काठमाडौं : त्रिवि मैदानमा चैत २८ गते हुने अष्ट्रेलियन खेलाडी फिलिप्स ह्युजको सम्मानमा हुने खेलका लागि क्रिकेट अष्ट्रेलियाका चेयरम्यान नेपाल आउने पक्का भएको छ। उक्त खेलका लागि चेयरम्यान वाली एडवार्डका साथमा न्यु साउथ वेल्स तथा सिड्नी थण्डरका खेलाडी रायन कार्टरले पनि खेलमा सहभागिता जनाउने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान)की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जनाएकी छिन्।
खेलमा सहभागी हुन अष्ट्रेलियन यु-१९का पूर्व कप्तान तथा आइसीसी ग्लोबल डेभलपमेन्टका प्रमुख टिम एन्डरसन पनि नेपाल आउनेछन्।
२०१४ को नोभेम्बरमा न्यू साउथ वेल्सका लागि सिड्नी क्रिकेट मैदानमा खेलिरहँदा बाउन्स बलले लागेर घाइते भएका ह्युजको उपचारका क्रममा मृत्यु भएको थियो। ६३ रन बनाएर नटआउट रहेका ह्युजको सम्मानमा अष्ट्रेलियन क्रिकेट बोर्डलाई क्यानले उनको ब्याट र जर्सी सगरमाथा लान र दुई देशबीच क्रिकेट खेलाउने प्रस्ताव गरेको थियो। क्यानको प्रस्तावलाई स्विकार्दै अष्ट्रेलियाले सहमति जनाएको थियो।
ह्युजको सम्मानमा ६३ ओभरकै खेल हुनेछ। सो खेलमा अष्ट्रेलियाबाट आएका खेलाडी र नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्य मिलाएर दुई टीम बनाइनेछ। जसमा एक पक्षले ३१.३ ओभर खेल्नेछन्। ह्युजको सम्मान स्वरुप हुने खेलमा भाग लिने अन्य अष्ट्रेलियन खेलाडीका बारेमा चाँडै निर्णय भैसक्ने क्यानले जनाएको छ।
खेलको अगाडी खेलाडी र सरोकारवालालाई नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले रिसेप्सन पार्टी दिनेछन्। खेलपछि ह्युजको एउटा ब्याट र उनको जर्सी सगरमाथा लगिने क्यानले जनाएको छ। क्यानले सहयोगका लागि फिलिप्स ह्युजको परिवार, अष्ट्रेलियन क्रिकेट, नेपालस्थित अष्ट्रेलियन दूतावासलगायतलाई धन्यवाद समेत ज्ञापन गरेको छ।
