PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काठमाडौंमै निर्णायक आन्दोलन हुनेछ: प्रचण्ड



काठमाडौंमै निर्णायक आन्दोलन हुनेछ: प्रचण्ड
फाइल फोटो

काठमाडौं : एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब काठमाडौं मै निर्णायक आन्दोलन हुने बताएका छन्। मध्य क्षेत्र कमाण्डका कार्यकर्तालाई भृकुटीमण्डपमा प्रशिक्षण दिँदै उनले वर्षौँपछि आफै कमान्ड सिर्जना गरेर लाग्ने अवसर सिर्जना गरिएकोले काठमाडौंको मोर्चालाई दह्रो बनाउनु पर्ने बताएका हुन्।

'हामीले सबै ताकत लगाऔँ र काठमाडौँमा निर्णायक संघर्ष गरौँ,' उनले भने।

कार्यकर्तालाई विजय सुनिश्चित भएको विश्वास दिलाउन उनले तीन स्थानको मोर्चा उल्लेख गर्दै भने, 'मध्य क्षेत्रपछि संघर्षको मुख्य स्थान मधेश हो। काठमाडौं सुतेकै बेला मधेश उठेको छ।' 

तेस्रो मोर्चाका रुपमा उनले लिम्बुवानलाई उल्लेख गरे।  

प्रधानमन्त्री सुशील कोइरालाले गेट क्र्यास गरेको भनेपनि उनी गम्भीर नभएको आरोप लगाए। 'उहाँ आउनु भएको थियो। कुर्सीमा केहीबेर बस्नु भयो। अनि शासकीय स्वरुपमा रिजर्भेसन पनि राख्न पाइन्न भन्दै जुरुक्क उठेर हिँड्नुभो,' उनले भने।

सुन्नुस् अडियो :

भिलेनको भूमिका 

प्रचण्डले २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले कू गरेको बेला सम्झँदै भने, 'राम्रो भिलेनको भूमिका ज्ञानेन्द्रले खेलेको भएर नेपालको गणतन्त्रको चलचित्र सजिलै आयो। अहिले सुशील कोइराला र केपी ओलीले पनि भिलेनको भूमिका खेलर सजिलो बनाइराख्नुभएको छ।' 

'काठमाडौँमा आएर अलि-अलि बिग्रियौँ, जनतासँगको सम्पर्क बिग्रियो तर वर्षौँपछि आफै र पार्टीका मुख्य नेतालाई कमान्ड सिर्जना गरेर लाग्ने अवसर दियो,' उनले बताए। 

राष्ट्रपति भएर जेल जान तयार छैन

आफू आन्दोलनमा लागेको राष्ट्रपति बन्न दौडेको भन्दै मिडियामा भएको प्रचारलाई उनले खण्डन गर्दै भने, 'अहिले सेरेमोनियल राष्ट्रपति हुनु भनेको जेल जानु बराबर हो। बरु म जनतामा जान तयार छु, जेल जान तयार छैन। तपाईँ पत्याउनुस्, नपत्याउनुस्। '

आफूलाई 'क्रान्तिको नायक' समेत भन्दै आफूले प्रधान सेनापति रुक्माङ्गद कटवाललाई मन्त्रिपरिषद्बाट निर्णय गरेर हटाउँदा राष्ट्रपतिले हटाएको कुरा सम्झँदै उनले भने, 'मुसोले सिंहलाई हटायो।' ठूल्ठूला अन्तर्राष्ट्रिय शक्तिहरु लागेपछि मुसो पनि सिंह भएको उनको कथन थियो।

सेनापतिलाई हटाउँदाको प्रसंग सम्झँदै उनले सुनाए, 'कारबाहीको भोलिपल्टै कुन दिन बालुवाटारमा आक्रमण होला भन्ने भयो। म मर्न तयार भएर बसेको थिएँ। मर्नै परे पनि एकछिन त लडेर मर्नु पर्‍यो भनेर हतियारसहित छ दिन जनमुक्ति सेनालाई बालुवाटारमा राखेको थिएँ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell