PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

के नेता मनोरोगी भएका हुन्? होइन, 'फ्रस्टेसनको परिणाम'



के नेता मनोरोगी भएका हुन्? होइन, 'फ्रस्टेसनको परिणाम'

  • अनन्त कोइराला/मनोज सत्याल-
काठमाडौं : दलहरु आफैले निर्धारण गरेको समयमा संविधान जारी हुन नसकेकोमा एकअर्कालाई शब्दवाण प्रयोग गरिरहेका नेताहरु अब असहिष्णुताको हद पार गर्न थालेका छन्।
 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको ३० दलीय मोर्चाको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत असन्तुलित भएको भन्दै सरकारलाई शीघ्र उपचारको ब्यवस्था गर्न माग गर्ने निर्णय गर्‍यो। ओलीले १० अर्ब दिए आन्दोलन रोकिने आरोप लगाएपछि मोर्चाको आक्रोश यो हदको गालीगलौजमा उत्रिएको हो।
 
मोर्चाको निर्णयलगत्तै एमाले नेता उपाध्यक्ष भीम रावलले प्रतिक्रिया दिए, ' यदि कसैले हाम्रा नेताको मानसिक सन्तुलन छैन भन्छ भने त्यो लेख्ने मान्छेहरुले डाक्टरलाई एकपटक राम्रोसँग जँचाउनुस्।' सचिव योगेश भट्टराईले 'विक्षिप्त भइसकेका प्रचण्ड मोर्चाको निर्णय स्वनग्नताको पराकाष्ठा हो' भने। उता मधेसकेन्द्रित दलका नेता राजेन्द्र महतोले ओलीलाई बोलीमा लगाम लगाउन चेतावनी दिँदै नत्र बदला लिने बताउँदै छन्। एमाले नेता प्रदीप ज्ञवालीले यसलाई सडक छापहरुले भनेका छुद्र कुरा भने।  
 

फ्रस्टेसनको परिणाम

निर्धारित कार्यतालिका अनुसार काम भएको भए यतिबेला संविधान जारी भएर त्यही संविधान अनुसार अर्को निर्वाचनका लागि तयारी भइरहेको हुन्थ्यो। संविधान त जारी हुन सकेन नै, संविधानका कुन-कुन मूल अन्तर्वस्तुमा आफूहरुबीच विवाद भएको हो त्यसबारे आफ्ना मतदातालाई जानकारी दिनुको साटो व्यक्तिगत गालीगलौजमा केन्द्रित छन्।
 
त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागका प्रा. डा. शिशिर सुब्बाका अनुसार कसैलाई होच्याउनु पर्‍यो भने त्यसलाई पागल भनिदियो भने अर्कोलाई 'इन्सल्ट' गर्न सजिलो हुन्छ।
 
'अनि एउटाले तँ पागल भन्छ, पागल भनिएकोले जवाफमा तैं पागल भन्दिन्छ। यो इन्सल्ट गर्न बढी प्रयोग हुन्छ',  सुब्बा भन्छन्, 'यसलाई 'पोलिटिकल स्टिग्मा' नै भन्न त मिल्दैन तर फ्रस्टेसन, इन्जाइटी, टेन्सनबाट मुक्तिका लागि कुनै न कुनै रुपमा त्यसलाई बाहिर निकाल्नुपर्छ। अनि अर्कोलाई होच्याएर आफ्नो फ्रस्टेसन निकाल्न यस्तो भाषा प्रयोग हुन्छ।'
 
राजनीतिक नेतृत्व वा नेता पनि समाजकै अंग हुने भएकोले उनीहरुलाई पनि मनोसामाजिक समस्या हुने उनी बताउँछन्। 'झन् नेतालाई बढी हुन्छ', उनको तर्क छ, 'उनीहरुका लागि माघ ८ को मितिको दबाब थियो। त्यो पूरा भएन। त्यसले उनीहरुमाथि आक्रोश थपियो। त्यसले उनीहरुमा पनि फ्रस्टेसन भयो होला। चिन्ता पनि भयो होला। समाजमा हुने सकारात्मक र नकारात्मक कुराले हरेकलाई असर गर्छ नै। अहिलेको यो गालीको सिलसिला पनि त्यसैको परिणाम हो भन्ने लाग्छ।'
 
सामान्य मानिसहरुले बोल्नु र नेताहरुले बोल्नुमा फरक हुने बताउँदै सुब्बा थप्छन् 'नेताहरुको बोलीको अझ बढी असर हुन्छ। उहाँहरुले यसलाई ध्यान दिनुभएको छैन।'
 
मनोचिकित्सक निराकारमान श्रेष्ठ अहिले यो आरोप प्रत्यारोपका रुपमा मात्रै आएको भए पनि दैनिक रुपमा लिमिटेसन पार गर्‍यो भने रोगकै रुपमा लिन सकिने बताउँछन्।
 

आरोपको शृङ्खला

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक रहेको ३० दलीय मोर्चाको मोर्चाको बुधबार बिहान बसेको बैठकले एमाले अध्यक्ष  केपी शर्मा ओली शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत असन्तुलित भएको आक्षेप लगाउँदै सरकारलाई उनको शीघ्र उपचारको ब्यवस्था गर्न मागसमेत गरेको हो।
 
यस्तो छ मोर्चाको निर्णय :
 
संघीय लोकतान्त्रिक गठनबन्धनको २०७१ माघ २१ गतेको बैठकले गरेको निर्णय: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३० दलीय मोर्चामा आवद्ध राजनीतिक दलहरुलाई दश अर्ब दिएमा आन्दोलन रोकिन्छ भन्ने जस्ता अराजनीतिक, भ्रामक, निराधार र गैरजिम्मेवार आरोपको निन्दा एवं भत्सर्ना गर्दै उहाँको अभिव्यक्तिले उहाँ शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नुको साथै आवश्यक स्वास्थ्य परीक्षण पश्चात उहाँको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भएमा उहाँले उठाएको विषयमा उच्चस्तरीय छानविन आयोग गठन गरी यसको सत्य तथ्य सार्वजनिक गर्न समेत आजको यो बैठक माग गर्दछ।
 
 
 
यसअघि केन्द्रीय समितिको बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै ओलीले दिएको प्रतिक्रियाको जवाफ दिन आफूलाई लाज लागेको भन्दै त्यस्ता नेता पनि नेता भएको बताएका थिए।

तर ३० दलीय गठबन्धनको प्रवक्ता समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले प्रचण्ड उपस्थित बैठकले नै उक्त निर्णय गरेको बताए। उनले आफूले निर्णयलाई सार्वजनिक मात्र गरेको बताए।

एमाले अध्यक्ष केपी ओलीले शनिबार माओवादीले पहिले २ अर्ब लिने कागज गरेपछि मात्र संसद खुलेको भन्दै अहिले पनि ५/१० अर्ब दिए संविधान सभा चल्ने बताएका थिए।

आरोप प्रत्यारोपको शृङ्खला संविधान बनाउने बहस हुनुपर्ने बेलामै सुरु भएको थियो। पुस २३ गते बालुवाटारमा भएको बैठकमा ओलीले तपाईँहरुलाई त युपी र विहार पनि चाहिन्छ नि भनेपछि मधेसकेन्द्रित दल र ओलीबीच तिक्तता बढेको थियो। प्रचण्डले त्यसलगत्तै ओलीलाई महाराजधिराज बन्न खोजेको आरोप लगाए।

आरोप प्रत्यारोपको क्रम रोकिएन, ओलीले माघ ५ गते कार्यकर्ता प्रशिक्षणमा माओवादीलाई 'बाँदर' भने। 'कुनै रुखमाथि बाँदर चढ्यो भने हाँगो हल्लिनु त स्वभाविकै हो। संविधान सभामा कस्ता कस्ता शक्ति आएका छन्। तिनीहरु आएपछि हल्लिँदैन ? यिनले समस्या खडा गर्दैनन् ? गरिहाल्छ' भनेकै रात माओवादीहरुले संविधान सभा बैठक कक्षमा तोडफोड मच्चाएका थिए।

त्यसपछि औपचारिक संवादको क्रम त रोकिएको छ नै, 'पागल' भन्ने हदसम्म उत्रिएका अभिव्यक्ति आउन थालेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell