PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

झुटो बयान दिए सिके राउतले



झुटो बयान दिए सिके राउतले

काठमाडौँ : राज्यविप्लवसम्बन्धी मुद्दाको सुनुवाईमा डा. चन्द्रकान्त (सिके) राउतले अदालतमा झुटो बयान दिएका छन्।

विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, न्यायाधीशद्धय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासमा उनले आफ्नो पुस्तक र वेबसाइटमा लेखिएका विषयलाई पनि लेखेको होइन भनी झुटो बयान दिएको भेटिएको छ।

आफ्ना पुस्तकमा अलग्गै राष्ट्रका बारेमा वकालत गरे पनि बयानका क्रममा भने उनले देश टुक्राउन नखोजेको बरु राष्ट्रिय एकता र समृद्धिको कुरा गरेको जिकिर गरेका छन्। मधेश राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डा अनि नक्साको प्रचार गरिरहेका उनले अदालतमा चाहिँ राष्ट्रिय गान र झण्डा कुनै प्रदेश वा क्षेत्रको पनि हुन सक्ने भनी जोगिन खोजेका छन्।
 

यसरी बोले झुटो

  पहिलोपोस्टलाई प्राप्त राउतको बयानको कागजात अनुसार सवाल १२ मा उनलाई सोधिएको थियो-

सिकेराउत डट कम तपाईँको वेबसाइट हो कि होइन, त्यो वेबसाइटमा ‘नेपाल आमा होइन वेश्या हो। तराई छुट्याउनु मेरो आइडियोलोजी हो, नेपाल आमा र* हो’ भन्ने समेतका व्यहोराहरु राखिएका छन्? कसो हो त?

यसको जवाफमा उनले वेबसाइट आफ्नो भएको स्वीकारे पनि ‘उपरोक्त शीर्षकका लेखहरु, समाचार त्यस वेबसाइटमा छैनन्’ भनेका छन्।
तर उनको बेवसाइटमा राखिएको पुस्तक ‘वैरागदेखि बचावसम्म (आत्मकथा)’ को पेज १८३ मा लेखिएको छ-

नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरीबी दिइरहिन्। नेपाल चोखो कुमारी रे! नेपाल त निर्लज्ज र* हो जो राती हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे।
 
आफ्नो वेबसाइटमा नराखिएका सामाग्रीहरू के कसले तयार गरेको र कहाँबाट लिएको हो आफूलाई थाहा नभएको बयान उनले दिएका छन्।
 

देश टुक्राउन खोजेको होइन

राउतले बयानमा आफूले देश टुक्राउन नखोजेको जिकिर गरेका छन्। मधेशका लागि भनी बनाइएको राष्ट्रिय गान र झण्डालाई त्यस्तो कुनै पनि प्रदेश वा क्षेत्रको पनि हुन सक्छ भनेर उनी जोगिन खोजेका छन्।  
 
उनलाई अदालतमा सोधिएको थियो-
तपाइँले नेपालको दशगजादेखि उत्तर पूर्व मेचीदेखि पश्चिम मध्य र उत्तरमा चुरे पर्वतसम्मको भूभागलाई टुक्राएर छुट्टै मधेश राष्ट्र स्थापना गर्न स्वतन्त्रता मधेश गठबन्धन (AIM) को घोषणापत्र तयार गरी मधेश राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डाको प्रस्ताव गरि मधेश स्वराज पुस्तक तयार गर्नुभएको भन्ने अभियोग सम्बन्धमा तपाइँको भनाई के छ?

यसको जवाफमा उनले भनेका छन्-

मधेशको सिमांकन नेपालभित्र वा बाहिर भएपनि गर्न सकिन्छ, त्यसले छुट्टै राष्ट्रको अर्थ दिनुपर्छ भन्ने छैन। स्वतन्त्र मधेश गठबन्धन (AIM, Alliance for Independent Madhesh) एउटा अनौपचारिक समूह हो। जसले मधेशको हक र अधिकार विषयमा कुरा उठाउने सोच लिएको छ। राष्ट्रिय गान (मधेश गान) र झण्डा कुनै पनि प्रदेश वा क्षेत्रको पनि हुन सक्छ। सोही अनुसार यो मधेश क्षेत्रको लागि हो। राष्ट्र टुक्राउने कुरा होइन, राष्ट्रिय एकता र समृद्धिको कुरा हो।

मधेश स्वराज भन्ने पुस्तक र स्वतन्त्र मधेश गठबन्धन AIM का घोषणापत्र लेखिएको किताब आफैले लेखेको स्वीकार गरेपछि उनलाई सोधिएको थियो -

तपाइँले तयार गरेको स्वतन्त्र मधेश गठबन्धन (AIM) को घोषणापत्रको अन्तिम पेजमा मधेशको सार्वभौम सम्पन्न स्वतन्त्र क्षेत्र घोषणा कि जाए, मधेश से नेपाल सरकार सम्पूर्ण कर और राज वसुली बन्द करे, मधेश सेनाका अबिलम्ब गठन किया जाय लगायत ९ वटा मागहरु उल्लेख गरेको देखिन्छ। उक्त मागहरु के कस्ता प्रकारका हुन्? सम्पूर्ण कुराहरु खुलाई जवाफ दिनुहोस्।

यसको जवाफमा उनले संक्षेपमा यसरी दिएका छन्– उक्त ९ वटा मागहरु मधेशको सामाजिक, आर्थिक, राजनीतिक अधिकारको लागि उठाइएको हो।
 
त्यसपछि उनलाई अर्को प्रश्न सोधियो-  

तपाइँले स्वतन्त्र मधेश गठवन्धन (AIM) को घोषणा पत्रको पेज १८२ मा मधेशको सार्वभौम सम्पन्न स्वतन्त्र देश घोषणा किया जाए, अबिलम्ब अन्तरिम मधेश संसद औ मधेश सरकार गठन किया जाए भन्ने साथै मधेश मे संयुक्त राष्ट्रसंघ लगायत विश्व के राष्ट्रों के प्रतिनिधि रखने के लिए आवश्यक प्रक्रिया आगे बढाया जाए भन्ने समेत ९ वटा बुँदाहरु छन्? ती कसो हुन्?

यसको जवाफ पनि उनले संक्षेपमा उस्तै गरी दिए – ‘उक्त सबै विषयवस्तुहरु सामाजिक आर्थिक रुपान्तरणका लागि र राजनीतिक अधिकारको लागि लेखिएको हो।‘
 
उनलाई अर्को प्रश्न सोधियो -
तपाइँको वेबसाइट सिकेराउत डट कममा चीन र मधेशको बीचमा नेपाल तथा नेपाल र भारतको बीचमा मधेश राष्ट्र देखिने गरी सिमांकन गरी मधेश राष्ट्रको भाषा, क्षेत्रफल तथा जनसंख्या उल्लेख गरि राष्ट्रिय झण्डा र राष्ट्रिय गान तयार गरि राख्नु भएको छ कि?

यसमा उनको जवाफ थियो – मलाई जहाँसम्म लाग्छ उक्त कुराहरु सिकेराउत डट कममा छैनन्।
 
सिकेराउट डट कममा नभए पनि यी कुरा उनकै नेतृत्वको स्वतन्त्र मधेश गठवन्धनको वेबसाइट मधेश डट कममा भने उल्लेख छ। 
 
त्यसमा रिपब्लिक अफ मधेश/तराईको झण्डा, नक्साङ्कन र राष्ट्रगान पनि उल्लेख छ।
 

छुट्टै राज्यको स्थापना उद्देश्य होइन


राउतले बयानका क्रममा छुट्टै राज्यको स्थापना आफूहरुको उद्देश्य नभई स्वराज्यको कल्पनामात्र रहेको स्पष्टिकरण दिएका छन्। उनले बयानका क्रममा घोषणापत्र र उनका पुस्तकमा जस्तो अलग्गै राष्ट्र नभई एक ठाउँमा प्रदेश शब्द पनि उपयोग गर्दै भनेका छन्, ‘मधेश प्रदेशको लागि प्रस्तावित गान र झण्डा नेपालको अन्तरकालको मर्म अनुसार नै छ।‘

यससम्बन्धी सवाल जवाफ यस्ता छन्-
सवाल २३ – तपाइँले लेखेका विभिन्न पुस्तकहरु र स्वतन्त्र मधेश गठबन्धन (AIM) को घोषणापत्रको आधारमा तपाइँले मधेशलाई अलग्गै राज्य स्थापना गर्न खोज्नुभएको हो?
जवाफ – मधेश र देशमा सामाजिक आर्थिक रुपान्तरणको लागि सामान्य चेतना, विकासको लागि लेखिएको पुस्तक हो। घोषणापत्र पनि त्यसैको पृष्ठभूमिमा लेखिएको हो। यसको उद्देश्य छुट्टै राज्यको स्थापना होइन। स्वराज्यको कल्पना हो।

सवाल २४- स्वराज्य भनेको के हो? स्पष्ट पारिदिनुहोस्।
जवाफ- स्व को अर्थ आफ्नै र राज्यको अर्थ शासन भए अनुरुप स्वराज्य भनेको जनताको आफ्नै शासन हो।

सवाल २५- तपाइँले मधेश राज्य स्थापना गर्न खोज्नुभएको होइन बनी सवाल जवाफ २३ मा लेखाउनुभएको छ। त्यसो भए राष्ट्रिय गान र झण्डा समेत किन तयार गर्नुभएको हो? खुलाइदिनुहोस्।
जवाफ- मधेश प्रदेशको लागि प्रस्तावित गान र झण्डा नेपालको अन्तरकालको मर्म अनुसार नै छ।
 
अदालतमा उनको बयानको कागजात हेर्नुस्-
 
 

CKRaut by Pahilopost

अझै थुनामा

अदालतमा बयान र थुनछेकको बहसपछि विशेष अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर समाचार लेख्दासम्म उनी धरौटी नबुझाई डिल्लीबजारस्थित कारागारमा छन्।

उनका समर्थकहरुले राउतले आफूलाई निशर्त रिहा गर्नुपर्ने माग राख्दै धरौटी तिर्न अस्वीकार गरेको प्रचार गरेका छन्। 

सम्बन्धित समाचारहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell