PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एकताको मिति घोषणा गर्ने तयारी : संयोजन समितिको बैठक भोलि



पहिलोपोस्ट

एकताको मिति घोषणा गर्ने तयारी : संयोजन समितिको बैठक भोलि

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको टुंगोमा पुर्‍याउन भोलि 'पार्टी एकता संयोजन समिति'को बैठक बस्ने भएको छ। 

बुधवार सम्पन्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ताले पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ। 


पार्टी एकता संयोजन समितिको गत वैशाख ४ गते बसेको बैठकले पार्टी एकता विवादित विषयमा अन्तिम टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो। 

सोही अनुरूप दुई पार्टीका अध्यक्षबीच पटक पटक गोप्य वार्ता भएको थियो। गत वैशाख २० गते बसेको दुई अध्यक्षबीचको गोप्य वार्ताले पार्टी एकताका विवादित विषयलाई टुंगोमा पुर्‍याएको बताइएको थियो। 

त्यसको दुई दिन अगाडि प्रचण्डले वैशाख २२ गते मार्क्स द्वीसत्वार्षिकीको दिन पार्टी एकताको मिति घोषणा गर्ने बताएका थिए। 

यद्यपि, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कारण एकतामा ढिलाइ भएको नेताहरूले बताएका थिए। पछिल्लो पटक मोदीको भ्रमणले दुई पार्टीबीच विवाद बढ्दै गएको थियो। 

नेताहरूले भने पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक प्रचारबाजी भइरहे पनि बाहिर आएजस्तो कुनै खटपट नरहेको प्रतिक्रिया दिएका छन्। एमाले महासचिव ईश्वर पोखरेलले शीर्ष नेताहरूको व्यस्तता र भारतीय प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुनुपरेकाले गृहकार्यमा ढिलाइ भएको बताए। 

मंगलबार मात्र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले दुई, तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्ने बताएका थिए। उनले आज बुधवारको वार्ताले ठोस निर्णय गर्ने बताएका थिए। 

यसैबीच एकता संयोजन समितिको बैठकले पार्टी एकताको मिति घोषणा गर्न सक्ने समितिका एक सदस्यले पहिलोपोस्टलाई जानकारी दिए। दुबै दल जेठ ६ गते पार्टी एकता गर्ने गरी तयारी गरिरहेको ती नेताले जानकारी दिए। 

बुधबार भएको दुई अध्यक्षबीचको वार्तापछि एमाले सहमहासचिव विष्णु पौडेलले दुई अध्यक्षबीचको वार्ता सकरात्मक रुपमा अगाडि बढेको जानकारी दिए। ‘हामीलाई उहाँहरुले हामीलाई दिएको जानकारी अनुसार वर्क इन प्रोग्रेस भन्नु भएको छ,’ उनले भने।

त्यस्तै माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकता संयोजन समितिको बैठक भोली बस्ने र त्यही बैठकमा आज भएको छलफलको विषयमा जानकारी हुने बताए। ‘भित्र के भयो हामीलाई थाहा छैन्, भोली बैठकमा उहाँहरुले आजको विषयमा कुरा राख्नुहुनेछ,’ शर्माले भने। 

यता एमालेले यसै विषयमा छलफल गर्नका लागि स्थायी समितिको बैठक समेत डाकेको छ। एमालेले आज साँझ ४ बजे बोलाएको स्थायी समितिको बैठकमा पार्टी एकताका विषयमा दुई अध्यक्षबीच भएको सहमतिलाई अध्यक्ष ओलीले ब्रिफिङ गर्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell