PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युवा संघ नेता तिवारीको हत्या : कारण 'लेनदेन' रहेको प्रहरी दाबी



सविन ढकाल

युवा संघ नेता तिवारीको हत्या : कारण 'लेनदेन' रहेको प्रहरी दाबी

काठमाडौँ : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भएको छ। अज्ञात समूहले गोली हान्दा घाइते भएका उनको उपचारकाे क्रममा मृत्यु भएकाे डिएसपी बेदबहादुर पाण्डेले पहिलोपोस्टलाई जानकारी दिए।

रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा उनलाई गोली हानेको थियो। गोली लागि घाइते भएका तिवारीको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले गोली हान्नेको खोजी भइरहेको जानकारी दिएको छ। हत्याराले गोली हानी भारत भाग्न सक्ने भएकाले मुख्य नाका चेकजाँच कडा गरिएको डिएसपी पाण्डेले जानकारी दिए।

प्रहरीले हत्यारालाई समात्न नसके पनि उनको हत्या राजनीतिक कारणले नभई आर्थिक लेनदेनको कारणले हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ। उनी इँटाभट्टा व्यवसायी समेत हुन्।

तिवारीमाथि ६ महिनाअघि रुपन्देहीमा नै गोली प्रहार भएको थियो। उनी त्यतिखेर जोगिएका थिए। सो घटनामा स‌ंलग्न रहेको आरोपमा ८ जना पक्राउ परेका थिए। घटनामा मनोज पुन समेत संलग्न रहेको खुले पनि उनी फरार छन्।  पक्राउ परेका ८ जना अहिले पनि कारागारमा छन्। यो पटकको घटनामा पनि सोही समूह संलग्न हुनसक्ने डिएसपी पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell