PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ह्युजको ब्याट सगरमाथा लगिने, नेपाल-अस्ट्रेलियाबीच ६३ ओभरको म्याच हुने



ह्युजको ब्याट सगरमाथा लगिने, नेपाल-अस्ट्रेलियाबीच ६३ ओभरको म्याच हुने

  • अनन्त कोइराला/पहिलोपोस्ट-
काठमाडौँ : अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजलाई श्रद्धाञ्जलि दिन उनको ब्याट र जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथा लाने र अस्ट्रेलिया र नेपालबीच ६३ ओभरको म्याच खेल्न क्यान सिइओ भावना घिमिरेले राखेको प्रस्ताव क्रिकेट अस्ट्रेलियाले स्वीकार गरेको छ। 

घिमिरेले पहिलोपोस्टलाई भनिन्, 'ह्युजको अन्त्येष्टिअगाडि नै हामीले क्रिकेट अस्ट्रेलियालाई यस्तो प्रस्ताव पठाएका थियौँ। हाम्रो प्रस्तावमा उनले प्रयोग गरेको जर्सी संकलन गरी ब्याटसँगै सगरमाथा लाने योजना थियो। हाम्रो योजना युनिक भएकोले उनीहरुले मन पराए।' 

खेल्दै गर्दा बल लागेर घाइते भएका ह्युजको निधन मंसिर ११ गते भएको थियो।
 
क्रिकेट अष्ट्रेलियाका चेयरम्यान वाली एडवार्डले ह्युजको परिवारको स्वीकृतिमा प्रस्ताव स्वीकार गरिएको बताए। आगामी मार्च/अप्रिल हुने सगरमाथा आरोहणको क्रममा उनको ब्याट सगरमाथा पुर्‍याउने तयारी छ।

नेपाल र अस्ट्रेलियाबीचको ६३ ओभरको श्रद्धाञ्जलि म्याचको मिति तोकिन बाँकी रहेको घिमिरेले बताइन्। नेपाली टोली डिभिजन २ को तयारीका लागि दक्षिणा अफ्रिका जाँदैछ। 

'डिभिजन २ का खेल सकिएपछि श्रद्धाञ्जलि म्याचको मिति तय गरिनेछ', घिमिरे भनिन्, 'अस्ट्रेलियन बोर्डले त्यहाँका को-को खेलाडी आउनेबारे जानकारी दिएको छैन।' 

घिमिरेका अनुसार अस्ट्रेलियन खेलाडीको एउटा टिम र नेपालको एउटा टिम रेड र ब्लु टिम बनाएर श्रद्धाञ्जली खेल खेलिने छ। नेपाली टिमको कप्तान पारस खड्का हुनेछन् भने अस्ट्रेलियन टिम कसले लिड गर्छ तय हुन बाँकी छ।

अस्ट्रेलियामा एडवार्डले क्रिकेट एसोसिएसन अफ नेपालबाट प्राप्त इमेल पढ्दै सुनाएका थिए। ‘नेपाल र अस्ट्रेलियाबीच हुने खेलको सुरुवात मैनबत्ती बालेर गर्न यहाँलाई नै निम्त्याउन चाहन्छौं,’ उनले नेपालबाट प्राप्त पत्र पढ्दै भने, ‘हामी फिलिप्सको ब्याट, उनको लुगा र क्रिकेट अस्ट्रेलियाको झन्डालाई सगरमाथाको शिखरमा पुर्‍याउन चाहन्छौं।’

ह्युजको निधनपछि उनले प्रयोग गर्ने ब्याट उनको घर बाहिर नै थियो। उनको घरबाहिरको ब्याटको तस्बिर खिचेर #putyourbatsout क्याम्पेन सुरु भएको थियो जसलाई क्रिकेटका लाखौ फ्यानहरुले पछ्याउँदै उनीप्रति श्रद्धाञ्जलि दिएका थिए।

उनले नेपाल क्रिकेट एसोसिएसनले उनको श्रद्धाञ्जलिका लागि आयोजना गर्ने कार्यक्रमलाई आवश्यक सबै सहयोग गर्नेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell