PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

पार्टी एकता अन्यौलमा पार्ने तीन घटना : किन बढ्दैछ एमाले-माओवादीबीच दुरी?



विधुर ढकाल

पार्टी एकता अन्यौलमा पार्ने तीन घटना : किन बढ्दैछ एमाले-माओवादीबीच दुरी?

काठमाडौं : निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनेर गत वर्ष असोज १७ गते वाम गठबन्धनको घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पछिल्ला समय सत्ता साझेदारीको विषयमा मतभेद बढ्दै गएको छ। 

यसैको प्रतिविम्ब सोमबार प्रतिनिधिसभाको बैठकमा समेत देखियो। निर्वाचन अगाडि गठबन्धन गराउँदै गर्दा दुवै दलबीच सहमति भएको थियो- ‘सार्वजनिक रुपमा एक अर्काका नकरात्मक टिप्पणी र आलोचना नगर्ने।’

सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्षकै सांसदहरु सत्ता गठबन्धनका एक अर्का मन्त्रिका विरुद्ध आलोचनामा उत्रिए। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विषयमा सरकारको आलोचना गर्दै भारतीय सेना नेपाल प्रवेश गर्न दिएको भन्दै विरोध गरिन्। 

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाको आलोचना गरे। थापा माओवादीबाट मन्त्री भएका हुन्। यसरी सार्वजनिक रुपमा एक अर्का विरुद्ध आलोचनात्मक टिप्पणी सुरु हुँदै गर्दा एकतामा समेत संशय देखिएको छ। 

गत वैशाख ४ गते पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा सहमति जुटाउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो। त्यसयता भएका दुई अध्यक्षबीचको गोप्य वार्ताले समेत सहमति जुटाउन सकेन। 

पछिल्लो पटक वैशाख ९ गते संयुक्त कार्यक्रम गर्दा दुई पार्टीबीचको विवाद छताछुल्ल भएको थियो। त्यसपटक पटक-पटक प्रचण्डले पार्टी एकताको मिति सीघ्र घोषणा गरिने बताउँदै आएका छन्। मे १ हुँदै मे ५ मार्क्स जयन्तीमा एकताको मिति घोषणा गर्ने प्रचण्डले बताएका थिए। यद्यपि, ती मितिमा एकताको मिति घोषणा हुन सकेन। तर, यसबीचमा दुई पार्टीबीच दुरी भने बढ्दै गएको छ।


किन बढ्दै छ दुरी ?

मोदी फ्याक्टर

नेकपा एमाले र  माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चल्दै गर्दा गत वैशाख २८ र २९ गते भएको भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुरी बढाउन सघायो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको भ्रमणको विषयमा सत्ता साझेदार दलसँग नै छलफल नगरेको आरोप माओवादी केन्द्रले लगाएको छ। ‘हामी एउटै पार्टी बनाउने भनेर हिँडेका छौँ। तर, प्रधानमन्त्रीज्यू एक्लै अगाडि बढ्दै हुनुहुन्छ,’ माओवादी केन्द्रका एक पोलिटव्यूरो सदस्यले भने, ‘दुरगामी असर पार्ने निर्णयहरुमा हामीसँग छलफल नै हुँदैन। हाम्रा नेताहरु मन्त्री छन्। तर, उहाँहरुसँग पनि छलफल हुँदैन।’ 

यसैको असन्तुष्टि मोदीको नेपाल भ्रमणको बेला भएको दुई देशबीचको द्वीपक्षीय वार्ता र अरुण तेस्रोको शिलान्यासमा देखियो। उर्जामन्त्री वर्षमान पुन 'अनन्त 'र वनमन्त्री शक्ति बस्नेत विभागीय मन्त्रालय जोडिएको प्रमुख कार्यक्रममा सहभागी भएनन्। 


एकाएक आएको ओलीको ट्वीट

पार्टी एकताको अन्तिम विन्दुमा पुगेको भनिरहेका प्रचण्डलाई प्रधानमन्त्री ओलीको २४ गते सोमबार आएको ट्वीटले पार्टी एकतामा समेत आशंका पैदा गरायो।
 
प्रधानमन्त्री ओलीलाई समीकरण फेरवदलको हुन सक्ने भन्दै झस्किएर ट्वीट गरे। उनले सोमबार मध्यान्न ट्वीट गर्दै भनेका छन्, ‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।’ ट्वीटमा समीकरण फेरबदलमा कसको रुची हो भन्नेबारे भने नखुलाए पनि यसप्रति माओवादी केन्द्र र प्रचण्डसमेत झस्किएका छन्। 

अघिल्लो पटक प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग मिलेर ओली सरकार ढालेका थिए। 

ओलीको यो ट्वीट आएपछि प्रचण्डलेले ओलीलाई भेटेर यस विषयमा छलफलसमेत गरेका थिए। छलफलपछि प्रचण्डको वातावरण सहज भएको प्रतिक्रिया दिएको थियो। 


सत्ता साझेदारीमा असन्तुष्टि

माओवादी केन्द्र सत्ता सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग र आफ्ना पार्टीका मन्त्रीहरुसँग समेत छलफल नगर्ने गरेको भन्दै पटक पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन्। 

प्रधानमन्त्री आफू शक्तिशाली हुने दाउमा गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लैजाने तयारी गर्दा समेत गृहमन्त्रालयसँग छलफल नगरेकोमा असन्तुष्टि गृहमन्त्री रामबहादुर थापा बादलले व्यक्त गर्दै आएका छन्। त्यस्तै सचिव र सहसचिवहरुको सरुवा गर्दा समेत आफूसँग छलफल नगरेको भन्दै गृहमन्त्रीले पार्टी अध्यक्षसँग पटक पटक गुनासो गर्दै आएका छन्। 

त्यस्तै प्रधानमन्त्री केपी ओलीले कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ब्रिफिङमा माओवादी मन्त्रीलाई जानकारी नदिएको भन्दै असन्तुष्टि समेत व्यक्त उनीहरुले व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell