PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'पार्टीमा फुट चाहने अराजक विरुद्ध मुकाबिला गर्छौँ'



'पार्टीमा फुट चाहने अराजक विरुद्ध मुकाबिला गर्छौँ'
तस्बिरः titanherald.com

काठमाडौं : एमाओवादी नेता हिमाल शर्माले आफूलाई उपाध्यक्ष राखेर काठमाडौंमा बाबुराम भट्टराई पक्षले समानान्तर पार्टी कमिटी गठन गरेकोमा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन्।
 
समानान्तर पार्टी कमिटीमा उपाध्यक्षको जिम्मवारी दिइएका नेता हिमाल शर्माले आफू पार्टी फुटविरुद्ध लाग्ने भन्दै पार्टी फुटाउन उद्दत रहेको झुण्डमा सामेल नरहेको स्पष्ट पारे।

‘मलाई उपाध्यक्ष राखिएको भन्ने खबरले म अचम्भित भएँ’, शर्माले भने, ‘म पार्टी फुटका पक्षमा न कहिल्यै थिएँ, न छु। यो पदका लागि भएको टेन्डरमात्र हो।'

उनले बाबुराम पक्षले पार्टी फुटाउन अराजक गतिविधि थालेको बताए। 'यो अराजकताको हामी डटेर मुकाबिला गर्छौँ‘, उनले भने।

समानान्तर कमिटी गठनमा लागेकाहरु पार्टी विभाजनका लागि प्रेरित रहेको शर्माले बताए।

एमाओवादीको गत बैशाखमा भएको काठमाडौं जिल्ला सम्मेलन भएको थियो। असार १५ गते बसेको जिल्ला कार्यसमिति बैठकले शर्माको अध्यक्षतामा कार्यसमिति गठन गरेको थियो।

शर्माको अध्यक्षतामा भदौ ३ गते बसेको एमाओवादी काठमाडौं जिल्ला कमिटी बैठकले नेता महेन्द्र श्रेष्ठलाई उपाध्यक्ष मनोनीत गरेको थियो। यसको एकदिन नबित्दै श्रेष्ठकै अध्यक्षतामा समानान्तर कमिटी बन्नु आश्चर्यको विषय भएको शर्माले बताए।  

‘पार्टी विधानअनुसार जिल्ला समितिमा पदपूर्ति गरेका हौँ। के कुरामा चित्त बुझेन र पार्टी फुटाउन चाहनेलाई सघाउनुभएको हो थाहा भएन’, शर्माले भने, ‘उहाँहरुको यो कार्यले सम्मेलनको समेत खिल्ली उडाएको छ।‘

समानान्तर पार्टी कमिटी गठन

नेता डा. बाबुराम भट्टराई पक्षले काठमाडौंमा नयाँ जिल्ला कार्य समिति घोषणा गरेको छ। बुधवार काठमाडौंमा बसेको जिल्ला पार्टी कमिटीको बैठकले नयाँ कार्यसमिति गठन गरेको एमाओवादी केन्द्रीय सदस्य बलावती शर्माले जानकारी दिइन्।

नयाँ बानेश्वरस्थित अल्फाबिटा हाउसमा कार्यक्रम गरेर भट्टराई पक्षले नेता महेन्द्र श्रेष्ठको अध्यक्षता कार्यसमिति घोषणा गरेको हो। श्रेष्ठ गत संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट एमाओवादीका उम्मेदवार थिए। कमिटीको उपाध्यक्षमा हिमाल शर्मालाई राखिएको छ।

एमाओवादीको ७५ सदस्यीय जिल्ला समितिमा १८ पछि पदपूर्ति गरिने नेता शर्माले जानकारी दिइन्। 

भट्टराई पक्षले घोषणा गरेको कार्यसमितिका अध्यक्ष महेन्द्र श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको समिति आधिकारिक रहेको दाबी गरे। 'पहिले कुनै समिति नै थिएन। यो नै पहिलो समिति हो', उनले भने, 'यहाँ आधिकारिकता बिबादको बहस जरुरी नै छैन।' 

एकीकृत नेकपा माओवादीले समानान्तर जिल्ला कमिटी गठन गरेको आरोपमा भट्टराई पक्षका पोलिटब्युरो सदस्य गंगानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई कारबाही गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell