PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राम सुन्दरको शरणमा म्यानमारका मुस्लिम शरणार्थी



सागर बुढाथोकी

राम सुन्दरको शरणमा म्यानमारका मुस्लिम शरणार्थी

काठमाडौं : सन् २०१२ को अन्तिमतिर कपन भेगमा मुस्लिम मानिसहरु छ्याप्छ्यापी देखिन थालेका थिए। कपन गुम्बाको मुन्तिर मुस्लिम समुदायको मानिसहरुको बसोबास देख्दा राम सुन्दर अधिकारी छक्क पर्थे।

अधिकारीको पुर्ख्यौली घर कपन। त्यहीँ हुर्किएका । ५० वर्ष नाघिसके अहिले त। तर, बुर्खा लाएका महिलाहरु र मुस्लिम भेषका पुरुषहरु त्यो भन्दाअघि कहिल्लै देखेका थिएनन्।

अधिकारी जस्तै त्यस ठाउँका अन्य मानिसहरु पनि अचम्ममा पर्थे। ‘कहाँबाट आए तिनीहरु जसलाई नेपाली समेत बोल्न आउँदैन्,’ सबैको जिज्ञासा त्यस्तै हुन्थ्यो। सबैले तराईबाट बस्न आएका भन्ने बुझेका थिए।



अधिकारी सम्झन्छन्, ‘सुरुमा पाँच छ वटा परिवार आएर कोठा भाडामा लिएर बसेका थिए। कसैलाई थाहा थिएन् उनीहरु को हुन्।’ 

अधिकारीका अनुसार उनीहरु कपनको खेतबारीमा काम गर्थे। घर बनाउने काममा पोख्त थिए। लेवरदेखि पेन्टरसम्म सबैमा फिट। नेपाली सिक्न उनीहरुले गरेको संघर्ष चाखलाग्दो थियो। महिलाहरु कोठाबाट बाहिर ननिस्कने। २ वर्ष बस्दासम्म त्यस भेगका कसैलाई थाहा थिएन्- उनीहरु म्यानमारका शरणार्थी।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको पुल्चोक कार्यालय अगाडि प्रर्दशन भयो। शरणार्थी भत्ता माग गर्दै प्रर्दशन गरिरहेका उनीहरु कपनमा बस्ने मुस्लिम नै थिए।

त्यसपछि बल्ल धेरैले थाहा पाए- उनीहरु म्यानमारबाट विस्थापित भएका रोहिंगा मुस्लिमहरु हुन्। उनीहरुको बास्तविक दु:ख पीडा कपन भेगका बासिन्दाहरुले धेरैपछि बुझेका थिए।

५ जनाको परिवार आएर बसेको त्यस ठाउँमा थुप्रै शरणार्थीहरु थपिएका थिए। बस्न सकस थियो। कोठा पाउँन झनै मुस्किल।

‘शरणार्थी जाफर आलमले आएर मेरो भिरालो जग्गा भाडामा दिन आग्रह गरे। खेतीपाती लगाउने मान्छे थिएनन्। भिरालो जग्गा खासै उत्पादन नहुने। मलाई जस्तै उनीहरुलाई पनि समस्या, अनि दिए,’ अधिकारीले सुनाए, ‘जग्गा नदिने विचार नआएको होइन्। तर, म्यानमारमा भएको हिंसा, रोहिंगा परिवारको विभत्स मृत्यु र लाखौँ विस्थापित भएको देखेपछि मानवताको हिसाबले जग्गा दिएँ। बाँझो बस्ने भिरालो जग्गा उनीहरुलाई दिँदा मलाई घाटा लाग्दैन थियो।’

रोहिंगाहरुले जग्गा पाएपछि स्काइभेटर ल्याएर भिरालो जग्गा मिलाए। टहरा बनाउन मिल्नेगरी जमिन खारे। टिन तथा बास ल्यार टहरा बनाउन सुरु गरे। अधिकारी सुनाउछन्, ‘जग्गा पाएको केही दिनमा उनीहरुले चिटिक्क पारेर टहरा बनाए। बारबेर गरे। वरिपरि सरसफाई गरेर बस्न थाले। घर भाडामा लिएर बसेका उनीहरु एकैठाउँमा बस्न थाले।’



रोहिंगाहरुको बस्नको समस्या समाधान भयो। बाँझो बसेको भिरालो जग्गा उपयोग भयो।

‘शरणार्थीलाई बस्न दिदाँ कसैले केही भनेनन् ?’

यस्तो केही नसाचेको अधिकारी बताउँछन्। २०१२ देखि कोठा लिएर बस्न थालेका उनीहरु आफुले जग्गा नदिए पनि अन्तै बस्ने उनको कथन छ। अधिकारी भन्छन्, ‘मैले जग्गा दिएको २ वर्षमात्र भयो। उनीहरु ५ वर्षदेखि बस्दै आएका छन्। मैले जग्गा नदिँदा पनि बसेकै थिए। मैलै उनीहरुको समस्या बुझेर मानवताको नाताले बस्न दिएको हो। मानवता भन्दा ठूलो अर्को कुनै धर्म हुँदैन।’

राज्यले व्यावस्थापन गरेको भए या नेपाल छिर्न नदिएको भए कसैले  बस्न दिनैनपर्ने अधिकारीको कथन छ।

म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन

...
 
कपनमा अहिले लगभग चारसय रोहिंया शरणार्थीहरु बसोबास गर्छन्। तीमध्ये आधिजसो राममन्दिर नजिकको टहरामा बस्छन् भने बाँकी कपनकै अर्को टहरामा।

वार्षिक १ लाख ५० हजार लिएर २ सय शरणार्थीहरुलाई अधिकारीले जग्गा दिएका छन्। बत्ती अधिकारीले नै दिन्छन्। खानेपानी ट्याङ्करबाट लिएर खान्छन्। अन्य कामको लागि इनारको पानी प्रयोग गर्छन्।

सानो शरणार्थी शिविरमा बिहान ६ बजेदेखि आठ बजेसम्म बच्चाहरु उनीहरुको आफ्नै भाषा पढ्छन्। दिनमा पाँच पटक नमाज पढाइ हुन्छ। स्कुल र मस्जिद उनीहरुले नै खोलेका छन्। केही बच्चाहरु नजिकैको निजी तथा सरकारी विद्यालय गएर पढ्ने गरेका छन्। अधिकारी दिनहुँ त्यस बस्तीमा दुइ पटक पुग्छन्। सबै बस्ती चहार्छन्। सबैको हालखबर सोध्छन्,र फर्किन्छन्। रोहिंगाहरुलाई उनले काम पनि मिलाइदिएका छन्। 



भन्छन्, ‘के गर्दैछन् बुझ्नको लागि जानुपर्छ। यस्तो गर्दा झैझगडा नगर्ने  र सरसफाइमा ध्यान दिन्छन्। त्यसैले सधैँ दुई पटक पुग्छु।’

अधिकारीको अनुसार उनीहरुबीच चाडपर्वमा झैझगडा हुन्छ। रक्सी खाएर होहल्ला नगरे पनि परिवारबीच झगडा गरेको उनले देखेका छन्। उनीहरुको झैझगडा मिलाउन कमिटी बनाइदिएको उनी बताउँछन्। उनीहरुले मिलाउन नसकेको झैझगाडा अधिकारीले आफैले समेत  मिलाइदिएका छन्। 

‘सानो ठाउँ छ। धेरै परिवार बस्छन्। खानाको अभाव। देश छोड्नुको पीडा र दुई परिवार हुनेहरुको झगडा हुन्छ। अधिकारी भन्छन्,  ‘तर, गाउँ समाजलाई असर पर्नेगरी उनीहरुले केही काम गरेका छैनन्। अत्यन्त मिलनसार छन्। आफ्नो काम गर्छन् खान्छन्, अरु केही मतलब राख्दैनन्।’

त्यस ठाउँमा ४ वर्षको लागि एग्रिमेन्ट गरेका रोहिंगाहरुको दुई वर्ष सकिसकेको छ। अबको २ वर्षसम्म पनि म्यानमारको हिंसा अन्त्य हुने देखिँदैन।  ‘अझै कति वर्ष बस्लान त त्यहाँ उनीहरु ?’

दिनहुँ देश फर्कन पाउँ भन्दै प्रार्थना गरेका रोहिंगाहरु देश फर्कने अन्तिम इच्छा रहेको बताइरहेका छन्। म्यानमारमै सर्वस्व छोडेर आएका उनीहरुलाई यहाँ बस्न खान सबैको समस्या छ। अधिकारी भन्छन्, ‘अहिलेसम्म उनीहरुले केही नराम्रो गरेका छैनन्। अब उनीहरुले चाहेसम्म बस्न सक्छन्। केही नराम्रो गरे भने जैले पनि यहाँबाट हटाउन सकिन्छ।’

म्यानमारमा सुरु भएको हिंसाले गत अगस्ट २५ देखि अहिलेसम्म तीन लाख सत्तरी हजार भन्दा बढी रोहिंगाहरु विस्थापित भए भने हजारौले ज्यान गुमाइसकेका छन्। म्यानमारमा सन् २०१२ देखि जातीया हिंसा सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell