PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओलीको आरोपको प्रतिक्रिया दिन प्रचण्डलाई लाज



ओलीको आरोपको प्रतिक्रिया दिन प्रचण्डलाई लाज

काठमाडौं: दश अर्ब रुपैयाँ दिए एमाओवादी संविधानसभामा फर्कने भनेर नेकपा एमाले अध्यक्ष केपी ओलीले दिएको प्रतिक्रियाको जवाफ दिन आफूलाई लाज भएको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा केन्द्रीय समिति बैठकपछि पत्रकारसँगको कुराकानीमा प्रचण्डले ओलीलाई इङ्गित गर्दै 'त्यस्ता मान्छे नेता हुनु' प्रति आश्चर्य प्रकट गरे।

'अब यस्तो वाहियात कुराको जवाफ दिन पनि मलाई लाज लागेको छ, नेपालमा यस्ता पनि मान्छे नेता भएका छन् र अहिले उल्टै देशकै ठेकेदार हुँ जस्तो गरेका छन्,' प्रचण्डले भने, 'अब यसको जवाफ दिन आवश्यक ठानेको पनि छैन र जवाफ दिन आफैँलाई कता कता तल खसेको जस्तो अनुभव भएको छ।'

प्रचण्डले विगतमा बाबुराम भट्टराई सरकारले गरेको निर्णय कार्यान्वयनका लागि संसद अबरुद्ध गरेको र कार्यान्यन गर्ने प्रतिबद्धतामात्र जनाएको बताए।

'त्यतिबेला चार बुँदे सहमति भएको बेला र अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने विषयमा सहिद, बेपत्ता परिवारलाई र जनयुद्धका सहिद मात्र भनेको होइन। आन्दोलनका क्रममा मारिएकाको परिवारलाई दुई लाख दिने कुरा भएको थियो,' प्रचण्डले भने, 'त्यो निर्णय कार्यान्वयन गर भनेकोमात्र हो।'

एमाओवादी मोर्चा र तीस दलीय मोर्चाले पैसा खाएको जस्तो गरी प्रचार भएको भन्दै प्रचण्डले जनताले बुझ्न जरुरी रहेको बताए।

'तर अहिले एमाओवादी र तीस दलीय मोर्चाले पैसा खाएको जस्तो गरी प्रचार गर्नु नेपाली सबैको अपमान हुनु हो, यो जनता आफैँले बुझ्ने र बुझाउने कुरा हो,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell