PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

औषधि कम्पनीको सेटिङ : डाक्टरलाई टुरदेखि कार, औषधि बिक्रेतालाई थरिथरिका उपहार



सागर बुढाथोकी

औषधि कम्पनीको सेटिङ : डाक्टरलाई टुरदेखि कार, औषधि बिक्रेतालाई थरिथरिका उपहार

काठमाडौँ :  एउटै रोगको लागि एउटा डाक्टरले लामो समयदेखि एउटा औषधि लेखिरहेको हुन्छ भने अर्को डाक्टरले अर्कै। किन ?

वास्तवमा औषधि कम्पनीहरुको सेटिङ यहीँबाट सुरु हुन्छ। औषधिको मूल्य चर्को हुने कारण पनि यही हो। 

अधिकांश डाक्टरहरुले लेख्ने औषधिमा स्वार्थ लुकेको हुन्छ। औषधि व्यवस्था विभागका निर्देशक नारायणप्रसाद ढकालका अनुसार एउटै औषधिको कम्पनी अनुसार बोनस फरक हुन्छ। कसैले बोनस बढी दिन्छन्, कसैले दिँदैनन्। मूल्य पनि कम्पनी अनुसार एउटै हुँदैन।

बोनस धेरै दिने कम्पनीहरुले औषधि बिक्रेतालाई टार्गेट गर्छन् भने कम बोनस दिनेहरुले डाक्टरलाई।

मेडिकल क्षेत्रका जानकारहरुका अनुसार धेरै कम्पनीहरुको टार्गेट औषधि बिक्रेता र डाक्टर दुबै पर्छन्। जसरी कम्पनीले औषधि पसलहरुलाई बोनस दिएर औषधि व्यापार वृद्धि गरिरहेको छन्, त्यसैगरी डाक्टरलाई विभिन्न उपहार दिएर औषधि लेख्न लगाइरहेका छन्।

डाक्टरमाथि यसरी हुन्छ औषधि कम्पनीको लगानी 

ब्रान्डेड कम्पनीले डाक्टरलाई लगानी गरेको कारण साना कम्पनीहरु मारमा परेका हुन्छन्। त्यसैले डाक्टरलाई धेरै लगानी गर्न नसक्ने कम्पनीहरुले औषधि पसलहरुलाई औषधिमा धेरै बोनस दिने गर्छन्। 

कम्पनीले १० देखि १०० प्रतिशतसम्म बोनस छुट्याएको हुन्छ। औषधिको प्रकृति र कम्पनी अनुसार बोनसफरक फरक हुन्छ। जस्तै कुनै औषधि १ बट्टा किन्दा २ स्ट्रिप बोनस आउँछ भने कुनैमा १० स्ट्रिपसम्म बोनस आउँछ। 

यही बोनसकै कारण पनि औषधिको मूल्य बढी परेको हुन्छ ।

बोनससँगै ठूलो भोलममा औषधि ल्याउँदा औषधि पसलेहरुले उपहार पनि पाँउछन् जसको कारण उनीहरु बोनस र उपहार दिने औषधिको औषधि बेच्न आकर्षित हुन्छन्।

धेरै बोनस भएका औषधिहरुमा साधारण पेनकिलरदेखि एण्टिबायोटिकसम्म पर्छ। यी औषधिहरु औषधि पसलेहरुले डाक्टरले नलेखिकन पनि बेच्ने गर्छन्। किनकि, यस्ता औषधिहरु बजारमा सर्वाधिक बिक्री हुने औषधिमा पर्छन्।

बोनस नदिने कम्पनीहरुको टार्गेट भनेकै डाक्टरहरु हुन्। किनकि, डाक्टरहरुले लेखेपछि औषधि बिक्रेताले सजिलै अर्को औषधि रिप्लेस गर्न सक्दैन।

मुटु, सुगर, प्रेसरको औषधिमा डाक्टरले नलेखी मनपरी बेच्न पाइँदैन। त्यसैले कम्पनीले यस्ता औषधिमा बोनस नदिएपनि छुट भने दिएको हुन्छ। मुटु, सुगर र प्रेसरको डाक्टरहरुले औषधि कम्पनीबाट अन्य डाक्टरहरुभन्दा बढी लाभ लिइरहेका हुन्छन्।

औषधि पसलहरुलाई फ्रिज र ब्ल्यांकेट, डाक्टरलाई गाडी र टुर प्याकेज

ड्युटीमा रहेका डाक्टर भेट्न टाइसुट लगाएर अस्पतालमै पुग्ने मानिसहरु धेरैले याद गरेका हुन्छन्। ती औषधि कम्पनीका एमआर (मेडिकल रिप्रेजेन्टेटिभ) हुन्। 

उनीहरुले डाक्टरहरुलाई औषधि लेखाउने सेटिङ र आफ्नो औषधि लेखिरहेका छन् कि छैनन् फलोअप गर्छन्। 

कुन डाक्टरसँग के भइरहेको छ, कम्पनीलाई जानकारी दिन्छन्। त्यसपछि कम्पनीले कुन डाक्टरलाई के गर्नु पर्ने हो, व्यवस्था गर्छन्। एमआरले सेटिङ गर्न नसकेका डाक्टरहरुसँग सेटिङ गर्न कम्पनीको म्यानेजर आफै पनि पुग्नुपर्ने हुन्छ।

औषधि कम्पनीले पसललाई दिने गिफ्टहरुमा ब्लांकेट, कुकर, फ्रिज लगायतहुन्छन्। सामानको भोलुम अनुसार गिफ्टको भोलुम पनि बढ्छ।
काठमाडौँको औषधि कम्पनीमा कार्यरत एकजना एमआर नाम नबताउने शर्तमा भन्छन् ‘कम्पनीले आफ्नो औषधि लेखाउनको लागि डाक्टरहरुको परिवारलाई टुर प्याकेज, सवारी साधन लगायत अन्य विभिन्न सेवा सुविधा प्रदान गर्छ। यस्तो सुविधा लिने अत्यधिक नाम चलेका डाक्टरहरुदेखि साधारण डाक्टरहरु पनि छन्।’

उनका अनुसार भर्खर अध्ययन सकाएर आएका डाक्टरदेखि नाम चलेका पुरानो डाक्टरहरुलाई औषधि कम्पनीले नियमित जसो विभिन्न सेवा सुविधाहरु दिइरहेका छन्। डाक्टरहरुलाई एउटा कम्पनीले दिन छोड्यो भने अर्कोले दिन्छ। र, डाक्टरहरु अर्कै कम्पनीको औषधि लेख्न थाल्छन्,’ उनी भन्छन्, ‘त्यसैले कम्पनीले डाक्टरको परिवारलाई समय-समयमा टुर, कलेजको पढाइ फ्रि गरिदिन्छन्।’

‘सेल्स पुगेन, सामान राखिदिनुपर्यो, भन्दै कम्पनीहरु विभिन्न स्किमहरु लिएर आउँछन्। स्किम लिएर आएका सबैलाई अर्डर दिन सम्भव नै हुँदैन। धेरै उठाउँदा बोनस र स्किम धेरै पाइन्छ किन नउठाउने? आखिर हामीले औषधि बेच्नै पर्छ,’ बानेश्वर फार्मेसीका सञ्चालक भन्छन्, ‘डाक्टरहरुपनि यसरी नै बाध्य भएका हुन्। उनीहरुले औषधि लेख्नैपर्छ। औषधि लेखेको केही सेवा सुविधा दिन्छ भने किन नलिने, एउटाले नलिएपनि अर्कोले लिइरहेको हुन्छ।’

कसले पाउँछन् त गिफ्ट र बोनस?

‘हाम्रो जस्तो सानो फार्मेसीमा एमआरहरु छिर्दैनन्। भन्नेबित्तिकै होलसेलले पनि औषधि ल्याइदिँदैनन्,’ कौशलटार फार्मेसीका सञ्चालक भन्छन्, ‘ठूलो व्यापार र ठूलो रकमको सामान उठाउने ठाउँमा चलखेल हुने त हो नि, हाम्रो सानो व्यापारमा को छिर्छ र।’ 

एमआरहरुका अनुसार कम्पनीबाट यस्तो गिफ्ट र अतिरिक्त बोनसहरु पाउने ठूला औषधि पसल, पोलिक्लिनिक र अस्पतालहरु हुन्छन्। सानो औषधि पसल भने कम्पनीले तोकेको बोनस मात्र पाउँछन्, । किनकि, उनीहरुले ठूलो भोलुममा औषधि उठाउँदैनन्।’

डाक्टरको हकमा पनि कम्पनीहरुले डाक्टरको लोकप्रियता हेरेर उपहारको व्यवस्था गरेको हुन्छ।

कसरी ठगिन्छन् बिरामी ?

औषधि व्यवस्था विभागका निर्देशक नारायणप्रसाद ढकालका अनुसार कम्पनीहरुले डाक्टर र औषधि बिक्रेतालाई करौडौँ खर्च गर्ने रकम औषधिको मूल्यमा लगाउँछन्। प्रलोभनमा परेको रकम उठाउन औषधिको मूल्य बढाउँछन्। 

‘त्यस्ता खर्च जोडेर बनेको औषधि हामीसँग आइपुग्दा तेब्बर मूल्य पर्न जान्छ। डाक्टर र औषधि बिक्रेतालाई गरेको खर्च कम्पनीले बिरामीहरुसँग उठाउँछन्। यसरी नै बिरामी मारमा परेका छन्,’ ढकाल थप्छन्, ‘औषधि कम्पनीको यस्तो कार्य रोक्न हामीले चेतावनी दिएका छौँ। तर, रोकिएको छैन।’

ठूलै रोग नलागी डाक्टरलाई चेकअप गराउने चलन अझैपनि नेपालमा विकास भएको छैन। औषधि पसलमा गएर औषधि माग्ने र फार्मेसिस्टहरुले दिएको औषधि खाने चलन छ। यस्तो गर्दा सही उपचार नपाउने जोखिम हुन्छ भने औषधि पसलले आफूले धेरै बोनस पाउने र फाइदा हुने औषधि दिएर पठाउँछ। त्यस्ता औषधिको गुणस्तरमा विस्वस्त हुन सकिँदैन। किनकि, बोनस भनेको १०० प्रतिसत फाइदा हो। 

के भन्छ औषधि व्यवस्था विभाग?

ढकालका अनुसार औषधि बेच्नको लागि उपहार दिनु गैरकानुनी हो। औषधि बेच्नको लागि उपहारको सेटिङ गर्नु, डाक्टरलाई प्रलोभनमा पार्नु औषधि कम्पनीले गरेको बदमासी हो। त्यस्तो गर्नेलाई कारवाही गर्नुपर्छ।

तर, आजसम्म कुनै कम्पनीलाई कारवाही हुन सकेको छैन। किन त?

‘औषधि कम्पनीले डाक्टरलाई गरेको लगानी सबैलाई थाहा छ। तर, एउटा मात्र निकायले यसलाई कारवाही गर्न सक्दैन,’ ढकाल भन्छन्, ‘डाक्टरहरुलाई खर्च गरेको रकम अन्य खर्चमा जोड्छन्। यस्ता काम लुकाएर गर्ने भएकाले हामीले केही गर्न सक्दैनौँ। हामीसँग कम्पनीहरुले डाक्टरहरुलाई प्रलोभनमा पारेको सूचना नआएको पनि होइन। तर, प्रमाण नभएर केही गर्न सकेका छैनौँ।’

औषधि कम्पनीहरुले डाक्टरहरुलाई विदेश लगेका, धेरै पैसाको प्रलोभनमा पारेको र अत्यन्तै महंगो घर र गाडी जस्ता उपहारहरु दिएका सूचनाहरु प्राप्त भएको ढकाल बताउँछन्। 

‘औषधि ऐन, कालोबजारी ऐन र बिक्री प्रवर्द्धन ऐन यस्तै गलत कार्य रोक्न बनेको हो,’ ढकालले भने, ‘ तर, प्रमाणको अभावमा यी ऐनहरु लागू हुन सकेको छैन।’

प्रमाण प्राप्त गर्न अनुगमन हुनुपर्छ। औषधि व्यवस्था विभागबाट अनुगमन भएको छ त? 

ढकाल भन्छन्, ‘छैन, व्यवस्थित अनुगमन हुन सकेको छैन। हामीले सकेका छैनौँ।


औषधि बिक्री प्रवर्द्धन संहिता २०७३ मा रहेको व्यवस्था

किन हुन सकेको छैन त अनुगमन?

ढकालका अनुसार अनुगमनको लागि आयकर विभाग, सिडियो कार्यालय, मेडिकल काउन्सिल र उद्योग मन्त्रालयहरु सबैको समन्वय हुन जरुरी छ। अत्यन्तै व्यवस्थित र व्यवहारिक अनुगमन भएमात्र रोक्न सकिन्छ। किनकि, उनीहरुले हिसाबमा प्रलोभन खर्च लुकाएर सामाजिक उत्तरदायित्व र अन्यमा जोड्छन्। अनि उपहार दिने, विदेश पठाउने जस्ता काम हामीले थाहा नपाउने गरी गर्छन्।’

‘हामीसँग जनशक्ति अत्यन्तै कम छन्। भएका जनशक्ति त्यता लाग्ने हो भने यताको नियमित काम रोकिन्छ। त्यसैले हामीले नसकेका हौँ,’ ढकालले भने ।

उपहार बोनसमा खर्च गर्न किन बाध्यता?

नेपाली औषधि बजारमा भारतीय ठूला कम्पनीको दबदबा कायम छ। तुलनात्मक रुपमा भारतीय कम्पनीका औषधिहरु डाक्टरले बढी लेख्ने गर्छन्। नेपाली कम्पनीहरु टिक्नको लागि भारतीय कम्पनीको सिको गर्दै उपहार दिने गरेको नेपाली कम्पनीमा कार्यरत एमआरहरु बताउँछन्। 
उनीहरु भन्छन्, ‘भारतीय कम्पनीले औषधि बिक्रेतालाई बोनस र डाक्टरहरुलाई उत्तिकै खर्च गर्छन्। उनीहरुसँग प्रतिस्पर्धा गर्नको लागि हाम्रा कम्पनीहरुले पनि खर्च गर्छन्। तर, उनीहरुको जत्ति खर्च गर्न हाम्रा कम्पनी सक्दैनन्।’

एमआरहरुका अनुसार डाक्टरहरुलाई खर्च नगरी औषधि डाक्टरले लेख्दैनन्। एउटा कम्पनीले खर्च नगरे अर्को कम्पनीले गर्छ।  गरिरहेको छ। बजारमा टिक्न अवस्था हेरेर खर्च गर्नुपर्छ। 

औषधि व्यवस्था विभागको रेकर्ड अनुसार नेपालमा ३२ वटा औषधि कम्पनीहरु सञ्चालनमा छन्। आधी भन्दा बढी बजार भारतीय कम्पनीले ओगटेको छ।

बजारमा नेपाली कम्पनीहरु बीच आफ्नै प्रतिस्पर्धा छ। त्यसको साथसाथै भारतीय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपरेकाले धेरै बोनस दिएर व्यापार बढाउने रणनीति लिएको एमआरहरु बताउँछन्। नेपाली कम्पनीले भारतीय कम्पनीसँग मात्र होइन युरोप र अष्ट्रेलियाको कम्पनीसँग पनि प्रतिस्पर्धा गर्नुपरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell