PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​सिके राउतलाई राज्यद्रोह मुद्दा



​सिके राउतलाई राज्यद्रोह मुद्दा

काठमाडौं : सरकारले स्वतन्त्र मधेस अभियन्ता डा. चन्द्र कान्त राउत (सिके राउत) विरुद्ध राज्य विप्लव (राज्यद्रोह) मुद्दा दायर गरेको छ।

विशेष सरकारी वकिलको कार्यालयले बुधवार विशेष अदालतमा राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ उपदफा १ अनुसार सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने उद्देश्यले अभियान चलाएको आरोपमा राउत विरुद्ध मुद्दा दायर गरेको हो।

ऐनले 'कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्म कैद हुने' उल्लेख छ।

विशेष सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता टेकबहादुर घिमिरेले राज्यले संघीयता स्वीकार गरी संविधान बन्ने प्रकृयामा रहेको बेला राउतले विभिन्न प्रकाशनसमेत तयार पारी स्वतन्त्र मधेस राष्ट्र स्थापनाका लागि अभियान चलाएको र उक्त अभियान चलाएको राउतले स्वीकार गरिसकेको अवस्थामा उक्त कार्य कानुनअनुसार राज्य विरुद्धको अपराध देखिन आएको हुँदा सरकारले मुद्दा दायर गरेको बताए।

'मधेस नेपालको उपनिवेश भएको भन्दै उहाँले राष्ट्र विखण्डनको उद्देश्यसहित अभियान चलाएको देखिन्छ', घिमिरेले भने, 'मधेसको छुट्टै भूगोल, प्रशासन, संविधान, निर्वाचन, सुरक्षा अंग जस्ता विषय उहाँको अभियानमा छन्। राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ अनुसार यी कुरा राज्य विप्लव मानिन्छ।'

यसअघि सार्वजनिक अपराध अन्तर्गत उनीमाथि प्रहरीले म्याद थप गर्दै अनुसन्धान गरिरहेको थियो।

राज्य विप्लव कसुर प्रमाणित भएमा उनले आजिवन कैद सजाय भोग्नुपर्ने छ।

पहिलोपोस्ट डट कमसँगको अन्तर्वार्तामा राउतले आफूलाई राज्यले षड्यन्त्र गरेर पक्राउ गरेको बताएका थिए। अन्तर्वार्तमा उनले आफूलाई परिचालित भन्नेहरुलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका थिए।

डा. राउतले गत असोज ५ गतेदेखि प्रहरी हिरासतमै अनिश्चितकालीन आमरण अनशन थालेका थिए।

अन्तरिम संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र नागरिक हक सम्मान गर्ने सरकारले प्रतिबद्धता जनाएपछि राउतले ११ दिनपछि आमरण अनसन तोडेका थिए। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल र कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले उनको अनशन तोडाएका थिए।

राउतको निशर्त रिहाइको माग गर्दै तराईका कतिपय जिल्लामा बन्द गरिएको थियो।  

को हुन् राउत ?

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।

उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।
 
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।
 
जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।
 
आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।
 
एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।
 
जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए।

पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।

मधेस 'स्वतन्त्र' पार्न गठबन्धन

सन् २००६ को अगस्तमा घर फर्कँदा मधेस आन्दोलन सुरु भएको थियो। मधेस आन्दोलनकै क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेसको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेस (ARIM) को स्थापना गर्‍यो।
 
ARIM को मूल नारा ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना’ थियो। यसको आफ्नै झन्डामात्र थिएन,  मधेसको प्रस्तावित राष्ट्रगान पनि उनी आफैले तयार पारे। एरिमलाई संगठित गर्दै मूलधारका मधेसवादी नेताहरूसँग पनि सम्पर्क गर्दै आफ्नो एजेन्डा अगाडि बढाउन उनले आग्रह गर्न थाले।

विवश्वान कुमार, आजाद र ईंजोड आदि छद्मनामबाट उनले लेखहरु लेख्न थाले। कम्प्युटर इन्जिनियरिङ पढेका र ह्याकिङ जानेका उनले स्पाइडर प्रोग्रामै तयार पारी  नेपालसँग सम्बन्धित वेबसाइटहरूबाट लक्षित समूहका लाखौं इमेल संकलन गर्दै नियमित रूपमा आन्दोलनको अद्यावधिक वस्तुस्थिति र लेखहरू पठाउँथे।

सन् २००९ मा उनी अमेरिका सरे इन्टरनेट/आर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न। अमेरिका गएर मधेशीहरूको डायस्पोरा संगठन बनाउने योजना पहिलादेखि नै थियो उनको, त्यसलाई कार्यान्वयन गर्न थाले।

नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रता दिए पनि नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा दुरुत्साहन दिने कार्यमा रोक लगाएको छ। 

अमेरिकाबाट फर्किएपछि मधेसलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन मधेस स्वराज नामक अभियान थालेका थिए। 

सम्बन्धित समाचारहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell