PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पहिलो पटक आहा रारा गोल्डकपको फाइनलमा भिड्दै पुलिस र थ्री स्टार



पहिलोपोस्ट

पहिलो पटक आहा रारा गोल्डकपको फाइनलमा भिड्दै पुलिस र थ्री स्टार
फोटो : गोलनेपाल डटकम कास्की

पोखरा : मोफसलको प्रतिष्ठित गोल्डकप फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १६औं संस्करणको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार बीच शनिवार प्रतिस्पर्धा हुँदैछ।

पुलिस क्लब र थ्री स्टार पोखरेली भूमिमा फाइनल खेल्न लागेको यो पहिलो पटक हो। थ्री स्टार बंगलादेशी क्लब उत्तर बरिन्धारालाई ५-० ले तथा पुलिस धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।

यद्यपी यसअघि का विभिन्न संस्करणमा भने पुलिस र थ्री स्टारबींच प्रतिस्पर्धा भइसकेको छ।

यसअघि पुलिस र थ्री स्टारले एकआपसमा पाँच पटक भिडेका छन्। जसमा पुलिस ३ तथा थ्री स्टार दुई पटक विजयी भएका थिए। तेस्रो, छैटौँ र सातौँ संस्करणमा पुलिसले थ्री स्टारलाई हराएको थियो भने नवौँ  र १३औँ मा थ्री स्टारले पुलिसलाई पराजित गरेको थियो।

पुलिस र थ्री स्टारले समान ४-४ पटक उपाधि जितिसकेका छन्। २०५८ मा क्याराभान गोल्डकबपबाट सुरु भएको प्रतियोगितामा पनि पुलिस च्याम्पियन बनेको थियो। त्यो समेत जोड्दा पुलिसले ५ पटक उपाधि जितिसकेको छ।

आहा रारा गोल्डकप मात्र भने मनाङ मर्स्याङ्दीले सर्वाधिक ५ पटक जितेको छ। पुलिस र थ्री स्टार जसले उपाधि जितेपछि मनाङको उपलब्धीसँग बराबरी गर्नेछ।

पुलिसले क्याराभानबाहेक २०५९ सालको पहिलो आहारा गोल्डकपसहित छैटौँ देखि आठौँ संस्करणसम्म लगातार ३ पटक उपाधि जितेर ह्याट्रिक समेत गरेको थियो।

यस्तै थ्री स्टारले पाँचौ संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने नवौँ, ११औँ र १३औँ संस्करणमा पनि च्याम्पियन बनेको थियो।

१४ महिनापछि नेपाली फुटबलमा पुनरागमन गरेको थ्री स्टार अघिल्लो साता मात्र इटहरीमा मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जित्दै आफू अझै बलियो रहेको प्रमाणित गरिसकेको छ।

यस्तै गत वर्ष धरानमा बुढासुब्बा गोल्डकपको उपाधि जितेको पुलिसले केही समयअघि राखेप च्याम्पियनसिप अन्तर्गत २८औँ राष्ट्रिय पुरुष फुटबलको उपाधि जितेको थियो।

यता कुनै समय नकआउट फुटबलमा दबदबा बनाएको पुलिसले पनि पोखरेली भूमिमा राम्रो प्रदर्शन गर्दै आएको छ।

हेम गुरुङको कप्तानीमा रहेको पुलिसमा युवा खेलाडीहरुको बाहुल्य रहेको छ भने राष्ट्रिय टिमका मिडफिल्डर विक्रम लामाको कप्तानीमा रहेको थ्री स्टारमा अनुभवी र युवा खेलाडीको मिश्रण छ।

थ्री स्टारमा विक्रमसँगै राष्ट्रिय टिमका अनन्त तामाङ, निराजन खड्का रहेका छन् भने युवा खेलाडीहरु विश्वास श्रेष्ठ र सुनिल बल पनि छन्।

थ्री स्टारले अहिलेसम्म फाइनल हारेको छैन। त्यसैले उत्साहित देखिएका थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘हामी अहिलेसम्म फाइनलमा हारेका छैनौं। पुलिस विरुद्ध पनि रणनीति बनाएर खेल्छौँ। हामीसँग राम्रा खेलाडी छन्। आशा छ हामी उपाधि जित्छौँ।’

उता पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टिममा राष्ट्रिय खेलाडीहरु नरहेपनि फाइनल ५०-५० हुने बताए। ‘फाइनल ५०-५० हुन्छ। हामीसँग राष्ट्रिय स्तरका खेलाडी नरहेपनि क्वालिटि प्लेअर छन्।’

उक्त फाइनल खेल माइकुजोमा प्रत्यक्ष प्रशारण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell