Apr 26, 2024 | १४ बैशाख २०८१

म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन

सागर बुढाथोकी/पहिलोपोस्ट

काठमाडौं : कपन बालुवाखानीस्थित राम मन्दिर नजिकै पुग्दा ठूलो स्वरमा महिला रोएको आवाज सुनियो। मानिसहरु त्यहाँ भेला हुँदै थिए।

त्यहाँ पुग्दा एक महिला भुइँमा टाउको ठोक्काएर रुँदै थिइन्। 'अल्लाह,’ उनको मुखबाट निस्किँदै गरेको पुकार।
 
अल्लाहको नाम लिएर अलापविलाप गरेको १० मिनेटपछि बोली ठप्प भयो। बेहोश भइन् उनी। 

म्यानमारकी शरणार्थी सबुरा बेगम हुन् यिनी। उनीजस्ता ३ सयभन्दा बढी म्यानमारका रोहिंगा शरणार्थी कपनमा विगत ५ वर्षदेखि बस्दै आएका छन्।

अल्लाहको नाम लिँदै बर्बराइरहेकी सबुराको बुवा, आमा र भाइलाई गएको आइतवार आरकान रोहिंगा बोलिबजारमा सेनाले गोली ठोकेर  मारे। म्यानमार छाडेर भाग्ने क्रममा बंगलादेशको सिमानामा उनीहरूलाई गोली लागेको थियो। 

खबर पाएपछि सबुरा बेहोश भइन्। सबुरा २ महिनाअघि मात्रै म्यानमारबाट बंगलादेश, भारत हुँदै श्रीमानसँग नेपाल छिरेकी थिइन्।

म्यानमारमा हिंसाले बस्न नसकेपछि ५ महिने गर्भवती उनी ज्यान बचाउनकै लागि नेपाल आएकी हुन्।

म्यानमारमा बुद्धिस्ट र मुस्लिम समुदायबीच हिंसा भड्किएको पनि लामो समय भइसकेको छ। मुस्लिमको रोहिंगा समुदायका मानिसहरु हिंसाकै कारण मुलुकबाटै विस्थापित भइसकेका छन्। बंगलादेश, थाइल्याण्ड, साउदी अरेविया, पाकिस्थान र मलेसियाजस्ता देशहरुमा उनीहरु शरणार्थीका रुपमा पुगेका छन्।

दुई साताभित्र मात्रै  ९० हजार रोहिंगा समुदायका मानिसहरु म्यानमारदेखि विस्थापित भए। त्यसैगरि सरकारी सेनाको आक्रमणमा ३ सय ७० जनाको मृत्यु भएको बिबिसीले बताए पनि यो भन्दा ठूलो सङ्ख्यामा रोहिंगा समुदायका मानिसहरु मारेको उनीहरुको आरोप छ। म्यानमारबाट भागेर आउने क्रममा बंगलादेशको नदीमा डुबेर ज्यान गुमाउने उत्तिकै छन्।

...

‘इद मुबारक’ 

मुस्लिमहरुको महान चाँड इदको दोस्रो दिन जताततै यस्तै आवाज आइरहेको थियो।

सबुरा रोइरहेको नजिकैको टहरामा थिए २९ वर्षीय जाफर आलम र अबुद टाकरे।

त्यो सानो टहरा भित्र एउटा सिंगै घर अटाएको थियो। किचेन, बेडरुम, स्टोर। साघुँरो टहराभित्र बालबालिका भरिभराउ थिए। छानोबाट पानी चुइरहेको थियो। भुइ हिलाम्मे भएकाले चिसो थियो।

म्यानमारबाट नेपाल छिर्ने उनीहरु पहिलो लटका शरणार्थी।

‘नेपाल किन त ?’

‘आमाको काखबाट नाबालाक बच्चा खोसेर आमाकै अगाडि घाटी रेटेर मारिदिन्छ।’

‘बुवा आमाको हातखुट्टा बाधेर जवान छोरीको बलात्कार गर्छ।’ 

‘सपरिवार घरमा बसिरहेको बेलामा बाहिरबाट चुकुल लगाएर आगो लगाइदिन्छ।’

‘खेतमा लगाएको बाली नाली, घरका अन्न पात र पालेका जनावर सबै लुटेर लान्छ।’

एकपछि अर्को घटनाको बेलिबिस्तार लगाउँदै उनीहरुले सुस्केरा काट्दै भने, ‘अब तपाईँहरु नै भन्नुस् त्यस्तो ठाउँमा कसरी बस्नु? आँखा अगाडि आफ्नै मान्छेहरुलाई धमाधम बिभत्स तरिकाले मारिरहेको छ।’

‘मान्छेले मान्छे त्यसरी मार्छ ?’

प्रश्न खस्न नपाउँदै जाफरले मोबाइल झिकेर फोटोहरु देखाउन थाले। 

‘ओहो ! बिभत्स ! 

फोटो हेर्न समेत कठिन। 

बच्चाहरु एकै ठाउँमा राखेर घाटी छिनाएको। महिलाहरुलाई बलात्कार गरेर शरीर टुक्राटुक्रा पारेको। चक्कुले जथाभावी हानेर मारेको। खरानी पारिएका घर । शब्दमा व्यक्त गर्नसमेत कठिन दृश्य। 


किन भयो त यस्तो हिंसा?

म्यानमारमा मुस्लिमहरु बस्ने र्याकेनस्टेट भन्ने ठाउँ छ। त्यहाँ ५० लाखभन्दा बढी मुस्लिमहरु छन्। म्यानमारको कूल जनसङ्ख्याको ३० प्रतिशत मुस्लिम र ७० प्रतिशत बौद्ध, हिन्दु र अन्यहरु थोरै सङख्यामा छन्।

सन् २००७ मा भएको एउटा बलात्कार र हत्याको काण्डमा जातिय रङ दिइयो। त्यसले हिंसा यसरी भड्कियो कि मानिस मार्नु र मर्नु सामान्य हुन थाल्यो। सरकारले हिंसा नियन्त्रणमा लियो तर फेरि त्यही घटनालाई लिएर २०१२ मा मुस्लिमहरुलाई निशाना बनाउन थालियो। 
त्यसपछि मुस्लिमहरु मारिए। बिस्थापित भए। परिवारहरु छिन्नभिन्न हुन थाले। बेपत्ता भए। एउटै परिवारका सदस्यलाई अमानवीय तरिकाले आँखैसामु मारेको हेर्नेहरु पागलसमेत भए। तर, हिंसा रोकिने छाँटकाँट देखिएन।

‘त्यसैले हामी भाग्यौ,’ जाफर भावुक बने, ‘तिमीहरु बंगाली हौ, पाकिस्तानी हौ। हाम्रो देशको होइनौ भन्दै मार्छन्। कुट्छन्। लखेट्छन्। जबकि हाम्रो त्यस ठाउँमा धेरै पुरानो इतिहास छ।’
...
म्यानमारबाट १ दिन हिडेपछि उनीहरु बंगलादेशको बोर्डर आइपुगे।  ‌बंगलादेशको बोर्डर अइपुग्न खोलानाला पार गर्नुपर्ने। बासको ढुंगाबाट पार हुनु कम खतरा रहेन।  

जसोतसो उनीहरु बंगलादेश छिरे। बोर्डरमै १० दिन काम गरे। त्यसपछि दलाललाई पैसा खुवाएर भारत छिरे।

भारतको सातकिरामा आएर उनीहरुले कृषि मजदूरका रुपमा काम गरे। तर ७ दिनमै हिँडे। जाफरले भने, , ‘मलाई हिन्दी आउँदैन थियो। त्यहाबाट बिहार हुँदै युपी आइपुगेँ।’

युपीमा उनले ३ जना बर्मेली परिवार भेटे। त्यही मिट फ्याक्ट्रीमा काम गर्न थाले। साढे २ महिना काम गरेपछि प्रहरीले उनीहरु सबैलाई समात्यो। कागजात माग्न थाल्यो।

म्यानमारमा घर जलाइदिएका थिए। धनसम्पती सबै लुटेका थिए। बुवाआमा बेपत्ता। एकसरो लुगाकै भरमा भागेर आएका उनीसँग कागजात हुने कुरा भएन।

प्रहरीले २ दिनभित्र ठाउँ छोड्ने समय दियो। ठाँउ नछोडे आतंकारी भनेर पक्रेर जेल हाल्ने बताएपछि ठाउँ छोड्नुको बिकल्प थिएन्। कहाँ जाने के गर्ने उनीहरु दोधारमा थिए। तीन परिवारका गरेर उनीहरु ११ जना थिए सँगै।

त्यति नै बेला जाफरले गोर्खाका एक नेपालीसँग भेटे। ति नेपालीसँग जाफरले २ महिनासँगै काम गरेका थिए। उनैले नेपाल जाउ सुरक्षित भइन्छ भन्ने सुझाब दिए। नेपाल जाने  रुटको बेलिबस्तार लगाएर कापीको पानामा नक्सा बनाएरै पठाए। ‘त्यतिबेला भाषाको समस्याले ती नेपालीको नाम सम्झन सकिन्। मलाई काठमाडौँ भन्न पनि आउँदैन थियो,’ जाफरले सुनाए।

जाफरसँगै तीन परिवारका ११ जना जोगबनी, बिराटनगर हुँदै काठमाडौँ भित्रियो। 

काठमाडौं घण्टाघरस्थित मस्जिदमा आएर सम्पर्क गरे। त्यहाँबाट संयुक्त राष्ट्रसंघको कार्यालय पुगे। शरणार्थी परिचय पत्र बनाए। मस्जिदले खान दिन थाल्यो।

मुस्लिम भएकाले जहाँ पायो त्यही बस्न मिल्दैन थियो। उनीहरुको श्रीमती र बच्चाहरुलाई राष्ट्रसंघकै सहयोगमा होटलमा बस्ने व्यवस्था मिल्यो। उनीहरु होटेलमा बस्न थाले।

सधै त्यसैगरि बस्न सम्भव थिएन्। त्यसपछि उनीहरु कोठा लिएर बस्न थाले।

शरणार्थी परिचयपत्र साथमा थियो। मासिक ४ हजार रुपैयाँ मिल्थ्यो। त्यही पैसाले गुजारा गरे। भाषाको समस्याले काम पाउन मुस्किल।
सन् २०१४ बाट यूयनले पैसा दिन पनि छाड्यो। 

म्यानमारमा हिंसा नरोकिएकाले उनका ठाउँका मानिस उनीसँग सम्पर्क गर्दै आउँदै थिए। बस्न खान बिजोक भइसकेको थियो। कोठा भाडामा लिएर बस्न पनि उत्तिकै महँगो।

‘बंगलादेशको जेलमा ५० हजारभन्दा बढी हाम्रा साथीहरु छन्। भारतको जेलमा ६ हजारभन्दा बढी। असुरक्षा छ त्यहाँ।  त्यही भएर सबै जना नेपाल आउन चाहन्छन्,’ जाफरले भने, ‘आफ्नो देशजस्तो अन्त कहाँ हुन्छ र! सर्वस्व छोडेर आएर यस्तो टहरामा बस्नु परेको छ। आफ्नो देशमा आफन्तहरु विभत्स तरिकाले मरेको खबर सुन्नु परेको छ।’

कोठा लिएर बस्न मुस्किल भएपछि अहिले उनीहरु कपनमा ८५ परिवारको तीन सय जनाभन्दा बढी मानिसहरु टहरा बनाएर बसिरहेका छन्। उनीहरुले वर्षामा १ लाख ८५ हजार भाडा बुझाउनुपर्छ। 

कपनमै उनीहरु बच्चाहरु पढाउने स्कुल खोलेका छन्। मस्जिद त्यहीँ बनाएका छन्। घण्टाघरको मस्जिदले केही बालकलाई पढाउन सहयोग गरेको छ। यहाँ जन्मेका बच्चाहरुको कुनै कानुनी कागजात छैन्। 

यहाँ बस्ने सबैको कथा उस्तै छ। परिवारहरु गोली लागेर मरेका खबर पाइरहेका छन्। छोरीहरु बलात्कृत भएका छन्। 

जाफरले बताए अनुसार बंगलादेश र भारतभन्दा नेपाल बस्नको लागि सजिलो छ। खान बस्न र टहराको चीसो भुइँमा सुत्नुपरे पनि प्रहरी प्रशासनले समातेर जेल हाल्दैन।

‘युएनले हामीलाइ बाँच्न पनि दिएन मर्न पनि दिएन्। पराई देशमा काम पाउन गाह्रो छ। हाम्रो देशको समस्या समाधान गर्न पहल गर्दैन्,’ जाफरले भने, ‘कहिले आफ्नो देश पुगुँ भएको छ। त्यत्रो सर्वस्व त्यहीँ छ। तर, के गर्नु आफ्नै देशले नहेरेपछि अरुले सहयोग गरेर के आशा गर्नु?’

सबै फोटोहरु : गगन थापा


ट्रेन्डिङ पोस्ट

Ncell