PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ज्यान जोगाउँदै म्यानमारबाट अनायास छिरेका नुर जो नेपालकै ज्वाइँ बने



सागर बुढाथोकी

ज्यान जोगाउँदै म्यानमारबाट अनायास छिरेका नुर जो नेपालकै ज्वाइँ बने

काठमाडौं : नुर मोहम्मदले सोचेका थिएनन् - शरणार्थी बन्नुपर्ला। न त नेपाल छिर्ने नै कल्पनामा थियो। अझ नेपालीसँगै बिहे त अकल्पनीय। नेपालकी समसिरी कातुको पनि कल्पनामा पनि थिएन् – कुनै दिन एउटा अर्कै देशबाट भित्रिएको शरणार्थीसँग उनको बिहे हुनेछ।

तर, दुवैले नसोचेको भयो। 

म्यानमारमा हिंसा भड्कियो। नुरको जीवनले बाटो मोड्यो। उनी अनेक हण्डर खाएर नेपाल आइपुगे। विभिन्न ठाँउमा बस्दै कपनस्थित रोहिंगा शरणार्थी बसेको ठाउँमा पुगे।

यही भयो नुरको बिहे समसिरीसँग।

कपन बालुवाखानीमा रोहिंगा शरणार्थी बसेको ५ पाँच वर्ष भइसकेको छ। म्यानमारबाट विस्थापित भएका तीन सयभन्दा बढी रोहिंगा शरणार्थी बस्ने उक्त ठाउँ भोक र शोकले विक्षिप्त छ।

म्यानमारमा भड्किएको हिंसामा उनीहरुको आफन्तहरु मरिरहेका छन्। कतिका पूरै परिवार मरेका छन्। कतिका बाउआमा। कतिपय शरणार्थी बंगलादेशमा खाना नपाएर बिचल्ली परेका छन्।

हरेक व्याक्ति  पीडित छन्। उनीहरुसँग सुनाउँन पिडाँ बाहेक केही छैन्। दैनिक ५ पटक देश फर्कन पाउँ भन्दै नमाज पढ्नुको विकल्प पनि छैन्।

...
 
कपनको सानो टहराका मानिसपिच्छे कथा फरक छ। व्याथा फरक। 

त्यही क्याम्पमा बस्छन्, रोहिंगा नुर मोहमद। 

मोहम्मदको बिहेको कथा जति रोचक छ त्यति नै जीवन कथा दुःखद्।

नुर म्यानमारमा हिंसा भड्किएपछि भागेर बंगलादेश आए। बंगलादेशमा आएपछि कता जाने के गर्ने दोधारमा थिए। बुवा साउदीमा रहेकाले उनलाई उतै बोलाए। कागजपत्र केही थिएन। साउदी कसरी जाने उनी दोधारमा थिए।

साउदीबाट नै नुरको बुवाले बंगलादेशमा सेटिङ मिलाए। सबै कागजात नुरको हातमा पर्यो। बंगलादेशको विमानस्थलबाट उनी साउदी लागे।
तर, दुबई ट्रान्जिटमा प्रहरीको पक्राउमा परे।  किन पक्राउ परेको केही थाहा थिएन्। त्यहाँबाट फिर्ता पठाइदियो। विमानस्थलबाट झर्दा उनी बंगलादेशमा थिएनन्। 

प्रहरीहरु अर्कै देखिन्थे। उनी जेलमा थुनिए। भाषाको समस्याले केही बुझ्न सकेका थिएनन्। ‘कहाँ के गर्दैछु केही थाहा थिएन्। पछि बुझ्दा मलाई दुबईबाट नेपाल फर्काएको रहेछ,’ उनले भने, ‘मलाई डिल्लीबजारको जेलमा राखेको रहेछ।’

‘कसरी आइपुगे त नेपाल?’

सलिमलाई बंगलादेशको मेनपावरले २ वटा पासपोर्ट दिएको थियो। एउटा बंगाली र अर्को नेपाली। त्यही कारण उनी पक्राउ परे। दुवई पुलिसले नेपाल फिर्ता पठाइदियो।

‘श्यामसुन्दर साततले। जनकपुर ठेगाना। हिन्दु भनेर उल्लेख थियो नेपाली पासपोर्टमा। बंगाली पासपोर्टमा मुस्लिम,’ नुर सम्झिन्छन्, ‘जेलबाट निस्केपछि सबै कुरा बुझेँ। हाम्रो देशमा झनै हिंसा भड्किएको थियो।’

साउदीबाट नुरको बुवाले ५० हजार पठाइदिए। १ महिना जेल बसेर धरौटीमा छुटे। त्यसपछि १८ महिनासम्म तारेख।

जेलबाट निस्केपछि उनलाई एकजना नेपालीले सहयोग गरे। तिनै नेपालीको घर नारानस्थानमा बसे। उनैको माध्यमबाट युएनको सम्पर्कमा पुगे। युएनले शरणार्थी परिचयपत्र बनाइदियो। मासिक ५ हजार ४ सय पाउँथे। त्यो पनि सन् २०१४ बाट युएनले बन्द गरिदियो।

जेलमा बस्दा टिभीले समात्यो। महाराजगन्ज शिक्षण अस्पतालबाट उपचार गरेपछि ठीक भयो। जीवन त्यसरी नै बित्दै थियो। म्यानमार फर्कन सम्भव थिएन्। हिंसा झनै बढ्दै थियो।
एक्लो जीवन जे जसो गरे पनि चल्थ्यो। तर, सधैँ एक्लै बसिरहन सम्भव थिएन्। उनको मनले जोडी खोजिरहेको थियो।

जेलबाट निस्केदेखि उनी समसिरीको घरमा थिए। समसिरीको बुवाको शान्ति सेवा कार्यालय थियो। नुर त्यही संस्थामा सहयोग गर्थे। नुरले बस्न, खान पाएका थिए भने समसिरिको बुवाले सहयोगी।

‘एक्लो जीन्दगी बिताउँन कठिन थियो। एकदिन मैलै समसिरीको बुवालाई बिहे गरिदिन आग्रह गरेँ। मेरो अभिभावक जस्तो हुनुहुन्थ्यो उहाँ। बुवा साउदीमै मरिसकेका थिए,’ नुरले सम्झिए, ‘उनको बुवाले नाई भनेनन्। शरणार्थी हुदाँ हुँदै समसिरीले पनि अस्वीकार गरिनन्। सामान्य तरिकाले हाम्रो बिहे भयो।’

२०१२ मा नेपाल छिरेका उनको २०१४ मा बिहे भयो। 

‘मागी कि प्रेम विवाह?’

नुर र समसरिको प्रत्येक दिन भेट हुन्थ्यो। बोलचाल बन्द। एकले अर्कोलाई हेर्थे, मुस्कुराउँथे। आफ्नो काम गर्न आफ्नो बाटो लाग्थे। नुरले समसिरीलाई मनमनै मन पराइसकेका थिए। व्यक्त गर्न सकेका थिएनन्। त्यसैले बुवाआमाको सहारा लिएका थिए।

समसिरीले मन पराउँथिइन कि नाई उनलाई थाहा थिएन्। उनी भने मनमनै फिदा भइसकेका थिए।

सर्लाही घर भएकी समसिरी पढ्नमा तेज थिइन्। उनी नेपाली, अंग्रेजी, हिन्दी र उर्दु भाषा समेत बोल्छिन्। कोही टहरामा नयाँ मानिस आए बोल्ने पनि उनी नै हुन् अघि सर्ने।  

‘मायामा हुनुहुन्थ्यो दुवैजना?’

समसिरी लजाइन्। नुरले मुस्कुराउँदै भने, ‘मागी बिहे भए पनि हामीमा प्रेम थियो। देखादेख मात्र भएको कहिल्यै नबोल्ने शरणार्थीसँग नत्र उनले किन बिहे गर्थिन्? मजस्तै मनमनै उनले पनि मलाई प्रेम गर्थिन्।’

नुरले यस्तो भनिरहँदा बुर्काले मुख छोप्दै समसिरी लजाइन्। केही प्रतिक्रिया नदिइकन टहरोभित्र छिरिन्।
भित्रैबाट भनिन्, ‘हो हाम्रो प्रेम थियो। त्यसैले बिहे सम्भव भयो।’
  बिहेपछि उनीहरु नारनस्थानबाट आकाशेधारा बसे। आकाशेधारामा बस्दा बस्दै कपनमा आएर बस्न थाले। कपनमा आएको पनि २ वर्ष पुगिसकेको छ।

नुर अबको तीन महिनापछि बुवा बन्दैछन्। समसिरी आमा। त्यसैले नुरले अहिले धेरै मेहनत गर्नुपरेको छ। उनी बिहान कामको खोजीमा निस्कन्छन्। घर बनाउने लेबरदेखि सिमेन्ट बोक्ने भरियाको काम गर्छन्। अहिले उनी पेन्टिङको काम गरिरहेका छन्। 

भन्छन्, ‘जिम्मेवारी बढेको छ। नेपालमा आएर श्रीमती पाएँ। सन्तान हुँदैछ। म्यानमारमा शान्ति भयो भने म्यानमार त फर्कनै पर्छ। नेपाल छोडे पनि नेपालसँग साइनो रहिरहन्छ। नेपालको लागि पनि केही योगदान गर्न पाए अल्लाह खुशी हुने थिए।’
समिसरी म्यानमार पुग्न आतुर रहेको बताउँछिन्।

‘मलाई म्यानमार जान मन लागेको छ। आफ्नो श्रीमानको देश पुग्न कसलाई मन नलाग्ला र?’ समसिरी सुनाउँछिन्, ‘अहिले त्यहाँ रोंगियाहरुलाई अनागरिक घोषणा गरेको सुन्छु। श्रीमानले अनेक दृश्यहरु देखाउनुहुन्छ। यहाँ बस्नेहरुको आफन्त मरेकाले दिनहुँ रुवावासी चल्छ।  तै पनि मलाई श्रीमानको देश जान मन लागेको छ।’

म्यानमारमा भएकी नुरको आमा हिजो मात्र कपन आएकी छिन्। म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल छिरेकी हुन्। म्यानमारको सर्वस्व त्यागेर उनी नेपाल छिरेकी हुन्।

फोटो सौजन्य : गगन थापा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell