PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमाओवादीमा ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’, नेताहरुबीच झण्डै हात हालाहाल



एमाओवादीमा ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’, नेताहरुबीच झण्डै हात हालाहाल

  • रविराज बराल/पहिलोपोस्ट -
काठमाडौं : नेपालीमा उखान छ- गर्नेलाई भन्दा हेर्नेलाई लाज। एकीकृत नेकपा माओवादीको मुख्यालय पेरिसडाँडामा शनिबार यो उखान चरितार्थ भयो।

आन्दोलनको तयारीमा जुटेका नेताहरुबीच झण्डै ‘हानाहान’ को स्थिति आएपछि मञ्चमा बसेका कतिपय नेता लाजले लुसुक्क बाहिरिए।
‘मलाई त भित्र बस्न पनि लाज लाग्यो, सुटुक्क आफ्नो बाटो लागेँ’, एक नेताले पहिलोपोस्टसँग भने।

एमाओवादीभित्र लामो समयदेखि झ्याङ्गिएको ‘गुट राजनीति’ को असली रुप शनिबार पेरिसडाँडामा छताछुल्ल भएको थियो। 

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानी काठमाडौंमा निर्णायक आन्दोलन हुने घोषणा गरेको तीन दिनपछि काठमाडौंमा कुन कमिटी आधिकारिक भन्ने पुरानो विवाद चर्किँदा झण्डै हात हालाहाल भएको हो।

काठमाडौंमा जिल्ला सम्मेलनबाट निर्वाचित कार्यसमितिसँगै नेता डा. बाबुराम भट्टराई पक्षले गठन गरेको समानान्तर कमिटी पनि कायम छ। यिनै दुई कमिटीका नेताबीच एमाओवादी मुख्यालयमा शनिबार दिउँसो चर्काचर्की भएको थियो।

एकाएक चर्किएको विवाद मिलाउन केन्द्रीय नेताहरुलाई समेत हम्मेहम्मे पर्‍यो। नेताहरु वर्षमान पुन, जनार्दन शर्मा र झक्कु सुवेदी लगायतका नेताले आवेशमा आएका दुई पक्षका नेतालाई शान्त बनाएका थिए।

यसरी चर्कियो विवाद

‘हामीलाई आफ्नो धारणा पनि राख्न नदिइने? संगठन तपाईँहरुको पेवा हो?’, जिल्ला सम्मेलनबाट गठित काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष हिमाल शर्माले टेबुल ठोक्दै प्रश्न गरेका थिए, ‘तपाईँहरुको यो समानान्तर कमिटी हो कि निर्वाचित कमिटी?’

‘बैठकमा त चर्काचर्की नै परेछ नि?’ भन्ने पहिलोपोस्टको प्रश्नमा शर्माले भने, ‘अलिअलि भयो, आन्तरिक कुरा हो।‘

पार्टी आन्दोलनमा रहेकाले पुराना कुनै पनि समानान्तर कमिटी कायम राख्न नहुने कुरा आफूले बैठकमा राखेको शर्माले  बताए। ‘यस्ता कुरा भित्रभित्रै देखाउन भएन भनेका हौँ’, शर्माले भने।  

आफूलाई धारणा राख्न नदिइएको भन्दै शर्माले टेबुल ठोकेपछि बैठकमा एकछिन सन्नाटा छाएको थियो। एमाओवादी सचिव वर्षमान पुन लगायतका नेताले पछि ‘कुरा’ मिलाए।

विवादको श्रृंखला

गत बैशाखमा सम्पन्न काठमाडौं जिल्ला सम्मेलनले हिमाल शर्माको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेपछि नेता डा. बाबुराम भट्टराई पक्षले पनि गत भदौ ४ गते महेन्द्र श्रेष्ठको अध्यक्षतामा समानान्तर कमिटि गठन गरेको थियो।

शर्माको अध्यक्षतामा गठित समितिमा श्रेष्ठलाई उपाध्यक्ष राखिको थियो भने श्रेष्ठको अध्यक्षतामा बनाइएको कमिटिमा शर्मालाई उपाध्यक्ष।

समानान्तर कमिटि गठन भए लगत्तै गत भदौमा हिमाल शर्माले पहिलोपोस्टसँग ‘बाबुराम पक्ष पार्टी फुटाउन अराजक गतिविधिमा लागेको प्रतिक्रिया दिँगै अराजकताको डटेर मुकाबिला गर्ने’ बताएका थिए।

शनिबारको बैठकमा भट्टराई पक्षीय समानान्तर कमिटिका अध्यक्ष महेन्द्र श्रेष्ठले अर्को कमिटिका अध्यक्ष शर्मालाई धारणा राख्न नदिएपछि आफूले पनि बोल्न पाउनुपर्ने भन्दै शर्माले प्रतिवाद गरेका थिए।

‘मेरा पनि धारणा राख्न पाउँ भन्दै उहाँ शालीन तरिकाले नै उठ्नुभएको थियो’, बैठकमा सहभागी एक नेताले भने, ‘तर बोल्न नदिइएपछि उहाँ आवेगमा आउनुभयो।‘

शर्माले आफू नेतृत्वको जिल्ला कमिटी चुनावबाट गठित भएको र नेतृ हिसिला यमी नै सम्मेलनमा सहभागी भएको भन्दै समानान्तर कमिटी बनाएर आफैले आफैलाई आधिकारिक भन्दै नहिँड्न चेतावनी दिएका थिए।

नेता भट्टराई पक्षीय समानान्तर कमिटीका अध्यक्ष महेन्द्र श्रेष्ठले लामो समयदेखि कायम रहेका दुईओटा कमिटीको लामो समयपछि संयुक्त मिटिङ बसेकाले अलिअलि आक्रोश आउनु स्वभाविक भएको प्रतिक्रिया दिए।

‘सँगै बैठक नभएको पनि ६/७ महिना भएको थियो। आक्रोशहरु आएकै हुन्’, श्रेष्ठले भने, ‘हिमाल कमरेडले आफ्ना पीडा राख्नुभयो। अलिअलि हुनु स्वभाविक हो।‘ श्रेष्ठले बैठकमा आफ्ना मतहरु राख्नु, बहस हुनु र अन्तर्संघर्ष चल्नु सामान्य र स्वभाविक प्रक्रिया भएको बताए।

‘बहस भए तर पछि हामी एक ठाउँमा आयौँ र सर्वसम्मत रुपमा आन्दोलनमा लाग्ने निर्णय गर्‍यौँ', उनले भने। बैठकले नेता शालीग्राम जमरकट्टेलको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ।

आफैले खनेको खाल्डो

अध्यक्ष प्रचण्ड र नेता भट्टराईबीच द्वन्द्व चर्केपछि त्यसको व्यवस्थापनका लागि एमाओवादीले प्रचण्डको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो। विवाद समाधान गर्न गत साउनमा प्रचण्ड र भट्टराईबीच ‘पार्टी विवादलाई सकारात्मक तवरले हल गर्ने र समानान्तर समिति गठन भएका जिल्लामा छुट्टै संरचना बनाउने सहमति’ भएको थियो।

त्यसो त पार्टी फुट्ला फुट्ला भन्ने अनुमान भैरहेका बेला गत असोजमा पार्टी उपाध्यक्ष पोस्ट बहादुर बोगटीको श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्ड र नेता भट्टराईले रुँदै आफूहरु कुनै पनि हालतमा विभाजित नहुने प्रतिबद्धता जनाएका थिए।  

विगतका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता गर्दै आन्दोलनको माहौल तयार पार्न केन्द्रीय नेतृत्व देश दौडाहामा रहेका बेला पहिले बनाइएका समानान्तर कमिटी समस्याका रुपमा देखिएका छन्।

‘विवाद चर्केको विशिष्ट परिस्थितिमा गठन भएका समानान्तर कमिटीहरु अहिले पार्टीलाई घाँडो भएका छन्’, एक एमाओवादी नेताले भने, ‘परिस्थितिले नेतृत्वलाई त मिलाइदियो तर उनीहरुले विभाजित भएका पार्टी संगठन र मनहरु जोडिन सकेका छैनन्।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell