PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार, पहिलेको भन्दा अझै राम्रो खेल्ने लक्ष्य



गोविन्दराज नेपाल

१४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार, पहिलेको भन्दा अझै राम्रो खेल्ने लक्ष्य

काठमाडौं : ए डिभिजन क्लब रुस्लान थ्री स्टारले १४ महिनापछि फुटबलमा पुनरागमन गर्दै भोलीदेखि सुरु हुने सुदूरपश्चिम खप्तड गोल्डकपमा सहभागिता जनाउने भएको छ। बिहीबार क्लबले खप्तड गोल्डकपमका सहभागि हुने जानकारी गराउँदै टिमलाई बिदाई समेत गरेको छ।

विक्रम लामाको कप्तानीमा रहेको १९ खेलाडीसहित २५ सदस्यीय टोलीलाई क्लबले शुभकामनासहित बिदाई गरेको हो।

गत वर्ष सेप्टेम्वरमा भारतको गुहावटीमा भएको बोर्डोलोइ ट्रफी खेलेयता थ्री स्टार कुनै पनि फुटबल प्रतियोंगितामा भाग लिएको थिएन। मंगोलियामा भएको एएफसी कपको पहिलो चरण पार गरेर दोस्रो चरणमा छनोट भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा)को गम्भीर गल्तीका कारण प्रतियोगितामा खेल्न नपाएको थ्री स्टारले ६ करोड क्षतीपूर्ती माग गर्दै २०१६ नोभेम्वरबाट कुनै पनि प्रतियोगितामा भाग नलिने बताएको थियो।

तर गत असोजमा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा भएको त्रिपक्षिय सम्झौता अनुसार एन्फाले थ्रीस्टारलाई १ करोड ५० लाख नगद दिने र थ्री स्टारले फुटबल प्रतियोगितामा भाग लिने सहमति भएको थियो।

थ्री स्टारले अहिलेसम्म ५० लाख मात्र पाएको र बाँकी १ करोडका लागि पहल गरिरहेको क्लबका कार्यवाहक अध्यक्ष अरुणमान जोशीले बताए।

नेपाली फुटबल बचाउन र खेलाडीले खेल्न पाउनुपर्छ भन्ने उदेश्यसहित एन्फासँग १४ महिना संघर्ष गरेपछि खेलाडी र क्लबलाई न्याय दिलाउन केही हदसम्म सफल भएको क्लबका महासचिव सन्जिव शिल्पकारले बताए। 'अब हामी खेलमा फर्केका छौँ, प्रमाणित गर्नको लागि तयार छौँ र १४ महिना हामी निष्कृय थिएन भन्ने देखाउन चाहन्छौँ,' शिल्पकारले भने।

उनले अब फुटबलको नयाँ बिहानीको सुरुवात सुदूरपश्चिमबाट गर्ने समेत बताए।

यस १४ महिनाको अवधीमा थ्री स्टारले कुनै पनि घरेलु प्रतियोगिता खेलेन।


'१४ महिना अघिको भन्दा कम छैनौँ'

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले १४ महिनादेखि थ्री स्टार नेपाली फुटबलबाट हराइरहेको देखिएता पनि वास्तविकता त्यस्तो नरहेको बताए। 'हामी हराएका थिएनौँ। क्लबका पदाधिकारी एक दिन पनि त्यत्तिकै बसेको थिएन। यसबीचमा हामीले धेरै मेहेनत गरेका छौँ।; केसीले भने।

'अहिले हामीले नेपालको नाम चलेका खेलाडीलाई रियुनाइट गरेका छौँ। यो त्यसैको फल हो। सबैले मेहेनत गरेका छन्। हामीसँग राष्ट्रिय टिमका ६ खेलाडी, यु-१९ टिमका ३ तथा अन्य खेलाडीहरु पनि छन्।'

उनले १४ महिना अघिको भन्दा टिममा कुनै कमी नरहेको दावी गरे। 'हामी १४ महिना अघिभन्दा कुनै पनि रुपमा कम भएका छैनौँ। अब खेल्न जाने ठाउँमा राम्रो प्रदर्शन गर्नेछौँ। थ्री स्टारलाई फेरी नेपालको नम्बर वान क्लब बनाउनेछौँ।'

यस्तै क्लबका कप्तान विक्रम लामाले फेरी एक ढिक्का भएर थ्री स्टारको लागि खेल्ने मौका पाएकोमा पाउँदा खुशी व्यक्त गरे। 'विगतमा व्यक्ति, परिवार र आर्थिकका लागि खेल्थ्यौँ। जुन बेला सँच्चै भन्ने हो भने खेलेको जस्तो पनि लाग्थेन।' राष्ट्रिय टिमका मिडफिल्डर समेत रहेका लामाले यसबीचमा खेल्दाको अनुभव पोखे। 'अब हामी एकढिक्का भएर क्लब र नेपाली फुटबलका लागि खेल्नेछौँ। व्यक्ति भन्दा माथि उठेर खेल्छौँ,' लामाले भने, '१४ महिनापछि टोलीलाई अझ राम्रो बनाउने र एकजुट भएर खेल्नेछौँ।'

अनन्त र विश्वास थ्री स्टारमा

नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य विमल घर्ती मगर र अनन्त तामाङले थ्री स्टारबाट खप्तड गोल्डकप खेल्ने भएका छन्। बिहीबार सार्वजनिक क्लबको खेलाडीमा यी दुईसँगै यू-१९ टिमका विश्वास श्रेष्ठ, गोलरक्षक पूर्ण चेम्जोङ लगायत खेलाडीको नाम समावेश छ।

विमलले यसअघि बोर्डोलोई ट्रफीमा पनि थ्रीस्टारबाटै खेलेका थिए। तर अनन्तले भने थ्री स्टारको जर्सीबाट पहिलो पटक खेल्न लागेका हुन्।

क्लबका महासचिव शिल्पकारका अनुसार अनन्त, पूर्ण, असिम भुसाल, जीवन गुरुङ र निराजन महर्जनले पहिलो पटक थ्री स्टारबाट खेल्न लागेका हुन्। सबै नयाँ खेलाडी आगामी सिजन सम्म क्लबमा रहने उनले जानकारी दिए। यस्तै थ्री स्टारले उज्वल मान्नधरलाई गोलकिपर कोचमा नियुक्त गरेको छ।

 

खप्तड गोल्डकप खेल्ने थ्री स्टारको टोली

गोलकिपर : ऐलेन न्यौपाने, अभिषेक बराल, पूर्ण चेम्जोङ

डिफेन्डर : पीटर सेगुन, अनन्त तामाङ, रजिन धिमाल, बिजय धिमाल, अशिम भुसाल, जीवन गुरुङ, निराजन महर्जन

मिड-फिल्डर : सुनील बल, लावल, बिष्णु गुरुङ, बिक्रम लामा (कप्तान) निराजन खड्का (उप- कप्तान)

फरवार्ड : विमल घर्ती मगर, बुद्ध चेम्जोङ, मार्टीन, विश्वास श्रेष्ठ

 

टीम म्यानेजर : मुकेश नकर्मी

हेड कोच : मेघराज केसी

कोच : रबिन्द्र सिलाकार

गोलकिपर कोच : उज्वल मानन्धर

टीम अफीसीयल : कृष्ण कार्की

टीम अफीसीयल : रुपेन्द्र पुरी

टीम फीजीयो : सुबास जीसी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell