PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओलीले सोधे- युपी र बिहार पनि चाहियो? मधेसी दल भन्छन्- ह्युमिलेट गरियो



ओलीले सोधे- युपी र बिहार पनि चाहियो? मधेसी दल भन्छन्- ह्युमिलेट गरियो

काठमाडौं : संविधानका अन्तर्वस्तु र विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा बसेको चारपक्षीय शीर्ष दल सम्मिलित वार्ता भाँडिएको छ।

प्रदेशको सवालमा सदभावना पार्टीका राजेन्द्र महतोले तराइका जिल्लालाई पहाडी जिल्लामा जोड्न नहुने धारणा राखेपछि एमाले अध्यक्ष केपी ओलीले 'तपाइँहरुलाई त युपी, विहार पनि चाहिन्छ नि' भनेपछि विवाद भएको थियो।

बैठकबारे प्रतिक्रिया दिँदै मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीले अप्रिय शब्द प्रयोग गरेपछि वार्ता भाँडिएको बताए। 'उहाँले प्रदेशका कुरामा भारतका युपी र बिहारको कुरा निकाल्नुभयो,' यादवले भने, 'उहाँको टिप्पणि गैर जिम्मेवार देखियो।'

बैठकबाट केहीबेरको लागि बाहिर निस्केका एमाओवादी अध्यक्ष प्रचण्डले पनि दलहरुबीच हिजोभन्दा आज झन् वातावरण बिग्रेको टिप्पणि गरे। 'हिजोसम्म मधेस केन्द्रित दलहरु र अन्य दलका बिच सहमतिका नजिक नजिक पुग्ने अवस्था थियो', प्रचण्डले भने, 'तर आजको बैठकले वातावरण झन् बिगारेको छ।'

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आपत्तिजनक शब्द प्रयोग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपमान गरेको आरोप लगाएका छन् भने ओलीले मधेसी मोर्चाका तर्फबाट अहंकार प्रस्तुत गरिएको दाबी गरेका छन्।

के भएको थियो बैठकमा? पहिलोपोस्टका मनोज सत्यालले दुवै नेतालाई सोधेका थिए-

'आपत्तिजनक शब्दले ह्युमिलेट गरियो'

राजेन्द्र महतो
अध्यक्ष, सद्‍भावना पार्टी


हिजोको वार्ताबाट सहमतितर्फ जाने माहौल बनेको थियो। सहमति बन्ला कि भनेर आज पनि बैठकमा बसेका थियौँ। बैठकमा संघीयताको सवाल उठ्यो। झापा, मोरङ, सुनसरी, कञ्चनपुर र कैलालीको बारेमा मधेसी दलका तर्फबाट धारणा राख्नुस् भन्नुभएको थियो प्रधानमन्त्रीले। मधेसका तर्फबाट मैले धारणा राखेँ।

मैले भनेँ कि झापा, मोरङ, सुनसरी मधेस हो। झापादेखि कञ्चनपुरसम्मको भुभाग मधेस तथा थरुहट प्रदेशमा राख्दा राम्रो होला, यो नै मधेसी मोर्चाको प्रस्ताव र दृष्टिकोण हो। मैले भनेको यत्ति हो।

मैले आफ्नो धारणा राख्दाराख्दै केपीजीले केही यस्ता शब्द यस्ता प्रयोग गर्नुभयो, जसबाट वार्ता असहज हुनगयो। उहाँले एक दुईओटा आपत्तिजनक शब्द प्रयोग गर्नुभयो। उहाँले हाम्रो कुरालाई 'बेतुकको कुरा' भन्नुभयो। उहाँले विहार र युपीको पनि कुरा गर्नुभयो।

छलफल नेपालको संघीयता र राज्यपुनर्संरचनाको विषयमा छ, उहाँ विहार र युपीलाई पनि मधेस प्रदेशमा राख्ने हो भन्नुहुन्छ। हामीले भारतको भुभागलाई पुनर्संरचना गर्न लागेको त होइन। यस्तो आपत्तिजनक कुरा उहाँले किन उठाउनुभयो? ह्युमिलेसन (अपमान) हुने काम गर्नुभयो।

यी कुरा प्रधानमन्त्रीकै अगाडि भएका छन्, चार दलको बैठकमै भएका हुन्, प्रचण्ड केहीबेरका लागि बाहिरिनुभएको थियो। औपचारिक बैठकमा ठूलो पार्टीको ठूलो नेता हुँदैमा यसरी बोल्न मिल्छ? आजको वार्ताको माहौल बिगार्ने काम एमालेले गर्‍यो। त्यो वातावरण ओलीले बनाउनुभयो।

'पाखुरा सुर्केर पुनर्संरचना हुन्छ?'

केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले


उहाँहरुलाई समथर जमिन सबै चाहिने। आँगन पनि समथर हुन्छ। सम्म देखिएको सबै चाहिने हो भने त युपी र विहार पनि दाबी गर्ने हो कि भनेको हो। यस्ता भिखारी कुरा गर्नुहुँदैन। यस्तो कुराको कुनै तुक हुँदैन। राज्य पुनर्संरचना गर्ने भनेको जनताले सेवासुविधा, सुरक्षा, शिक्षा सहज ढंगले पाउन भनेर हो। राज्य पुनर्संरचनाले त राष्ट्रिय भावना र एकता कायम गर्ने हो। यो जात र यो भुभाग भनेर विभाजन गर्ने कुरा उचित हुँदैन।

'के निहु पाउँ कनिका बुकाउँ' भन्ने भनाइ छ। यति कुरा के भनेको थिएँ, उहाँहरुले कनिका बुकाएको मात्र हो। हामी यत्रो समयदेखि कुरिरहेका छौँ। हामीसँग दुई तिहाई छ, सबैलाई थाहा छ। तै पनि हामी वार्तामा छौँ। चाहिने/नचाहिने कुरा सुनिरहेका छौँ। बिहानदेखि रातसम्म तर्क कुतर्क सुनेका छौँ। चाहिने कुरा सुन्दै नसुन्ने, नचाहिने कुरामात्र गर्ने। चाहिने कुरा नस्वीकार्ने।

सहमतिका लागि तर्कपूर्ण कुरा हुनुपर्‍यो। राष्ट्रिय एकताका पक्षमा हुनुपर्‍यो। कसैको जिद्दि र अहंकारका लागि राज्यको पुनर्संरचना हुने हैन। कसले कति पाखुरा सुर्कन सक्छ भनेर त हुने होइन।

उहाँहरु संविधान जारी गर्न तयार हुनुहुन्छ भन्नेमा मलाई शंका छ। उहाँहरु संविधानसभाभित्र भिडन्त गर्न तयारी गर्नुस् भनेर सभासद्लाई निर्देशन दिनुहुन्छ। त्यहाँ त छलफल र बहस पो हुन्छ, कुस्ती खेल्ने ठाउँ हो त्यो?

संविधान बनाउने बेलामा मोर्चा बनाएर किन हिँडिएको हो म बुझ्दिन। यस्तो बेलामा आन्दोलन? अकुपाइ बानेश्वर भनिएको छ, विभिन्न हड्ताल आयोजना गरिएको छ। तर्कले औचित्य पुष्टि गर्ने कि बन्द हड्तालले पुष्टि गर्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell