PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुर्गा तिवारी हत्याको नखुलेको रहस्य : अनुसन्धानै नसकाई प्रहरी निश्कर्ष, भेटिएन पुष्टिको आधार



केपी ढुंगाना

दुर्गा तिवारी हत्याको नखुलेको रहस्य : अनुसन्धानै नसकाई प्रहरी निश्कर्ष, भेटिएन पुष्टिको आधार

न घटनामा संलग्न कोही पक्राउ परेका थिए, न गोली हान्ने कसैको पहिचान। एमाले भ्रातृ स‌ंस्था युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्याको मुचुल्का उठाउने काम मात्रै सकिएको थियो, अनुसन्धानमा संलग्न जिम्मेवार अधिकारीहरुले अनुसन्धानै सकिए जसरी खुलासाको श्रृंखला शुरु गरे।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी वेदबहादुर पाण्डेले हत्याको कारण खुलाउँदै ‘लेनदेन’ भएको सार्वजनिक गरे । जुन बेला पाण्डेले घटनाको कारण खुलाएका थिए, त्यो बेला प्रहरी अनुसन्धानको प्रारम्भिक चरणमै थियो ।

खुलासाको क्रम यत्तिमै रोकिएन।
 
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद सिंह एक कदम अगाडि बढेर हत्याका आरोपीकै नाम सार्वजनिक गरिदिए मनोज पुन।

अनुसन्धानमा संलग्न प्रहरी र अनुसन्धानको अनुगमन र निर्देशन दिने प्रमुख जिल्ला अधिकारीबाट प्रारम्भिक चरणमै भएको खुलासा घटनाको एक साता हुन लाग्दासमेत पुष्टि हुने कुनै आधार सार्वजनिक भएका छैनन्।

अहिलेसम्ममा अनुसन्धानको उपलब्धि छ- हत्यामा सुटरले प्रयोग गरेको भनिएको मोटरसाइकल फेला पर्नु। प्रहरीले त्यसैको आधारमा चार जनालाई नियन्त्रणमा समेत लियो।

तर अनुसन्धानमा मोटरसाइकल चोरी भएको र प्रयोग भएको नम्बर नक्कली रहेको खुलेपछि अनुसन्धानले समातेको डोरी टुटिसक्यो। नियन्त्रणमा परेका चार जना नियन्त्रणमुक्त भइसके। 

पुराना घटनाक्रमसँग जोडेर अनुसन्धानलाई डोर्‍याउने डोब नै नभएको हैन। तर अनुसन्धान निकायले अनुसन्धानका लागि पछ्याउनुपर्ने त्यही डोबलाई अनुसन्धानको निश्कर्ष जस्तै गरी सार्वजनिक गरे, जसले घटनालाई रहस्यतिर धकेल्यो।
 
दुर्गा हत्यापछि अनुसन्धान गर्ने अधिकारीबाट जे–जस्ता निष्कर्षहरु तत्काल सार्वजनिक भए, के ती तथ्यपरक हुन् त?

गम्भीर प्रकृतिको आपराधको अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीसँग यो जिज्ञासा राख्दा उनीहरु सबैको एकै मत देखियो- ‘हुन सम्भव छैन।’

अनुसन्धानको प्रकृयाबारे जानकार एक प्रहरी अधिकारी घटनामा संलग्न ब्यक्तिमध्ये कोही पक्राउ नपरी वा घटनामा संलग्नलाई पहिचान गर्ने प्रत्यक्षदर्शी नभेटिएसम्म वा परिवारका कुनै सदस्यले घटनामा संलग्नबारे किटान नगरेसम्म अनुसन्धानले बाटोसमेत तय गर्न अप्ठेरो हुने बताउँछन्।
 
‘ब्यक्तिको पृष्ठभूमि, दुश्मनी, बढी हिमचिम भएका ब्यक्ति, घटनाको दिनको सम्पर्क जालो, निकट ब्यक्तिसँग सेयर भएको ब्यक्तिगत खतरासम्बन्धी कुनै जानकारी आदिको विश्लेषणको आधारमा अनुसन्धानको दायरा बन्न सक्छ’ नाम उल्लेख गर्न नचाहने ती प्रहरी अधिकारीले भने‘ त्यस्तो दायराको परीक्षण र सूचना संकलनपछि शंकाका आधार देखिए नियन्त्रणमा लिई गरिने सोधपुछबाट मात्रै केही आधार खुल्न सक्छन्।’

दुर्गा हत्यामा आधिकारीक रुपमा जे जस्ता दावीहरु सार्वजनिक भएका छन्, ती तथ्यभन्दा बढी आशंका मात्रै रहेको र यस्ता विवरण बाहिर आँउदा अनुसन्धानमा जटिलता बढ्ने ती अधिकारी बताउँछन्।

अनुसन्धानले आधार नै नलिई घटना फलानोले गराएको हो भन्ने आइसकेको अवस्थामा अनुसन्धान अधिकारीलाई त्यसको पुष्टिका लागि दबाब बढ्छ। आफ्नो दावी पुष्टिका लागि अनुसन्धान त्यतैतिर केन्द्रित गर्दा घटनामा संलग्न अन्य पाटो छुट्दा अनुसन्धानले लामो बाटो लिने र अनुसन्धान टुंगोमा पुग्दा प्रारम्भिक काँचो तथ्य भन्दा फरक आउँदा सरोकारवाला पक्षको विश्वास लिन जटिल हुने अनुभवी प्रहरी अधिकारीको विश्लेषण छ।

कसरी जोडिए मनोज?

तिवारी हत्यामा मनोज पुनलाई जोड्ने पहिलो आधार यी दुबैबीचको पुरानो दुश्मनी देखिन्छ। २०७२ चैत ६ मा तिवारीलाई गोली हानी भएको हत्या प्रयासको घटनालाई हत्यासँग ल्याएर जोडेको छ प्रहरीले। दोस्रो आधार मनोजको नाममा आएको फोनकललाई जोडेको देखियो।

अञ्चल प्रहरी कार्यालय, लुम्बिनी र जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले २०७३ जेठ २ गते हत्या, अपहरण, तस्करी र लागूऔषधमा संलग्न रहेको गिरोह सार्वजनिक गरेको थियो। त्यतिबेला शालिकराम चापागाई, सिरिस अजय भन्ने ऋषिराम घिमिरे, सन्जोश नेपाली, चित्र बहादुर गुरुङ, रवि केसी, राजेन्द्र धमेल, उर्गेन गुरुङ  र बेनिराम सोम पक्राउ परेका थिए ।

सार्वजनिक गरिँदाको फोटो : हिमालखबर

उनीहरुलाई सार्वजनिक गर्ने क्रममा प्रहरीले काठमाडौं, पोखरा लगायतका क्षेत्रबाट पक्राउ गरेको जानकारी दिए पनि दुर्गाको हत्या प्रयासमा उनीहरुको संलग्नताबारे प्रहरीले खुलाएको थिएन ।

प्रहरीले २०७२ कार्तिक २२ मा देबदह ७ बुद्धपार्कस्थित पुल हाउसमा नारायण बस्नेतमाथि भएको गोली प्रहारमा संलग्नको खोजीका क्रममा समूह पक्राउ परेको खुलाएको थियो। चैत ६ मा दुर्गाको हत्या प्रयासको घटनासँग जोडेको देखिएन ।

दुर्गाको हत्यापछि प्रहरीले शालिकराम मनोजको सहयोगी रहेको र उसैले दुर्गाको हत्या प्रयास गराएकाले अहिलेको हत्यामा मनोजनै संलग्न रहेको दावी गरेको छ।

रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेका अनुसार दुर्गाको हत्या प्रयासमा संलग्नता देखिएपछि गत भदौदेखि नै मनोजको खोजी गरिए पनि उनी भारतमा लुकेर बसेका छन्। 
 
भारतबाट पक्राउ गरी नेपाल ल्याउन नसकेपछि सहयोगका लागी केन्द्रमा पत्रसमेत पठाएको उनले जानकारी दिए।

‘पहिला पनि हत्या प्रयास गरेकाले घटनामा मनोज संलग्न हुन् भन्ने हो,’ डिएसपी पाण्डेले भने, ‘उसको दुश्मनीसमेत रहेकाले उसको खोजी गरिरहेका छौं।’

प्रहरीले दुर्गा हत्यामा मनोजको संलग्नताको दावीका लागि एमाले रुपन्देही जिल्ला कमिटीका पूर्व सदस्य ध्रुव खरेल र केही सञ्चारमाध्यममा आएको भनिएको फोनकललाई दोस्रो आधार बनाएको देखिन्छ।

खरेललाई ‘दुर्गा तिवारीलाई गोली हानेको मैले हो, पहिला गोली हानेर तर्साउँदा समेत मानेन, उसले मेरा केटाहरुलाई पक्राउ गराएर नेपालमा बसिखान दिएन, एमालेका मान्छेलाई अब छानीछानी गोली हान्छु’ भन्ने फोन आएको दावी सार्वजनिक भएको छ ।

इन्टरनेटमार्फत् आएको फोन कहाँबाट गरिएको थियो र फोनकर्ता मनोज नै हुन् या हैनन् अझै पुष्टि भएको देखिएन।

‘उसले मलेसियाबाट फोन गरेको भने पनि इन्टरनेट कल भएकाले कहाँबाट आएको थाहा हुन सकेको छैन’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले पहिलोपोस्टसँग भने‘ फोनको आवाज सुन्नेहरुले मनोजकै हो भनेका छन्।’ 


एभिन्युज टेलिभिजनले सार्वजनिक गरेको फोन कलको रेकर्ड

यदि हत्या मनोजले नै गरेको हो भने पनि अनुसन्धान गर्ने निकायलाई सजिलो बनाई दिन जिम्मा लिनुपर्ने कुनै आधार देखिन्न। भूमिगत आपराधिक समूहले मात्र त्रास फैलाउनका लागि सहायक हुने हुनाले जिम्मेवारी लिने गर्छन्। व्यक्तगित रिसइबीको घटनामा हत्याको जिम्मा लिएको हो भने यो अपवाद हुनसक्छ।

हत्याको भोलिपल्ट केही सञ्चारकर्मीहरुलाई मधेस जनमुक्ति सेनाका संयोजक प्रताप सि‌ह मधेसी नाम लेख्दै एसएमएस गरेर तिवारीको हत्या ट्रेलरमात्र हो भन्दै चेतावनी दिएका थिए। एनसेलको नम्बरबाटै गरिएको यो धम्कीपूर्ण चेतावनीको पाटोबारे प्रहरीले अनुसन्धान गरेको कुनै टिप्पणी सार्वजनिक भएको छैन। 

योजनावद्ध हत्या, अनुभवी सुटर


घटनाको अनुसन्धान गर्ने क्रममा तिवारीलाई जुन किसिमले गोली हानियो र त्यसका लागि जुन ठाउँ छानियो, त्यसले दुई तथ्य भने स्थापित गर्छ -
 
durga tiwari hatya report
make action GIFs like this at MakeaGif
- घटना योजनावद्ध हो।
- घटनामा गोली हान्ने अनुभवी सुटर हुन्।

पछाडि यात्रु राखेर दुर्गा आफैले हाँकिरहेको मोटरसाइकल रोड ब्रेकरमा पुगेपछि गोली हानिएको थियो। यसले सुटरहरु उनलाई पछ्याउँदै हिँडेको र रोड ब्रेकर नजिकै मोटरसाइकलको गति घटेकोे मौकामा उनीमाथि गोली प्रहार भएको देखाउँछ।
 
‘घटनाक्रम हेर्दा तिवारीलाई दिनभर पछ्याएर अनुकूल स्थानमा पुगेपछि गोली हानेको देखिन्छ,’ डिएसपी पाण्डेले भने‘ स्पिड ब्रेकर भएको स्थानमा उनीहरुले गोली हानेका थिए।’
 
दुर्गालाई एक राउन्ड गोली मात्रै हानिएको थियो। दायाँ कोखाबाट छिरेको सो गोली बायाँ कोखाबाट बाहिर निस्कियो र मुटुमा रक्तसञ्चार अवरुद्ध हुँदा उनको मृत्यु भयो। 

‘अहिलेसम्मको अनुसन्धानमा मृत्युको कारण ब्लड सर्कुलेसन अवरुद्ध हुनु देखिएको छ’ डिएसपी पाण्डेले भने।

कसले गोली हानेको हो त्यो खुलेको छैन। तर गोली हान्ने शैलीको आधारमा घटनामा हतियारबारे अनुभवी ब्यक्ति संलग्न रहेको निष्कर्ष प्रहरीको छ।
 

के गर्दैछ प्रहरी?

युवा संघ नेपालले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग गरेपछि तत्काल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख विज्ञानराज शर्माको नेतृत्वमा गृह मन्त्रालयले समिति बनाइसकेको छ। समितिका पदाधिकारी गएको साता नै रुपन्देही पुगी फर्किसकेका छन्। 

गृहमन्त्री विमलेन्द्र निधिले घटनाको बारेमा अनुसन्धान जारी रहेको बताए। निधिले एमालेका नेताहरु र विद्यार्थी नेताहरुले छानबिनका लागि उच्चस्तरीय समितिको माग गरेपछि गठन गरिसकेको जानकारी दिँदै भने, 'अहिलेसम्मको अनुसन्धानमा आपराधिक घटनानै हो भन्ने नै आएको छ।'

‘घटनाको प्रकृतिको आधारमा हत्यामा आपराधिक संगठित समूहको संलग्नता देखिन्छ,’ डिएसपी पाण्डेले भने, ‘हत्यामा मनोज प्रत्यक्ष संलग्न नदेखिए पनि उसैले गराएको देखिन्छ, अहिले प्रत्यक्ष संलग्नको खोजीमा सक्रिय छौं ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell