PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘ड्रगिस्ट’को ‘डोज’ बन्दै क्यान्सरको औषधि!



सागर बुढाथोकी

‘ड्रगिस्ट’को ‘डोज’ बन्दै क्यान्सरको औषधि!
प्रतीकात्मक फोटो : remiremontinfo.fr

  • भक्तपुर बालकोटका मनोज थापा (नाम परिवर्तन) गत आइतबार एकाएक बेहोस भए। उनलाई लिएर परिवार अत्तालिँदै भक्तपुरकै कोरियन मैत्री अस्पताल पुगे। अस्पतालको इमर्जेन्सीमा उपचारपछि थाहा भयो –  उनको शरीरमा क्यान्सरका बिरामीले सेवन गर्ने औषधिको ओभरडोज परेको छ।
मनोजलाई क्यान्सर छैन। लागू औषधको कूलत छ। नशालु पदार्थ सजिलै नभेट्दा उनले सहजै किन्न पाइने पेनकिलर रोज्न थालेका रहेछन्। अन्यभन्दा तुलानात्मक रुपमा सस्तो हुने भएकाले प्राणघातक रोगका बिरामीले खाने औषधि पछिल्लो समय लागूऔषध प्रयोगकर्ताहरुले सेवन गर्न थालेको पाइएको छ।

कौशलटार निवासी १९ वर्षीय विशाल मगर (नाम परिवर्तन) एउटा औषधि पसलमा केही औषधिका क्याप्सुल कफ सिरपको सहायतामा घुट्क्याउँदै थिए। धेरैका लागि त्यो दृश्य अनौठो थियो तर उनका लागि दैनिकी।

औषधि दुरुपयोगका यस्ता दृश्यहरु धेरै ठाउँमा देखिन थालेका छन्। लागू औषध प्रयोगकर्ताहरुले पेनकिलर औषधी ‘ट्रमाडोल हाइड्रोक्लोराइड’, पेट दुख्दा प्रयोग हुने पेनकिलर ‘डाइक्लोमाइन हाइड्रोलोराइड’,  कडा खाले पेन किलर ‘कोडिन ’ ‘कफ ट्याब्लेट’ र ‘कफ सिरप’ एकै ठाउँमा मिलाएर खाने गरेको भेटिएको छ। 

काठमाडौं र उपत्यका आसपासका विभिन्न औषधि पसल र दुर्व्यसनीमा परेका व्यक्तिहरुसँग गरेको सोधपुछमा यस्ता औषधिहरु दुरुपयोग हुने तथ्य फेला परेको हो। 
 
+++
  • लागूऔषध प्रयोगकर्ता जानकार छन्, यस्ता औषधिले आनन्द दिन्छ, निद्रा लगाउँछ। सजिलै किन्न पाइन्छ र सस्तो पनि। तर,  यस्ता औषधिले गर्ने ‘साइड इफेक्ट’लाई उनीहरु वास्ता गर्दैनन्। कतिपय यस्ता औषधिहरु वयस्कले ओभरडोज र १८ वर्षभन्दा कम उमेरकाले खाए ज्यानै जाने खतरा समेत हुन्छ।
सिनामंगल निवासी १९ वर्षीय राज केसी (नाम परिवर्तन) सस्तो र कडा भएकोले 'सजिलै झ्याप हुन' यस्तो औषधि प्रयोग गरेको बताउँछन्। औषधिको प्रयोग गर्दा नकारात्मक प्रभाव पर्ने थाहा हुँदा हुँदै पनि आफु सेवन गर्न बाध्य भएको सुनाउँछन्। 
‘लत लागेपछि ज्यान नै जोखिममा परोस्, बाल मतलब,’ उनले सजिलैसँग भने। 


घातक असर

औषधि बिरामीलाई ठीक पार्नका लागि उत्पादन गरिन्छ। यस्ता औषधि सामान्य प्रकृतिको हुँदैन। ठूला ठूला अपरेसन गर्दा सहनै नसक्ने पीडा हुने भएकाले यस्ता औषधि प्रयोग गरिन्छ। यस्ता औषधि चिकित्सकको सल्लाहबिना सेवन गरेमा ज्यान जाने जोखिम हुन्छ। त्यस्तै घातक रोग निम्त्याउन सक्ने खतरा उस्तै छ। 

क्यान्सर रोग विशेषज्ञ डा विशाल ज्ञवालीका अनुसार जुनसुकै औषधी विनाकारण खाँदा नकारात्मक प्रभाव पर्दछ। झन् ओभर डोज भएमा ज्यान समेत जानसक्ने खतरा हुन्छ। क्यान्सरको औषधि त बिना प्रेस्क्रिप्सन बिक्री वितरणसमेत निषेध छ।

उनले भने, 'हाइड्रोक्लोराइडले मस्तिष्कमा डोपामाइन बढाउँछ। यसले मानिसलाई आनन्द हुने, रमाइलो महसुस हुने, तथा खुसी पार्ने काम गर्दछ। एकपटक सेवन गरेपछि फेरि सेवन गरौँ गरौँ बनाउँछ।’ 

त्यसैले मानिसहरुमा लत बढेको र पछि गएर नशाको रुपमा सेवन गर्नेका संख्या बढेको डाक्टर ज्ञवालीको भनाइ छ।

ट्रामाडोल हाइड्रोक्लोराइडको ओभरडोज भएमा हृदयघात हुने, मृर्गौला खराब हुने तथा बिरामीको मृत्युसमेत हुनसक्छ। यो औषधिले एडिक्सन बढाउने, आन्द्राबाट खानेकुरा भित्र ट्रान्सफर नगराउने  खतरा हुने ज्ञवाली बताउँछन्।
 
+++
ट्रामाडोल हाइड्रोक्लोराइड ओपिडियस ग्रुपमा पर्ने औषधी हो। विशेष गरी यो औषधी जटिल रोगको दुखाइहरु कम गर्नको लागि प्रयोग गरिन्छ। डाक्टर ज्ञवालीका अनुसार क्यान्सर पीडित विरामीको अप्रेसन गरिसकेपछि दुखाई कम गर्नको लागि ट्रामाडोल हाइड्रोक्लोराइड दिइन्छ। अन्य रोगहरुको उपचारमा पनि यो औषधिको प्रयोग हुन्छ। तर, कस्ता बिरामीलाई यो औषधी दिने भन्ने चिकित्सकले मात्र तय गर्न सक्छन्। आफु मनखुशी गर्न हुँदैन।
 
+++

ओपिडियस ग्रुपमा पर्ने औषधी चिकित्सकको लिखतबिना बेच्न पाइँदैन। त्यसैले डाक्टर ज्ञवाली सजिलै बिक्री गर्नुलाई अपराध मान्छन्। यो सोही ग्रुपमा पर्ने औषधि हो। यो औषधी आत्महत्याका लागि समेत प्रयोग हुने गरेको भेटिएको छ। धेरै सेवन गर्दा स्वासप्रस्वास रोकिने र बिरामीको सहजै मृत्यु हुने खतरा रहेको ज्ञवालीको दाबी छ। भन्छन्, ‘विकशित देशमा सिटामोल किन्नका लागि चिकित्सकले दिएको पुर्जा अनिवार्य चाहिन्छ। तर, नेपालमा औषधिको नाम भनेकै भरमा बिक्रेताले दिन्छन्। मुख्य खोट यहीँ छ।’

औषधि बिक्रेताहरुले चिकित्सकले दिएको पुर्जा हेरेरमात्रै औषधि दिने हो भने समस्या बल्झिनबाट रोक्न सकिने  उनको दाबी छ।
 

बिहान र बेलुका बढी बिक्री

अबैधरुपमा औषधि बेच्दा र किन्दा कानूनी कारवाहीमा पर्ने खतरा हुन्छ। औषधि व्यवस्था विभागको निरीक्षणमा पर्यो भने पसल सिलबन्दी। त्यसैले औषधि व्यवसायीले लागूऔषध प्रयोगकर्तालाई बिहान १० बजे भन्दा अघि र साँझ ५ बजेपछिमात्र यस्ता औषधि दिने गछन्। 

कार्यालय समयमा अनुगमन हुनसक्ने भएकाले उनीहरुले १० देखि ५ बजेसम्म प्रेस्क्रिप्सन मागेजस्तो गर्दछन्। बिहान १० बजेअघि र ५ बजेपछि यस्ता औषधि खुलेआम बिक्री हुन्छन्।

कलेज ड्रेसमै ड्रग्समा मस्त

अधिकांश फार्मेसी पसलले दिएका जानकारी अनुसार यस्ता औषधि माग्न कलेज पढ्ने विद्यार्थीहरु  बढी छन्। 

‘कलेज ड्रेसमै औषधि माग्न आउँछन्। उनीहरु हाम्रा नियमित ग्राहकहरु हुन्। कोही एकैचोटी धेरै डोज लिन्छन् कोही कम,’ बानेश्वरका एक फार्मेसी सञ्चालकले पहिचान लुकाउने शर्तमा भने। 

सिनामंगलका अर्का फार्मेसी सञ्चालक भन्छन्, ‘भिआइपीको छोराछोरीको नशाको लागि यो गजबको च्वाइस बनेको छ। नियमित खाने बानी परेकाले उनीहरु एकैचोटी किनेर लैजान्छन्। मदिरा र अन्यको तुलनामा हरेक किसिमले यस्ता औषधि नै उनीहरुको लागि उपयोगी देखिएको छ।’

यस्ता औषधि उपयोग गर्नेहरु कलेज पढ्दै गरेका विद्यार्थी मात्र हैन गृहिणी पनि रहेका छन्। एक अर्का फार्मेसी सञ्चालक भन्छन्, ‘यस्तो औषधि किन्न आउनेहरु  गृहिणीहरु पनि छन्। तर, यस्तो सङ्ख्या विद्यार्थीहरुको तुलनामा कम छ।’
 

यस्तो छ बिक्रेताको बोली 

नशाको लागि औषधि किन्नेहरुसँग प्रेस्क्रिप्सन हुँदैन। प्रेस्क्रिप्सनबिना औषधि किन्न आउनेलाई बिल पनि चाहिँदैन। बिक्रेताले के प्रयोजनका लागि हो भन्ने सहजै थाहा पाइहाल्छन्। पर्नेभन्दा चर्को मूल्य असुल्छन्। परल मूल्यभन्दा कैयौं गुणा बढी पाइने भएपछि झनै खुशी हुन्छन् व्यवसायी। कतिपय औषधि पसलको मुख्य आम्दानी नै अवैध रुपमा हुने बिक्रीवितरण हो।

अधिकांश बिक्रेता बिना डक्टरको पेब्स्क्रिप्सन धेरै औषधी दिनु गैरकानूनी भएको स्वीकार्छन। सम्बन्धित निकायले छानविन तथा अनुगमनमा कडाइ नगरेसम्म नरोकिने उनीहरुको तर्क छ। भन्छन्, ‘एउटाले नदिए अर्कोले दिन्छ। त्यसैले नाफा अर्को व्यसायीलाई छोड्ने कुरा भएन।’

शान्तिनगरमा औषधि व्यवसाय गर्दै आएका एकजना औषधी पसलेको कथा बेग्लै छ। बिना पूर्जी औषधि लिन आएकालाई औषधि दिन्न भन्ने हिम्मत नभएको बताउँछन् उनी। ‘औषधि नदिए ज्यान मार्ने धम्की दिन्छन्। आफु मरेर ट्यापेलाई बचाउने कुरा भएन?,’ उनले भने।


सबैले गर्दैनन् अवैध धन्दा 

रिपोर्टिङको क्रममा राजधानी आसपासका विभिन्न क्षेत्रमा सञ्चालित फार्मेसीमा पुग्दा सिनामंगल, बसपार्क शान्तिनगर, शंखमुल क्षेत्रका फार्मेसीले बिनापुर्जी सजिलै यस्ता औषधिहरु दिएको देखियो। कौशलटार, इमाडोल, ग्वार्को र सातदोबाटोका केही फार्मेसीमा पनि यस्तो कारोबार भएको पाइयो।

अस्पताल क्षेत्रका फार्मेसीहरुले बिनापर्चा औषधि दिएनन्। त्यसैगरी मुख्य चोक र चहलपहल हुने क्षेत्रका फार्मेसीले यस्तो कारोबार गर्ने गरेको अस्वीकार गरे। 

एक सातासम्म राजधानीका केही फार्मेसी चाहर्दा यस्ता कारोबार हुने फार्मेसीहरु कम चहलपहल हुने क्षेत्रका भेटिए। उनीहरुको मुख्य आम्दानी स्रोत नै यस्ता औषधि हो।

सिनामंगलमा औषधि व्यवसाय गर्दै आएका एक व्यावसायीले भने, ‘दुनियाले बेच्छन्। म एउटाले नबेचेर के नै हुन्छ? यो बेचेन भने त सटर भाडा तिर्न पुग्ने नै सेल्स हुँदैन।’

त्यस्तै बानेश्वर स्थित एक फार्मेसीबाट जवाफ आयो— ‘औषधि छ तर  हामी पेब्स्क्रिप्सनबिना यस्तो औषधि बेच्दैनौं। डक्टरको पर्चा ल्याउनुस् औषधि लैजानुस्।’


के हेर्दैछ औषधि व्यवस्था विभाग?

औषधि व्यावस्था विभागका महानिर्देशक नारायण ढकाल यस्तो कारोबार भएको थाहा पाए पनि प्रमाणको अभावले कारवाही गर्न नसकेको बताउँछन्। भन्छन,  ‘ यस्तो कारोबार भएको थाहा छ। हाम्रो निरीक्षणमा कतिपय फार्मेसीलाई कारवाही पनि गरेका छौं। तर, जति हुनुपर्ने त्यो हुन सकेको छैन।’
 

प्रहरी भन्छ :  सोचेभन्दा ठूलो छ कारोबार

लागूऔषध नियन्त्रण महाशाखाको प्रमुख ठूले राई औषधिजन्य पदार्थलाई लागूऔषधको रुपमा प्रयोग गर्नेहरु बढेको स्वीकार गर्छन्। प्रहरीको अनुसन्धानले यस्तो प्रयोगकर्ताहरु बढेको देखाउँछ। भन्छन्, ‘हामीले यस्तो प्रयोगकर्ताहरुलाई पक्रेका छौँ। औषधि पनि जफत गरेका छौँ। तर, यसको लागि हामीले औषधि व्यावस्था विभागसँग सहकार्य गरेर काम गर्नुपर्छ। यस्तो प्रयोगकर्ताहरु सोचेभन्दा ठूलो सङ्ख्यामा छन्।’
 

 

औषधि कम्पनीको सेटिङ : डाक्टरलाई टुरदेखि कार, औषधि बिक्रेतालाई थरिथरिका उपहार

 

व्यापार : सिजेरियन डेलिभरी सरकारीमा भन्दा निजी अस्पतालमा किन दोब्बर?

लाशमा आत्मनिर्भर नभएको देश : किन आवश्यक छ मृत शरीर?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell