PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एक महिना नपुग्दै ३७ रोहिंगाहरु नेपाल छिरे, गृह मन्त्रालय भन्छ : कोही छिरेको छैन



सागर बुढाथोकी

एक महिना नपुग्दै ३७ रोहिंगाहरु नेपाल छिरे, गृह मन्त्रालय भन्छ : कोही छिरेको छैन

काठमाडौं : गत अगष्ट यता म्यानमारमा हिंसा बढेपछि रोहिंगा शरणार्थी नेपाल आउने क्रम बढ्दो छ। २५ अगस्ट देखि अहिलेसम्म बंगलादेशको बाटो हुँदै नेपाल छिरेका ३७ जना शरणार्थी त कपनभित्रै छन्। कपन राममन्दिर क्याम्पमा बस्ने जाफर आलम दिनहुँ नयाँ नयाँ रोहिंगाहरु भित्रिरहेको स्वीकार्छन्।

तर, गृह मन्त्रालयका प्रवक्ता राम कृष्ण सुवेदी आङ साङ सुकी म्यामारको प्रधानमन्त्री भएयता रोहिंगा नेपाल नछिरेको दावी गर्छन्। पहिला नै छिरेका  रोहिंगाहरु कपनमा बस्दै आएको उनको तर्क छ। नेपालमा रोहिंगाहरु कहाँ के गर्दैछन् र कति आए आधिकारिक तथ्यांक भने सरकारसँगै नभएको उनले स्वीकारे। 

‘नेपालमा भुटानी र तिब्बती शरणार्थीको तुलनामा उनीहरु थोरै छन्। जति छिर्नु छिरे। अब कोही रोहिंगा अवैधानिक रुपमा नेपाल छिर्न पाउँदैनन्। सीमानामा कडाइ गरिएको छ,’ सुवेदीले भने,  ‘रोहिंगाहरुको लागि सरकारले के गर्ने कुनै निर्णय भइसकेको छैन्। उनीहरुको बारेमा उठ्न थालेको छ। अब छलफल गरेर के गर्ने निर्णय हुन्छ।’

सुवेदीको दावी गलत भएको कपन शरणार्थी क्याम्पमा पुग्ने जो कोहीलाई थाहा हुन्छ। क्याम्पमा बस्ने रोहिंगाहरु को कहिले आयो, कति आए र अब कति आउँदैछन् आफै बताउँछन्। लुकाउँदैनन्।

कपन क्याम्पमा बस्दै आएका आलमका अनुसार अझै रोहिंगाहरु नेपाल आउँदैछन्। ज्यान बचाउनको लागि नेपाल आउनुको विकल्प नभएको उनको तर्क छ। ‘अझै थुप्रै रोहिंगाहरु भारत हुँदै नेपाल आइरहेका छन्। बंगलादेश र भारतभन्दा बस्न सुरक्षित र आफन्तहरु नेपालमा भएकाले उनीहरु आउँदै छन्,’ आलमले सुनाए।

आलम तिनै व्याक्ती हुन्, जो सन् २०१२ मा अन्य ११ जना साथीहरुसँग बंगलादेशबाट भारत हुँदै नेपाल छिरेका थिए। 

बंगलादेशबाट भारत छिर्न मुस्किल भए पनि भारतबाट नेपाल सजिलै छिर्न सक्ने आलम बताउँछन्। आलम भन्छन्, ‘बसेको यत्रो वर्ष भयो कसैले सोधपुछ गरेको थिएन्। हिजो चाहिँ प्रहरी आएर सबै सोधेर लेखेर गएको छ।’

नेपालमा २०१२ मा बंगलादेशबाट भारत हुँदै थुप्रै रोहिंगा शरणार्थी भित्रिएका छन्। कपनमा २ वटा क्याम्प बनाएर तीन सय ७८ जना शरणार्थी बसोबास गरिरहेका छन्।

शरणार्थी खुलेआम बस्नुले नेपाली समाजमा असर पर्न सक्ने आवाज समेत उठ्दै आएको छ। रोहिंगा शरणार्थी व्यावस्थापनको लागि सरकारले अहिले सम्म कुनै ठोस कदम चालेको छैन्।

गृह मन्त्रालयका प्रवक्ता सुवेदीले भनेजस्तो नेपालले सीमाना कडाइ गर्न सम्भव छैन्। भारतसँगको खुला सीमाका कारण आवतजावत सजिलो छ। सीमानाका प्रहरीले रोहिंगाहरुलाई भारतीय ठानेर खासै सोधपुछ गर्दैनन्। 

बंगलादेशमा अगस्ट २५ देखि अहिलेसम्म तीन लाखभन्दा बढी रोहिंगाहरु ज्यान जोगाउन बंगलादेश छिरिसकेका छन्। बंगलादेश हुँदै भारतमा छिर्नेहरु ५० हजारभन्दा बढी नाघिसके। भारतमै भएका रोहिंगाहरु सजिलै नेपाल छिर्न सक्छन्। भारतमा भएका रोहिंगाहरु नेपाल छिरे भने के होला? अहिले धेरै नेपालीको चासो र चर्चाको विषय यही बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell