरिकी सेनाको मेजर जनरल रोजर जे नोबल नेतृत्वको टोली नेपाल आएको थियो। उनको नेतृत्वमा १७ जना सैन्य अधिकारीहरु सहभागी थिए। 

त्यस्तै, साउन २० गते अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल ब्रायन फेन्टन नेपाल आए। उनले यहाँ तत्कालीन प्रधानमन्त्री रवीन्द्र क्षेत्रीसँग शिष्टाचार भेट गरेका थिए। 

त्यस्तै उनले क्षेत्रीलाई अमेरिकी स्टेट आर्म फोर्सको तर्फबाट ‘दी लिजन अफ मेरिट (डिग्री अफ कमाण्डर)’ पदक प्रदान गरेका थिए। 
त्यस्तै गत साउनमा नेपाली सेना र इन्डो प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा संयुक्त अभ्यास भएको थियो। 

प्यासिफिक इन्डेभोर–१८ नाम दिइएको यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २० राष्ट्रका सैन्य अधिकारीहरु सहभागी थिए। तालिम १० दिन सम्म चलेको थियो। 

यो तालिम नेपाली सेनाले इन्डो प्यासिफिक कमाण्डको संयोजकत्वमा २०७१ सालमा समेत सञ्चालन गरेको थियो। 

साउनमा भएको यो तालिमको संसदभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचेक देव गुरुङसहितका सांसदहरुले विरोध गरेका थिए। 

त्यस्तै भदौमै नेपाली सेना र इन्डो प्यासिफिक कमाण्डको गुप्तचरी निकायको आयोजनामा एसिया प्यासिफिक क्षेत्रका राष्ट्रहरुका उच्च सैनिक अधिकारीहरुको सहभागितामा एसिया प्यासिफिक गुप्तचर प्रमुखहरुको भेला सम्पन्न भयो। 

यो भेलामा २३ देशका सैनिक अधिकारीहरु सहभागी थिए। 

के हो इन्डो प्यासिफिक कमाण्ड?

अमेरिकी सेनाको युनिफाइड कम्ब्याटेन्ट कमाण्ड हो इन्डो प्यासिफिक कमाण्ड। यो इन्डो प्यासिफिक क्षेत्रप्रति उत्तरदायी छ। यो अमेरिकी सेनाको पूरानो र ठूलो युनिफाइड कमाण्ड हो। सन् १९४७ जनबरी १ मा निर्माण भएको यो कमाण्ड सुरुमा युसएस प्यासिफिक कमाण्डको रुपमा चिनिन्थ्यो। सन् २०१८ मे ३० मा यसको नाम युएस इन्डो प्यासिफिक कमाण्ड राखियो। 

यो कमाण्डको कमाण्डरले एसिया प्रशान्त क्षेत्रको २६ करोड वर्ग किलोमिटर क्षेत्रफलमा सैन्य अपरेसन चलाउने अधिकारी र उत्तरदायित्व राख्छ, जुन पूरै पृथ्वीको करिब ५२ प्रतिशत क्षेत्र हो। यसले अमेरिकाको पश्चिमी सामुद्रिक तटदेखि भारतीय सामुद्रिक तट हुँदै पूरा आर्टिक र अन्टार्टिक क्षेत्र घेर्छ। यसको सोझै रक्षामन्त्री मार्फत् अमेरिकी राष्ट्रपति समक्ष रिपोर्ट गर्छ। 

यो कमाण्ड ३६ वटा देशमा फैलिएको छ। यो कमाण्डमा अमेरिकी सेनाको युएस आर्मी प्यासिफिक, मरिन फोर्स प्यासिफिक, युस प्यासिफिक फ्लिट, प्यासिफिक एयर फोर्स, युएस फोर्स जापान, युएस फोर्स कोरिया, स्पेसल अपरेसन कमाण्ड कोरिया र स्पेसल अपरेसन कमाण्ड प्यासिफिक सम्मिलित छन्। 

यसको मुख्यालय हवाईमा रहेको छ। हवाई संयुक्त राज्य अमेरिकाको पचासौं राज्य हो जुन उत्तर अमेरिकाबाट बाहिर छ। 

के हो अमेरिकी इन्डो प्यासिफिक रणनीति?

सुरुमा एसिया प्यासिफिकको रुपमा चिनिँदै आएको यस क्षेत्रलाई सन् २०१७ बाट इण्डो प्यासिफिकको रुपमा चिनिँदै आएको छ। 
सन् २०१७ को नोभेम्बरमा भियतनाममा आयोजित दक्षिणपूर्वी देशका कार्यकारी प्रमुखहरुको सम्मलेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इण्डो–प्यासिफिक अवधारणा र दृष्टिकोण अघि सारेका थिए। पछि उनले यो दृष्टिकोणलाई अमेरिकी सुरक्षा रणनीतिको अंगको रुपमा कायम गरे। 

अमेरिकाको इन्डो प्यासिफिक रणनीतिले अमेरिकाको पश्चिमी तटदेखि भारतको पश्चिमी तटसम्म अर्थतन्त्र, प्रशासन र सुरक्षालाई समेट्छ। अमेरिकाको काउन्सिल अन फरेन रिलेसन्सका अनुसार इण्डो–प्यासिफिक रणनीतिले भारतलाई केन्द्रबिन्दुमा राख्छ। एसिया क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई रोक्नका लागि भारतलाई अगाडि सार्दै अमेरिकाले आफ्नो रणनीतिलाई बिस्तार गरिरहेको छ। यही अनुरुप अमेरिकाले एसिया प्रशान्त क्षेत्रका चीनको प्रभावमा रहेका मुलुकहरु आफ्नो उपस्थिति बढाउँदै गएको छ। 

पछिल्लो समय चीनको प्रभाव बढिरहेको श्रीलंका र माल्दिभ्समा अमेरिकाले गत वर्ष नै आफ्ना अधिकारीहरु पठाएर इन्डो प्यासिफिक रणनीतिमा सहभागी गराउने प्रयास गरेको थियो। त्यसैको कडी स्वरुप अमेरिकी विदेशमन्त्री पोम्पिओले नेपाली समकक्षीलाई नै वासिङ्टन निम्त्याए। 

अमेरिकामा परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी समकक्षी पोम्पिओसँगको भेटपछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको वक्तव्यमा ‘इन्डो प्यासिफिक क्षेत्र’मा नेपालको केन्द्रीय भूमिका हुन सक्ने विषयमा छलफल भएको उल्लेख थियो। 

यसले परराष्ट्र मन्त्रीको आलोचना भयो। उनले स्पष्टिकरण दिए- इन्डो प्यासिफिक ‘रिजन’ हो ‘स्टाटेजी’ होइन भन्दै। तर, उनको स्पष्टिकरणले अमेरिकाको स्वार्थ भने बदलिने होइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell