PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​कान्तिपुर गाथा : अमरपंक्षीमा हम झण्डु वाम हुए डार्लिङ...



किशोर नेपाल

​कान्तिपुर गाथा : अमरपंक्षीमा हम झण्डु वाम हुए डार्लिङ...

कसो कर्नेल्नी अण्टी गुहारेर दुईवटा टिकटको व्यवस्था गरी सकेकी थिइ कनिकाले। “अमर पंक्षी” अर्थात् सैनिक श्रीमती संघको आयोजनामा हुन लागेको नाचगानमा सहभागी हुन निकै रौसिएकी थिइ ऊ। किन हुँदै थियो कार्यक्रम ? कनिकालाई थाहा थिएन। थाहा पाउने चासो पनि थिएन उसलाई। भारतीय सिने–संसारकी मसहूर नायिका सोनाक्षी सिन्हा र दवंग सिनेमाकी बद्नाम मुन्नी अर्थात् मलाइका अरोराको नाच भनेपछि ऊ त्यसै रमाएकी थिइ। उसलाई लागेको थियो यी दुई कलाकारको तालमा डुव्नेछ आज शहर कान्तिपुर। टुँडिखेलमा हुने यो संगीत र नृत्यको समारोहले भत्किएको धरहरा जुरुक्क खडा भयो भने पनि आश्चर्य हुने छैन। कनिकालाई यस्तै लागेको थियो।

शनिवार। सँधै क्याजुअल ड्रेसमा रमाउने कनिकाको ड्रेस–अप निकै फरक थियो आज। अफगानी स्टायलको सलवार चोलीमा थिइ ऊ। उसले टाउको छोपेकी थिइ रंगीन स्कार्फले। सँधै कि जिन्समा कि हट प्याण्टमा हुन्थी र साधारण देखिन्थी। आज भने ऊ पूरै मुस्लिम युवती देखिएकी थिइ। कमि थियो त कालो रंगको बुर्का मात्र। 

कनिकाको यो रुपलाई चार्लीले निकै बेर हेर्‍यो, निकै नियालेर हेर्‍यो र कनिकालाई नौनी लगाउँदै बोल्यो, “ओहो, कनि, कान्तिपुर वील रक टुडे। तिमीलाई त सारी पनि उत्तिकै सुहाउला हगि ?”

कनिका मुस्काराउँदै बोली, “धेरै चापलुसी नगर। आज म होइन, सोनाक्षी सिन्हा इज रकिङ इन दि सिटी। तर, साँच्ची मैले सारी लगाएको भए झन् राम्री देखिन्थे होला। लेट द्याट वी।”

शो शुरु हुन अझै चार पाँच घण्टा बाँकी थियो। चार्लीले भन्यो, “आज पानी दर्केर पर्यो भने झन रमाइलो हुन्थ्यो। पानीमा भिज्दा त तिमी झन दामी देखिन्थ्यौ होला।”

प्रतिक्रियामा कनिका बोली – कस्तो अलच्छिनी थुतुनो।

चार्ली हाँस्यो मात्र। 

कनिका बोली, “अब भने रमाइलो हुने भो। चीनबाट रेल आउने। भारतबाट नाच–गान आउने।”

चार्लीले थप्यो, “दुबई–कतारबाट नोट आउने।”

कनिकाले सोधी, “भन त चार्ली, चीनबाट रेल डाइरेक्ट आउला त ?”

चार्लीले जवाफ दियो, “आइ हाल्छ नि। रेल आउन के भो र ? दुई वटा पटरी ओछ्याउने त हो नि। प्रधानमन्त्रीले नै भनेका छन् – हेर्दाहेर्दै रेल पनि आउँछ र ग्यास पनि आउँछ।”

त्यसपछि एकैछिन उनीहरुले झमझम पानी ओइरिएको कल्पना गरे। स्टेजमा निथ्रुक्क भिजेका सोनाक्षी र मलाइका। उनीहरुलाई घेरेर बसेका प्रियंका कार्की, रेखा थापा, निशा अधिकारी, सुषमा कार्की, ऋचा शर्मा, केकी अधिकारी र इन्दिरा जोशी जस्ता लोकप्रिय नेपाली अभिनेत्रीहरु। यी सबैलाई घेरा हालेर बसेका भुईंचालो पीडित क्षेत्रका जनता। ती जनतालाई पनि घेरेर बसेका को को, को को। मानिसको अपार भीडमाथि झम्के पानीले गरेको प्रहार। उनीहरुले पछि रियलाइज गरे कल्पना अलिकति चर्को नै भयो। 

उनीहरुको कल्पनामा मलाइकाको हातमा झण्डु वामको वट्टा थियो “मैं झण्डु वाम हुइ, डार्लिङ तेरे लिये।” 

उनी आफनो नाकको टुप्पोमा दल्दै थिइन् झण्डु वाम। सोनाक्षी सिन्हा, खोइ किन हो, लजाइरहेकी थिइन्। पानी रोकिने तरखरमा थियो। दर्शकहरु कराउँदै थिए “वन्स मोर। हामी भिज्न पनि तयार छौं र सुन्न पनि तयार छौं।”

कनिका र चार्लीको कल्पना टुंगियो। उनीहरु निकै खुशी थिए। चार्लीले फेसबुक खोल्यो र अमरपंक्षीको नाममा एक लाइक ठोक्यो। कनिकाले इन्स्टाग्राममा अपलोड गरी। दुवैले मोवाइलको व्याट्री चेक गरे। पावर वैंकको जाँच गरे।

उनीहरु भीडलाई चिर्दै गेटमा पुगे।

ओहोहो, कनिकाको हातमा उसको पर्स थिएन। शोको टिकट त्यही पर्समा थियो...

​(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा )  फोटो साभार : इन्दिरा जोशी/फेसबुक

यो सिरिजका अघिल्ला गाथा

आमा र मायाको मौसम
मायाको ग्यारेन्टी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell