PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कान्तिपुर गाथा : ट्राफिकमा कनिका



किशोर नेपाल

कान्तिपुर गाथा : ट्राफिकमा कनिका

रिपोर्टरका रुपमा चिनिन कनिकालाई समय अलिकति पनि लागेन।
 
'अब्जर्भर'को रिपोर्टर भएकोमा ऊ एकदमै खुशी थिई। सुदिप्ती सपोर्टिभ थिई। ऊभन्दा सपोर्टिभ थियो विपन।
 
विपनलाई साथीहरु जिस्क्याउँथे, ‘कन्या राशी।’
 
केटी जातलाई सपोर्ट गर्ने उसको स्वभाव नै थियो। कनिकालाई विपनको यो स्वभाव थाहा थिएन। उसलाई थाहा पाउनुपर्ने आवश्यकता पनि थिएन। कनिका आफैं कुनै केटातिर आकर्षित नभएसम्म कसैले ‘मछली’ फसाउन सक्दैनथ्यो। चार्लीसँगको प्रेममा ऊ चुर्लुम्म डुबेकी थिई।
 
अब्जर्भरमा पहिलो रिपोर्ट छापिनेबित्तिकै उसले चार्लीसँग भिडियो च्याट गरेकी थिई, ‘मैले काम गर्न थालेँ नि। अब म रिपोर्टर। सुदिप्तीको अनलाइन अब्जर्भरको सिटी रिपोर्टर।’
 
सुनेर चार्ली हाँसेको थियो। मनमनै भनेको थियो- कति दिन उफ्रिने हो केटी। जे भए पनि ऊ खुशी थियो।
 
कनिका जीवनको नयाँ मोडमा थिई। राम्रोसँग काम गरी भने राम्रो रिपोर्टर हुने मटरियल थिई ऊ। कनिका चञ्चल थिई। मूड चलेन भने केही नगर्ने ढिपीवाल। यही चञ्चल स्वभाव उसको सौन्दर्य थियो।
  
यस पटकका लागि कनिकाले रिपोर्टिङको विषय छानेकी थिई- ट्राफिक।
 
कान्तिपुर शहरको जस्तो ट्राफिक अरु कुन शहरमा होला? उसलाई थाहा थिएन। अंकलहरुले ब्यांकक र कोलकाताका ट्राफिकको कुरा गरेको उसले सुनेकी थिई। आफैं कतै केही देखेकी थिइन। कान्तिपुरमा पनि अक्सर ऊ आफनै स्कुटी र साथीभाइहरुको बाइकमा हिँड्थी। केटीहरुलाई स्कुटी चलाउन अलिकति गाह्रो भए पनि केटाहरु सजिलैसँग चलाउँथे बाइक। 
 
उसले गुगल गरी। त्यसमा भनिएको थियो- ट्राफिक लाइटले भेहिकल मुभमेन्ट कन्ट्रोल गर्ने हो भने ट्राफिक जाम कुनै पनि ठूलो शहरका लागि साह्रै ठूलो समस्या रहँदैन। कनिकाले सोची, ट्राफिक लाइट त कान्तिपुरका सडकमा पनि छन्। शहर त्यति ठूलो पनि छैन। शहरमा ती लाइटले किन काम गर्दैनन्? किन धुलो, धुवाँ, गर्मी, जाडो, घाम र पानीका हरेक मौसममा ट्राफिक पोस्टमा उभिएर पुलिसहरु दुःख पाइरहेका छन्?
 
कनिकाले सोची, चौबीस घण्टामा आठ घण्टा बिजुली बल्ने देशमा कसरी चलोस त ट्राफिक लाइट? कुरा ठिकै थियो। कनिकाको मनले यो तर्क मानेन। अल्टरनेटिभ पावरको युगमा जाबो ट्राफिक लाइट त घाम पावरले पनि चल्छ। घाम पावरले यत्रो शहर झिलिमिली भएको छ भने ट्राफिक लाइट नबल्ने त हुँदै होइन।
 
कनिकाको साथी अनिमेषको अंकल सौगात रोडवेज एक्सपर्ट थिए। कान्तिपुर शहरका सडकहरुको ज्ञाता। कनिकाले सौगात अंकललाई फोन गरी र आफ्नो समस्या सुनाई। उनले उसलाई घरैमा बोलाए। स्कुटी चढेर ऊ सौगात अंकलको घरमा पुगी। उनले बताए, 'कान्तिपुरका सडकमा गुड्ने सवारी साधनलाई सुविधा होस् भनेर धेरैले सहयोग गरे पनि शहरले मोडर्न टेक्नोलोजीको मजा लिन पाएको छैन। केही वर्षअघि मात्र जापान सरकारले कान्तिपुर शहरमा ट्राफिक लाइट सिस्टम मोर्डनाइज गरिदिएको थियो। हाम्रो सरकारले त्यसको मेन्टेनेन्स नै गर्न सकेन। सोलार सिस्टमको ब्याकअप भएन। मसीनहरु मर्मत हुनै नसक्ने गरी बिग्रिए।'
  
कनिका छिटो कुरा बुझ्छे। उसले बुझी। सोची, ‘देयर मस्ट वी अदर रिजन्स टु...। ट्राफिक लाइट नभएपछि देशका सडकमा साइरन बजाएर आफ्नो आगमनको सूचना दिँदै हिड्ने नवशासक र उनका सहयोगीहरुको मोटर बिनाबाधा आवत–जावत गर्न पाउने भयो। त्यसपछि पुलिसले ट्राफिक म्यानेजमेन्टका नाममा आफ्नो अधिकारको मनलाग्दी प्रयोग गर्न पाउने भयो। सडकको राजा हो ट्राफिक पुलिस, जसले जुनसुकै बेला कसैले गल्ती गरे पनि र नगरे पनि जरिवानाको टिकट काटेर आफनो कमिशन ग्यारेन्टीगर्न सक्दछ। घामले तातेको आफ्नो रिस कसैमाथि पोख्न सक्छ अकारण।
 
स्कुटी चढेर ऊ बढी ट्राफिक जाम हुने एरिया घुम्न निस्किई। चाबेलबाट शुरु भएको उसको यात्रा गौशाला, पुरानो बानेश्वर, ज्ञानेश्वर चोक, पुतलीसडक हुँदै नयाँसडकमा पुगेर रोकियो।
 
उसले अलि अपायकको ठाउँमा आफनो स्कुटी रोकी र कफी हाउसतिर छिरी। लगभग एक घण्टापछि कफी हाउसबाट निस्किएर अघि स्कुटी पार्क गरेको ठाउँमा आउँदा स्कुटी नै थिएन।
 
उसले छेउको चानचुन पसलेसँग सोधी। उसले जवाफ दियो, ‘ट्राफिकले ट्रकमा हालेर लग्यो तपाईंको बाइक मेमसाब। हिजोदेखि नयाँसडकमा नयाँ नियम लागू भएको छ। अब नयाँसडकमा सवारी गुडाउन मात्रै पाइन्छ, निमेषभर पनि अड्याउन पाइँदैन। पार्किङ गर्ने हो भने कि विशाल बजार जानुपर्छ कि रन्जना छिर्नुपर्छ।’
 
कनिका ट्वाल्ल परी।

यो सिरिजका अन्य गाथा-


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell