PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रचण्ड र बाबुरामले भक्कानिँदै भने- 'हामी फुट्दैनौँ'



प्रचण्ड र बाबुरामले भक्कानिँदै भने- 'हामी फुट्दैनौँ'

रविराज बराल/पहिलोपोस्ट
काठमाडौं : असोज ५ गते आइतवार। दिउसोको समय। काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडाँमा रहेको एकीकृत नेकपा माओवादीको मुख्यालय। कार्यक्रम थियो दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’ को श्रद्धाञ्जली सभा।

जब शोक मन्तव्य व्यक्त गर्ने क्रममा एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफू, अध्यक्ष प्रचण्ड र दिवंगत नेता बोगटीको त्रिकोणात्मक सम्बन्धबारे चर्चा गरे, सभाको अध्यक्षता गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँसु थाम्न सकेनन्।  

एकतिर भट्टराई रुँदै बोगटीको स्मरण गर्दै थिए त अर्कोतिर प्रचण्ड ओठ टोकीटोकी आँसु रोक्ने असफल कोशिष गरिरहेका थिए।  

प्रचण्ड र बाबुराम भक्कानिएपछि स्वर्गीय बोगटीप्रति सम्मान व्यक्त गर्न कार्यक्रममा उपस्थित एमाओवादीका सयौँ नेताकार्यकर्ता, अन्य दलका प्रतिनिधि र सर्वसाधारण पनि भावुक बने। धेरै शोकाकुलजनका आँखा रसाए। धेरैजनाको गला अबरुद्ध भयो।  


‘मैले इमान्दारितापूर्वक भन्नुपर्छ। विश्वलाई जानकारी गराउनैपर्छ। कमरेड पोष्टबहादुर बोगटीको योगदान बिना न कमरेड प्रचण्डको यो उचाइ हुन्थ्यो न बाबुराम जस्ता नेताहरु स्थापित हुन्थे’, बाबुरामले यति भनिनसक्दै उता प्रचण्ड आँसु लुकाउन आकाशतिर हेरिरहेका थिए। ‘यो सत्य इमान्दारितापूर्वक इतिहासमा रेकर्ड गराउनुपर्छ’, कुरा पुरा गर्न नपाउँदै बाबुराम पनि धरधरी रोइसकेका थिए। रुँदै उनले भने, ‘होनहार कमरेडहरु जस्ले आफू पृष्ठभूमिमा बसेर, आफू गुमनाम भएर पनि पार्टी र क्रान्तिलाई अगाडि बढाए। उनीहरुको हामीले सदैव सम्मान गर्न सक्नुपर्छ।‘


पार्टी गठनदेखि जनयुद्धसम्म र शान्तिप्रक्रियामा पनि पार्टीमा संकट पर्दा सम्झिने पहिलो नाम नै पोष्टबहादुर बोगटी भएको भट्टराईले बताइरहँदा भावविह्वल प्रचण्ड आँसु पुछ्दै थिए।

‘अध्यक्ष कमरेडले अन्त्यमा भन्नुहोला। धेरै नेता, कार्यकर्ता र जनतालाई कमै थाहा छ। जबजब पार्टीमा अप्ठ्यारा क्षणहरु आउँथे, बिबाद र अन्तर्बिरोध हुन्थे। जब हल गर्न मुस्किल पर्थ्यो। हाम्रो दिमागमा कमरेड पोष्टबहादुर बोगटीको नाम आउँथ्यो’, भट्टराईले भने, ‘संकटको क्षणमा सबैभन्दा पहिला आउने नाम नै पोष्टबहादुर बोगटी थियो।‘


प्रचण्ड घरी ओठ टोकेर आँसु रोक्न खोज्थे त घरी आकाशतिर हेर्थे। चस्मा निकालेर आँखा पुछ्न खोजेजस्तो गरे तर उनका आँखाबाट आँसु रोकिएन। अन्ततः उनले रुमाल निकाले र आँसु पुछे। 


‘पार्टी जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर संविधान निर्माण गर्ने र वैचारिक, संगठनात्मक र राजनीतिक रुपमा रुपान्तरित हुँदै पार्टीलाई एकताबद्ध गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ’, भट्टराईले आफ्नो मन्तब्य टुंग्याए।   


अब श्रद्धाञ्जली मन्तव्य दिने पालो अध्यक्ष प्रचण्डको थियो। भट्टराईले भनेका कुरा स्मरण गर्दै उनले आफ्नो मन्तव्य सुरु गरे। ‘सहयोद्धा कमरेड बाबुराम भट्टराईले बडा भावपूर्ण र मार्मिक ढंगले कुराहरु राख्नुभयो’, वाक्य पुरा गर्न नपाउँदै उनी भक्कानिए, ‘उहाँले राखेका कुरा म पुनः दोर्‍याउन पनि सक्दिन। मलाई अनुभूतिको जुन गहिराइ भएको छ, म उहाँका कुरामा पुरै सहमत छु।‘   

बोगटी प्रचण्डका सम्धी पनि हुन्। प्रचण्डका छोरा प्रकाश र बोगटीकी छोरी प्रभाको वैवाहिक जीवन सफल हुन सकेन तर सम्धीको सम्बन्ध सफल नभएपनि यि दुई नेता एकअर्काप्रति निकै इमान्दार रहे।


प्रचण्ड भक्कानिएपछि मञ्चमा बसिरहेका दिवंगत नेता बोगटीका परिवारका सदस्य पनि भावविह्वल भए। श्रद्धाञ्जली सभामा उपस्थित भएका एमाओवादीका धेरै नेता कार्यकर्ता पनि आँसु पुछ्दै गरेका देखिन्थे।  

‘कमरेड दिवाकरको शैली र प्रवृत्ति भनेको एकताको प्रवृत्ति हो। पार्टी एकतालाई अझ माथि उठाउनु नै उहाँप्रति श्रद्धा व्यक्त गर्नु हो’, भक्कानिएका प्रचण्डले आफूलाई सम्हाल्दै भने, ‘कमरेड बाबुराम भट्टराईले पार्टी एकताप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो। म पनि अन्तिमसम्म पार्टी एकताका पक्षमा लडिरहने छु।‘


बोगटीका छोरीहरु।

भौतिक रुपमा बोगटी नरहेपनि उनले नयाँ सन्देश, विचार र सपना दिएर गएको भन्दै प्रचण्डले उनको साँचो सम्मानका लागि हरेक कार्यकर्तालाई ती विचार अनुशरण गर्न आग्रह गरे। 


बोगटीकी श्रीमती उषा
उनले आँसु रोक्न निकै प्रयास गरे। मन्तव्यको अन्त्यमा उनले आफ्नो असफल प्रयासको खुलासा गरे- ‘व्यक्तिगत कुरा गर्नतिर लाग्यो भने बढी भावनातिर बगिन्छ भनेर मैले विषयलाई अलि भिन्न ढंगले प्रस्तुत गर्ने कोसिस गरेँ।‘


त्यसो त बोगटीको निधन लगत्तै प्रचण्डले ‘छोरी बित्दाभन्दा बढी पीडा’ भएको बताएका थिए। उनले भनेका थिए- ‘उहाँको असामयिक निधनबारे म शब्दमा व्यक्त गर्न सक्दिनँ। मलाई यति पीडा कहिल्यै भएको थिएन। केही समयअघि क्यान्सरका कारण मेरी छोरीको निधन भयो। त्योभन्दा बढी पीडा अहिले भएको छ।


एमाओवादी केन्द्रीय समितिद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अन्य पार्टीका नेताहरुलाई पनि बोलाइएको थियो।
एउमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सातौँ दिनको पुण्यतिथि पारेर एमाओवादीले श्रद्धाञ्जली सभा राखेको थियो। 


नेता बोगटीको ६१ वर्षको उमेरमा गत भदौ ३० गते निधन भएको थियो। 


सम्बन्धित समाचारहरुः

एमाओवादी उपाध्यक्ष बोगटी रहेनन्
एमाओवादी उपाध्यक्ष बोगटीलाई ह्रदयाघात
वैद्यलाई पनि रुवाइछाडे बोगटीले
बोगटीको निधन: स्तब्ध नेता, कार्यकर्ताले थाम्न सकेनन् अाँसु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell