PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गर्भको व्यापार : सिजेरियन डेलिभरी सरकारीमा भन्दा निजी अस्पतालमा किन दोब्बर?



सागर बुढाथोकी

गर्भको व्यापार : सिजेरियन डेलिभरी सरकारीमा भन्दा निजी अस्पतालमा किन दोब्बर?

अमेरिका – चिकित्सा जगतका नयाँ प्रविधिहरु उपयोग हुने ठाउँ, ‘ब्युटी कन्सस’ महिला पनि उत्तिकै। तर त्यहाँको विगत २५ वर्षको तथ्याङ्क हेर्दा ‘अपरेशन डेलिभरी’ अर्थात् ‘सिजेरियन सेक्सन’ (शल्यक्रिया गरेर बच्चा जन्माउने) को संख्या ३२ प्रतिशतबाट बढी छैन। 

अब एकपल्ट नेपालको तथ्याङ्क हेरौँ। राजधानी काठमाडौँका नाम चलेका दुई निजी अस्पताल नर्भिक इन्टरनेसनल अस्पताल र काठमाडौँ मोडल अस्पतालको प्रसुति तथ्याङ्क हेर्ने हो भने अमेरिकाभन्दा झण्डै दोब्बर बढी अर्थात् ६० प्रतिशत छ।
 
नर्भिक इन्टरनेसनल अस्पतालमा नर्मल डेलिभरीभन्दा सिजेरियन सेक्सन गर्नेहरुको सङ्या र बढी रहेको अस्पतालका डेपुटी जनरल म्यानेजर आरपी मैनाली बताउँछन्। डेलिभरी भएको कूल नम्बरमा ६० प्रतिशत सिजेरियन डेलिभरी हुने गरेको उनले बताए।

त्यसैगरी काठमाडौं मोडेल अस्पतालमा पनि सिजेरियन डेलिभरीको ६० प्रतिशत भएको अस्पताल इन्चार्ज इन्दिरा महर्जन बताउँछिन्। 
यी अस्पतालले सरदर तथ्याङ्क दिए पनि यकिन तथ्याङ्क दिन मानेनन्। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार १० देखि १५ प्रतिशत सिजेरियन सेक्सनको दरलाई आदर्श तथ्याङ्क मानिन्छ। 

सरकारी अस्पतालहरुको तथ्यांक भने ठीक उल्टो छ। सिजेरियन सेक्सन डेलिभरी कम र नर्मल डेलिभरी बढी। यसरी निजी अस्पतालमा सिजेरियन सेक्सन डेलीभरी किन बढेको छ त?
 

सरकारीमा नर्मल डेलिभरी धेरै, निजीमा सिजेरियन

काठमाडौंका अधिकांश निजी अस्पतालहरुमा नर्मल डेलिभरीभन्दा सिजेरियन डेलिभरीको सङ्ख्या बढी रहेको अस्पताल प्रशासनले बताएका छन् । 

टिचिङ अस्पतालमा नर्मल डेलिभरीभन्दा केही थोरै प्रतिशतले मात्र बढी सिजेरियन सेक्सन भएको रेकर्ड शाखाको प्रमुख निलम पोखरेल बताउँछिन्। उनले यकिन डाटा भने उपलब्ध गराइनन्।

थापाथली प्रसुति गृहको ५ वर्षे तथ्याङ्क हेर्दा सिजेरियन सेक्सन डेलिभरीभन्दा सामान्य डेलिभरीको तथ्यांक बढी छ।



आर्थिक वर्ष २०६८–६९ मा २० प्रतिशत, त्यस्तै ६९–७० र ७०-७१ मा २४ प्रतिशत, ७१-७२ मा २६ प्रतिशत र ७२-७३ मा २५ प्रतिशत छ।
 

त्यसैगरी पाटन अस्पतालले उपलब्ध गराएको तथ्यांक यस्तो छ-


 

के हो त सिजेरियन सेक्सन ?

प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्नेहरुको लागि ‘सिजेरियन सेक्सन’ प्रक्रिया हो जुन प्रक्रियाले गर्भवती अवस्थामा असामान्य स्थितिमा रहेको बच्चा तथा आमालाई बचाउन मद्धत गर्छ।

तर, सिजेरियन सेक्सन अहिले सही रुपमा प्रयोग भएको देखिएको छैन।

सिजेरियन सेक्सनको सहायताले व्यापार बढाउने अस्पतालहरु मात्रै छैनन्, ज्योतिषसँग साइत हेरेर बच्चा जन्माउने तथा आफ्नो शरीर फिट राख्नको लागि यो पद्धतिले शल्यक्रिया गर्ने आमाहरु पनि छन्। 

यसको असर बच्चा तथा आमा दुबैलाई पर्ने चिकित्सकहरु बताउँछन्। 

थापाथली प्रसुति गृहका निर्देशक अमिरबाबु श्रेष्ठका अनुसार गर्भवती महिलाले बच्चा जन्माउन नसकेमा पेट वा पाठेघरको मुख चिरेर बच्चा निकालिन्छ भने त्यो सिजेरियन सेक्सन हो। आजकाल पाठेघरको मुख भन्दापनि पेट चिरेर बच्चा निकाल्ने चलन रहेको उनी बताउँछन्। महिलाहरुको मनौवैज्ञानिक कारण अर्थात् योनी सुरक्षित राख्ने मनसायले पेट चिरेर बच्चा निकाल्ने ट्रेन्ड चलेको उनको तर्क छ।

‘सिजेरियन सेक्सनलाई प्राकृतिक जन्म मानिँदैन। बच्चा जन्माउन नसक्ने अवस्थामा बच्चा, आमा वा दुबैलाई बचाउनको लागि यो शल्यक्रिया गरिन्छ,’ श्रेष्ठले भने,  ‘प्राकृतिक भएकाले सामान्य डेलिभरी राम्रो हुन्छ। बच्चा जन्माउन नसक्ने अन्तिम विकल्पको रुपमा यो प्रविधि भित्रिएको हो।’

किन गरिन्छ सिजेरियन सेक्सन? 

काठमाडौँ मोडेल अस्पतालकी इन्चार्ज इन्दिरा महर्जनका अनुसार महिलाहरुको पाठेघरमा कतिपय अवस्थामा भ्रुण असामान्य स्थितिमा हुन्छ। बच्चाको घाँटीमा सालनाल बेरिन्छ। पेटमा बच्चा तेर्सो पनि बस्छ। त्यसैले सिजेरियन डेलिभरी गरिन्छ।

‘महिलाहरुको उचाइ र तौल थोरै भएमा पनि खतरा हुन्छ। पाठेघरको मुख सानो भएमा, पहिला गर्भपतन गरेको वा बच्चा खेर गएको अवस्थामा पनि सिजेरियन सेक्सन गरिन्छ,’ मर्हजनले भनिन्, ‘आमा र बच्चालाई खतरा छ। या नर्मल डेलिभरी गर्न सकिन्न भने सिजेरियन सेक्सन गरिन्छ।’ 

टिचिङ अस्पताल महाराजगंजका प्राविधिक नियन्त्रक रामविक्रम अधिकारी गर्भवती महिला र डाक्टरले रिस्क लिन नचाहेको अवस्थामा पनि सिजेरियन सेक्सन गर्ने गरेको बताउँछन्। 


निजी अस्पतालमा किन यस्तो ?

टिचिङ अस्पतालका प्राविधिक नियन्त्रक अधिकारीका अनुसार साधारण डेलिभरी गर्दा अस्पतालमा लामो समय सुत्केरीलाई राखिँदैन। सिजेरियन शल्यक्रिया गर्दा १ हप्ताभन्दा लामो समयसम्म पनि राख्नुपर्ने हुन्छ। 

‘सिजेरियन शल्यक्रियाको प्रमुख कारण पैसा नै हो। कतिपय अवस्थामा बिरामी नर्मल हुँदासमेत डाक्टर र बिरामीले रिस्क मोल्न नचाहेर पनि शल्यक्रिया गर्छन्,’ अधिकारीले भने, ‘अरु कारण त साइत हेर्ने, शरीर फिट राख्न चाहने र प्रसव पीडा सहन नसक्ने भएको कारणले महिलाहरु सिजेरियन गर्न राजी हुन्छन्।’

काठमाडौ मोडेल अस्पतालको इन्चार्ज मर्हजनको अनुसार अहिले कोही महिलाहरु रिस्क लिन चाहँदैनन्। डाक्टर र अस्पतालहरुपनि रिस्कमा काम गर्न रुचाउँदैनन्। 

‘साइत हेरेर बच्चा जन्माउने, ब्युटी कन्सस हुनेहरु र प्रसव पीडा सहन नसक्नेहरु सिजेरियन सेक्सन गर्न आउने ट्रेन्ड चलेको छ,’ मर्हजन भन्छिन्, ‘तर, उहाँहरुलाई हामी सम्झाउँछौँ। सम्झाउँदा उहाँहरुको निर्णय परिवर्तन भएन भने उहाँहरुले भनेजस्तै हुन्छ। यहाँ मात्र हैन सबै अस्पतालले गर्ने त्यही हो।’

गर्भवती महिला वा बच्चालाई केही खतरा भएमा अस्पताल तोडफोड हुने कारणले पनि आजकाल धेरैजसो सिजेरियन डेलिभरी हुने मर्हजन बताउँछिन्। उनले भनिन्, ‘सबै अस्पतालमा अहिले सिजेरियन डेलिभरी नै बढी हुन्छ। ईपी, भ्याकुम, नर्मल र र्फोसेप डेलिभरी रिस्की छ। त्यसैले सिजेरियन डेलिभरी गर्छन्।’

प्रसुति गृहका निर्देशक श्रेष्ठका अनुसार निजी अस्पतालहरुको मनपरीले साइत हेर्ने, ब्युटी कन्सस महिलाहरुको सिजेरियन डेलिभरी बढ्दो छ।
नर्भिक इन्टरनेशनल अस्पतालका म्यानेजर मैनाली ब्युटी कन्सस हुनेहरु, आफ्नो योनी सुरक्षित गर्ने मनसाय भएकाहरुको कारणले सिजेरियन सेक्सन डेलिभरी बढेको बताउँछन्। 

‘साइत हेरेर बच्चा जन्माउँछु भन्दै डेट दिने, शरीर फिट राख्न चिरेर बच्चा निकाल्छु भन्नेहरु, कोही त एउटा मात्र बच्चा जन्माउने हो रिस्क किन लिनु भन्दै सिजेरियन सेक्सन गर्न आउँछन्,’ मैनालीले दावी गरे, ‘तर हाम्रो आफ्नै नियम छ। हामी बच्चा र आमालाई नर्मल डेलिभरी गराउन खतरा भएमा मात्र सिजेरियन डेलिभरी गर्छौ। अन्य प्राइभेटमा के गर्छन थाहा छैन।’

तर, उनले सिजेरियन डेलिभरी बढी भएको बताएपनि तथ्यांक उपलब्ध गराउन चाहेनन्।

खतरा के छ?

थापाथली प्रसुति गृहका डाइरेक्टर अमिरबाबु श्रेष्ठका अनुसार नर्मल डेलिभरी नै प्राकृतिक हो। सिजेरियनमा कडा एण्टिबायोटिक खानु पर्छ। बच्चाले आमाको दुध चुस्दा दुधसँगै एण्टिबायोटिक पनि जान्छ। ‘जन्मँदै कडा एण्टिबायोटिक खाएको बच्चाको स्वास्थमा नकरात्मक प्रभाव पर्ने त भयो नै,’ श्रेष्ठले सचेत गराए, ‘धेरैजसो प्राइभेट अस्पतालमा नर्मल बिरामीलाई पनि सिजेरियन डेलिभरी गराएको सुनिन्छ। सचेत नहुने हो भने पैसा तथा स्वास्थ्यमा दुबैमा नकरात्मक असर पर्छ।’

नर्भिक अस्पतालका म्यानेजर मैनालीका अनुसार एकचोटी सिजेरियल सेक्सन शल्यक्रिया गरेपछि अर्को पटक नर्मल डेलिभरी गर्न मिल्दैन। पहिलोपटक सिजेरियन सेक्सन गरेको छ भने दोस्रो बच्चा जन्माउन चाहेमा सिजेरियन नै गर्नुपर्छ। त्यसैले सिजेरियन सेक्सन खतरा पनि छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell