PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मलाई कतैबाट परिचालित हो भन्नेले प्रमाणित गरेर देखाउन्: सिके राउत



मलाई कतैबाट परिचालित हो भन्नेले प्रमाणित गरेर देखाउन्: सिके राउत
फोटो साभारः विनय पन्जियारको फेसबुक

राज्य विप्लव गरेको आरोपमा पक्राउ परेका स्वतन्त्र मधेस अभियन्ता डा. चन्द्रकान्त (सिके) राउत अहिले प्रहरीकै हिरासतमा आमरण अनशन बसेका छन्। एक हप्तादेखि उनको शरीरमा अन्नपानी परेको छैन। स्वास्थ्यअवस्था गम्भीर बनेपछि सर्वोच्चको आदेश बमोजिम उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। पछिल्ला केही हप्तादेखि उनी बहस र विवादको केन्द्रमा छन्। मधेसकेन्द्रित दल, कतिपय अधिकारकर्मी र एमाओवादीका अध्यक्ष प्रचण्डले समेत उनलाई रिहा गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर धेरैका नजरमा उनी विखण्डनकारी बनेका छन्।

सप्तरीमा जन्मेका राउतले बेलायतको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्। अमेरिकामा वैज्ञानिक रहेका उनी सन् २०११ को अन्त्यतिर नेपाल फर्किए। र, मधेसलाई नेपालबाट पूर्ण रुपमा अलग्याउने उद्देश्यसहितको मधेस स्वराज अभियान चलाए। गत भदौ २९ गते उनी पक्राउ परे। प्रहरीले उनीमाथि राज्य विरुद्धको अपराध मुद्दामा अनुसन्धान थालेको छ। तर राउत भने आफूलाई राज्यसंयन्त्र लगाएर षड्यन्त्रमूलक ढंगले फँसाइएको दाबी गर्छन्। पहिलोपोस्ट डट कमका रविराज बरालले शिक्षण अस्पतालको बेड नम्बर ५०७ मा रहेका सिके राउतसँग गरेको कुराकानीः 

तपाईँ वैज्ञानिक भैसकेको मान्छे, विद्वानको पहिचान बनाएर बसेको भए भैहाल्थ्यो नि। किन देश टुक्र्याउने अभियान चलाउँदै हिँड्नुभएको?

मैले देश टुक्र्याउने अभियान चलाएकाले पक्राउ परेको भन्नु नै गलत हो। मलाई जुन घटनाका कारण समातिएको भनिएको छ, त्यसका बारेमा सबैजना प्रष्ट हुन जरुरी छ। सन्थाल समुदायले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मलाई इतिहासकारका रुपमा प्रमुख अतिथि बोलाइएको थियो। त्यो सन्थाल समुदायले गर्ने वार्षिक मेला थियो। त्यहाँ चार पाँच हजार मानिस हुँदा हुन्। न त्यो कार्यक्रम मैले आयोजना गरेको थिएँ न त मेरो अभियानसँग नै सम्बन्धित थियो। मैले त्यो कार्यक्रममा सन्थाल समुदायको इतिहास र संस्कृतिबारे प्रवचन दिएको थिएँ।

अहिले आरोप लगाइएजस्तो मेरो अभियानसँग सम्बन्धित एउटा पनि कुरा मैले उक्त कार्यक्रममा उठाएको थिइन। करिब साढे ७ बजेतिर कार्यक्रम सकिएपछि म हिँडे। हेर्छु अगाडि पनि प्रहरीको भ्यान छ, पछाडि पनि प्रहरीको भ्यान छ। म चढेको गाडी त घेराबन्दीमा पो रहेछ। मलाई सिधै सिमानाको जोगबनी पुर्‍याइयो। मलाई रोकेर सिडिओ साबले बोलाउनुभएको छ भनियो। प्रमुख जिल्ला अधिकारीले बोलाएको भए नजाने भन्ने कुरा भएन भन्ने सोचेँ र गएँ। तर सिधै जिल्ला प्रहरी कार्यालय पुर्‍याइयो र थुनियो। न पक्राउपूर्जी छ, न कुनै खानतलासी छ।

सम्बन्धित समाचार


तर मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भनेर त तपाईँले आफ्नो पुस्तकमै लेख्नुभएको छ। तपाईँ त्यही अभियानमा हुनुहुन्छ भन्ने त छर्लङ्गै छ नि।

मधेस स्वराज मेरो व्यक्तिगत विचार हो। मैले स्वतन्त्र मधेसका पक्षमा व्यक्तिगत विचार व्यक्त गर्दै आइरहेको छु। राज्यसत्तालाई यो अपाच्य हुनु अस्वभाविक हैन। तर लोकतन्त्रिक शासन व्यवस्थामा जनताले भनेका कुरा सर्वमान्य हुन्छन् भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन। लोकतान्त्रिक व्यवस्था भएका मुलुकमा मैले उठाएका कुरालाई संवैधानिक रुपमा नै अधिकारका रुपमा ग्रहण गरिएको हुन्छ। मैले यहाँ उठाएको कुरा पनि लोकतन्त्रकै एउटा पक्ष न हो।

तर देशको अखण्डतामा खलल पार्ने काम त संविधान अनुसार कसुर हो। तपाईँ त यसको भागिदार हुनै पर्‍यो नि हैन र?

