PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​संविधानसभामा चुनिएका जनप्रतिनिधिलाई बाँदरको संज्ञा दिए ‌ओलीले



​संविधानसभामा चुनिएका जनप्रतिनिधिलाई बाँदरको संज्ञा दिए ‌ओलीले

  • अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानसभामा चुनिएका जनप्रतिनिधिलाई 'बाँदर' सँग तुलना गरेका छन्। प्रमुख दलका शीर्ष नेताहरुबीच भएको बैठकमा सहमति नभएपछि पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्न पुगेका ‌ओलीले आक्रोशित मन्तव्य राख्ने क्रममा सभासद्हरुलाई बाँदरको संज्ञा दिएका हुन्।

उनले भने, 'कुनै रुखमाथि बाँदर चढ्यो भने हाँगो हल्लिनु त स्वभाविकै हो। संविधान सभामा कस्ता कस्ता शक्ति आएका छन्। तिनीहरु आएपछि हल्लिँदैन ? यिनले समस्या खडा गर्दैनन् ? गरिहाल्छ। तर रुखै भाँच्चिने होइन हाँगो हल्लिनेसम्म हो।'

उनले नेपालभाषाको शब्दसमेत सापटी लिएर बाँदरे फूर्तिसँग एमाले नडराउने बताए। उनले भने, 'नेवारी भाषामा एउटा शब्द छ। धेरै नचाहिने कुरा गर्‍यो भने 'माकः फूँइ' भन्छ। कुनै 'माकः फूँइ'सँग एमाले डराउने वाला छैन।' नेपालभाषामा बाँदरलाई 'माकः' भनिन्छ।
 
सुन्नुस् अडियो-


​आफ्नो निर्वाचन क्षेत्र झापासहितका जिल्लाहरुलाई लिएर संघीयताको विषयमा भएको विवाद गर्नेलाई सम्बन्धै नभएको ठेकेदार भन्दै उनले भने, ' अचम्म के लाग्छ भने कता कताको मान्छे कहिले झापाको ठेकेदार भएर निस्कन्छ कहिले कञ्चनपुरको ठेकेदार भएर। कहाँको मान्छे भन्दा त्यो त त्यहाँको होइन। त्यहाँका जनतालाई चर्चा छैन चिन्ता छैन सरोकार छैन अन्तै कतैको मान्छेले भन्छ मलाई त यो चाहियो। त्यहाँका सभासद्हरु जनप्रतिनिधिहरु त्यस्तो कुनै माग गर्दैनन् अन्तैको कसैले जिद्दी गर्छ नभई हुँदैन। किन चाहियो भन्ने अचम्म लाग्छ।'

'लगातार एक ठाउँबाट होइन, दुई ठाउँबाट होइन, तीन ठाउँबाट होइन, जताबाट पनि आउने झापा, मोरङ, सुनसरी यता मिलाउँ न त। छुट्टै बनाउँ न त। पहाड र तराईलाई मेचीदेखि महाकालीसम्म अलग नगरी नहुने। माग के हो यसको? आवश्यकता के हो यसको? यो नेपाल विरोधी कुरा हो। यसलाई कुनै पनि हालतमा स्वीकारिँदैन। पहाडसँग तराई र तराईसँग पहाड जोडिनै दिनु हुन्न यस्तो पनि कुनै तर्क हुन्छ कुनै माग हुन्छ ?, ' उनले प्रश्न गरे।

किन सहमति भएन ?

सहमति निकट भनी प्रचार भए पनि अन्ततः सहमति नभएकोबारे उनले यसो भने,
'हिजो पनि हामी दिनभर बस्यौँ। आज पनि हामी बिहान आठ बजेदेखि मिटिङ। अनि बिहान ८ बजे एउटा सहमति भयो। म एउटा अन्तिम कुरामात्रै तपाईँहरुलाई सुनाउँछु। नौ बजेदेखि फेरि अर्को, अलि धेरै नेताहरुको बैठक थियो। त्यसमा पनि एक किसिमको सहमति भयो। आफ्नो आफ्नो पार्टीमा कुरा गर्नुपर्छ भनेर उठेर हिँडे। अनि पछि आएर त्यो त हाम्रो सहमति पनि नै भएको छैन भन्छ। यसको केही दबाई हुन्छ? कुनै डाक्टर, कुनै अस्पतालको केही लाग्दैन।'
 
कार्यकर्ताहरुको तालीका बीच उनले घोषणा गरे, 'जतिसुकै जालझेल तिकडम गरे पनि सविधान निर्माणको प्रक्रियालाई अघि बढाइन्छ। हामीसँग दुई तिहाई वा सो भन्दा बढी छ, त्यसलाई जोगाइन्छ। अनि यस देशमा लोकतान्त्रिक सविधान जारी गराइन्छ।'

माघ ८ गते भने संविधान जारी गर्न नसकिने उनले स्पष्ट गरे। संविधान नबनाउन १०५ दलको मोर्चा बनेको उल्लेख गर्दै ओलीले भने, 'माओवादीको मान्छेलाई संवाद समितिको अध्यक्ष बनाइदियो भने दिन्छ कि भनेर बनाइयो। तर पाइलो सार्यो कि अल्झाइहाल्ने। तर यो सविधान सभाले असफलता बेहोर्नु पर्ने छैन। यो सविधान सभाले सविधान दिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell