काठमाडौं : सन् २०११ मा एकै साता दुईपटक सगरमाथाको आरोहण गरी रेकर्ड बनाएकी महिला आरोही छुरिम शेर्पाको नेतृत्वमा दिवंगत अस्ट्रेलियन खेलाडी फिलिप ह्युजको ब्याट र जर्सी सगरमाथा लगिने छ।
वसन्त चौधरी फाउन्डेसनले ह्युजको सम्मानमा हुन लागेको ६३ ओभरको एक दिवसीय क्रिकेट खेलको टाइटल स्पोन्सर गर्ने भएको छ। स्पोन्सर रकम १५ लाख रुपैयाँको रहेको नेपाल क्रिकेट संघ (क्यान)की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बताइन्।
गत नोभेम्बरमा खेलका क्रममा बाउन्स बलले टाउकोमा बल लागेर निधन भएका ह्युजको सम्मानमा अष्ट्रेलियन खेलाडी र नेपाली खेलाडी सम्मिलित खेल हुने यसअघि नै निर्धारण भएको थियो।
खेलपछि उनको ब्याट र जर्सी सगरमाथा लगिने कार्यक्रम छ।
त्रिवि मैदानमा चैत २८ गते हुने खेलका लागि क्रिकेट अष्ट्रेलियाका चेयरम्यान नेपाल आउने पक्का भइसकेको छ। उक्त खेलका लागि चेयरम्यान वाली एडवार्डका साथमा न्यु साउथ वेल्स तथा सिड्नी थण्डरका खेलाडी रायन कार्टरले पनि खेलमा सहभागिता जनाउने पक्का भएको क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जनाएकी छिन्।
नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले अष्ट्रेलियन क्रिकेट बोर्ड र ह्युजको परिवारसामु राखेको प्रस्ताव उनीहरुले स्वीकार गरेका थिए।
क्यानका निमित्त अध्यक्ष दीपक कोइरालाले 'यो प्रतियोगितामा वसन्त चौधरी फाउन्डेसनको सहयोग महत्वपूर्ण भएको' बताए।
महिला आरोही छुरिम शेर्पा। फोटो साभारः सिएनएन
सम्बन्धित समाचार:
ह्युजको ब्याट सगरमाथा लगिने, नेपाल-अस्ट्रेलियाबीच ६३ ओभरको म्याच हुने
चैत २८ गते नेपाल र अष्ट्रेलियाबीच ६३ ओभरको क्रकेट म्याच
ह्युजको सम्मानमा क्रिकेट, अष्ट्रेलियाका चेयरम्यान र यु-१९ का पूर्व कप्तान आउने