सजायँ हुन्छ भन्ने कुरामा मलाई कुनै डर छैन तर लोकतन्त्रमा विचार र अभिव्यक्ति स्वतन्त्रता हुन्छ। मलाई पक्रिनु र मेरो अभियानबीच कुनै सम्बन्ध नै छैन। मलाई जुन कार्यक्रमबाट जे बोल्यो भनेर समातियो त्यो नै गलत हो। मैले त्यहाँ पक्राउ पर्नुपर्ने केही बोलेकै छैन। मलाई पूर्व नियोजित रुपमा षड्यन्त्र गरेर पक्राउ गरिएको हो। मलाई यो कुराको पूर्वाभाष थियो। त्यसैले दुई दिनअघि मात्र मैले नेपाल प्रहरीको मानवअधिकार सेलमा 'मलाई भेटघाट र कार्यक्रमहरुमा सहभागी हुनबाट रोक्ने र हस्तक्षेप गर्ने प्रयास भैरहेको छ' भनेर जानकारी गराएको थिएँ। प्रहरीलाई जानकारी गराएको दुई दिन नबित्दै मलाई समात्नुले पनि उनीहरुको पूर्वयोजना पुष्टि गर्छ।

तपाईँसँग डा. बाबुराम भट्टराईले नयाँ संविधानका बारेमा सुझाव माग्दा नागरिकले चाहेमा जनमत संग्रह गरी राज्यसँग छुट्टिन पाउने अधिकार राख्नुपर्छ भन्नुभएको रहेछ नि?

हो, तर मैले एउटा मुद्दालाई लिएर जनमत संग्रहको कुरा गरेको हैन। मैले उठाइरहेको मधेस स्वराजको विषयमामात्र जनमत संग्रह गरौँ भनेको होइन। मैले त देशमा उठ्ने ठूला विवादमा जनतालाई निर्णय गर्न दिउँ मात्र भनेको हुँ। शासनसत्तामा रहेकाहरुले पचाउनै नसक्ने विषयमा पनि जनतालाई निर्णय गर्न दिएर समस्याहरु समाधान गर्न सकिन्छ।

आफ्नो बलमा मात्र तपाईँले देश टुक्र्याउने कुरा गरेको हैन भन्छन् मान्छेहरु। तपाईँ कतैबाट परिचालित त हैन?

पुरुषोत्तम रामलाई पनि आरोप लागेको हो, भगवान कृष्णलाई पनि विभिन्न आरोप लगाइन्छ। तपाईँ कुनै काम गर्दै हुनुहुन्छ भने आरोप लाग्नु स्वभाविक नै हो। यदि म कतैबाट परिचालित हो भन्ने लाग्छ भने उहाँहरुसँग त राज्य संयन्त्र छ, खोजे भैहाल्यो नि। भारत, अमेरिका, चीन वा युरोपेली मुलुकका जासुसी संयन्त्रसँग नेपालको सुरक्षानिकायको सम्बन्ध छ। म कहाँबाट परिचालित हो खोजेर जनतासमक्ष सार्वजनिक गर्दिनुस् न। नयाँ कुरा गर्नेमाथि आरोप लगाउन सजिलो छ। तर आरोपमात्र लगाएर भएन, त्यसलाई पुष्टि गर्न सक्नुपर्‍यो। त्यसैले आरोप लाग्नु मलाई अस्वभाविक पटक्कै लागेको छैन।

तपाईँका उग्र विचारका कारण देशमा हिंसा भड्कियो भने तपाईँ जिम्मा लिनुहुन्छ?

मेरो विचार उग्र हो भन्ने कुरामा म सहमत छैन। स्वतन्त्रतापूर्वक प्रस्फुटन हुन दिएमा कुनै पनि विचार उग्र हुँदैन। तर हिंसा भड्किन सक्छ भन्ने कुरामा म निकै सचेत छु। म पक्राउ परेको यति लामो समय भैसक्यो तर हिंसा भड्केको तपाईँले कतै सुन्नुभएको छ? म महात्मा गान्धी, गौतम बुद्ध र नेल्सन मण्डेलाको पथमा छु। म हिंसामा हैन स्वतन्त्रता र मुक्तिमा विश्वास गर्छु। मैले मेरा साथीहरुलाई संयमित हुन निर्देशन दिएको छु। त्यसैले कुनै पनि हिंसाका घटना घट्ने छैनन्। तर स्थिति बिगार्ने तत्वहरु हुँदै हुन्नन् भन्न सक्दिन। मेरो अहिंसाको मार्गलाई बदनाम गर्नेहरु पनि हुनसक्छन्। तर म जति सचेत भएपनि मेरा पनि सीमाहरु छन्। म प्रहरी हिरासतमा छु। सञ्चारका साधन मसँग छैनन्। साथीहरुसँग कुराकानी गर्न असम्भव छ। यसमा सबैजना सचेत भैदिनु पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell