PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​कान्तिपुर गाथा : सिमसिम पानीमा शहर



किशोर नेपाल

​कान्तिपुर गाथा : सिमसिम पानीमा शहर

कान्तिपुरमा वर्षातको मौसम त्यति नरमाइलो हुँदैन। पानी लगातार पर्‍यो भने अलि बोर हुन्छ। पानी पर्दै, घाम लाग्दै गर्‍यो भने मानिसले खोजेको भन्दा बढी आनन्द पाउँछ। कनिकालाई सिमसिमे पानी मन पर्छ। सिमसिमे पानीको सुख भनेको शहरमा धूलो नउड्नु पनि हो। भिज्न पनि खासै भिजिँदैन। समय गुम्सिँदा पनि गुम्सिँदैन। उसै पनि कनिका निसास्सिएकी छ। दुई दिनदेखि चार्लीले उसलाई बाल दिएको छैन। कतार फर्किने तयारीमा उ आफना बाबु – आमालाई फकाउँदैछ। यस्तोमा दिनभर पानी पर्‍यो भने कनिकाको हालत के होला?

‘विचरी म’ कनिका आफैसँग सुकसुकाउँछे। दुई दिनदेखि चार्लीले देखाएको निगेटिव एटिच्यूडले उसलाई निरास बनाउन थालेको छ। उसले थाह पाइसकेकी छ : चार्लीसँगको उसको प्रेम सोचेजति सहज छैन। चार्लीले भनेजस्तो उसले दुई वर्ष पर्खिए पनि प्रतिफल केही पाउने छैन। विना अर्थ किन पर्खिनु चार्लीलाई ? यत्रो कान्तिपुर शहरमा चार्लीमात्रै उसलाई मनपर्ने केटा होला र ? कनिका बिचलित हुन्छे। एकमन उसलाई लाग्छ, चार्लीमात्रै उसको साथी बन्न लायक केटा होइन। अर्को मनले भन्छ, चार्ली जस्तो केटो त तैँले पाउनै सक्दिनस् कनिका।

फोनको घण्टी बज्छ। चार्ली। उ फोन उठाउँदिन। रिङ टोन फेरि दोहोरिएर बज्दछ। उ फेरि फोन उठाउँदिन।  त्यसपछि चार्लीको मेसेज आउँछ,  ‘व्हेर द हेल यू आर कनी? आइ एम प्लानिङ सम फन दिस इभिनिंग...’

मेसेज पढेपछि कनिका फुरुङ्ग पर्छे र फोन गर्छे। कहाँ थियौ ? चार्लीले सोध्नेबित्तिकै जवाफ दिन्छे, ‘फ्रेस हुँदै थिएँ।’ उ वार्डरोवबाट चार्लीलाई मनपर्ने मरुन कलरको टप निकाल्छे। नयाँ लेहङ्गा लगाउँछे। ऐनामा आफैँलाई हेर्छे र आफैँ पुलङ्कित हुन्छे।

घरबाट बाहिर निस्केपछि कनिका अस्वाभाविक रुपमा भावुक बन्छे। उसलाई लाग्छ, यत्रो कान्तिपुर शहरमा मेट्रोको सुविधा छैन। गल्लीगल्लीमा मेट्रो चलाउँछु भन्ने नेतालाई पनि भर्खरै हटाएका छन्। कुनै पनि सुविधा नभएको यो शहरमा कति गाह्रो छ बाँच्नु। कनिका निमेषभरमा चार्लीसँगै विदेशिने कल्पना गर्दछे। कति रमाइलो हुन्थ्यो होला जीवन। चार्ली र म। म र चार्ली।

उसको अगाडि चार्लीले बाइक रोक्छ। कनिका सपनाको संसारबाट बाहिर आउँछे। बाइकमा बस्छे। चार्ली महाराजगन्जतिर दौडाउँछ बाइक।

केही बेरपछि दुवै अल्लादिन क्लबमा नाचिरहेका हुन्छन्। म्युजिक अनौठो छ, सफ्टबाट एक्स्ट्रिम पीचतिर। स्याक्सोफोनको सुन्दर तरङ्गमा निकैबेर नाचेपछि चार्ली र कनिका बारतिर लाग्छन्। तकिलाको दुई दुई सटपछि फेरि फ्लोरमा फर्किन्छन्।

झण्डै दुई घण्टापछि थाकेका ती दुवै आत्मा डिनर टेवलतिर लाग्छन्। अचानक बत्ती झ्याप्प निभ्छ। एकछिन डान्स फ्लोरमा कोलाहल मच्चिन्छ। यो अन्धकारको फाइदा उठाउँदै कनिका र चार्ली एक्स्प्लिसिट किसमा रमाइरहेका हुन्छन्। बत्ती जसरी अचानक झ्याप भएको थियो त्यसरी नै बल्छ। त्यतिन्जेलसम्म चार्ली र कनिका भावनाको बेहोसीबाट व्युँझीसकेका हुन्छन्।

‘एक राउण्ड तकिला ?’ चार्ली सोध्छ।

‘नाईं तकिला। अव एव्सोल्युट भोद्का,’ कनिका बोल्छे।

रात मात्तिँदै जान्छ। चार्ली र कनिका आफ्नै मोहक अवस्थामा रमाइरहेका हुन्छन्। त्यसपछि बार बन्दहुने समय आउँछ। रातको एकबजे।

चार्ली बिस्तारै बाइकको ह्याण्डिल समात्छ। कनिकालाई पछाडि राखेर उ बिस्तारै गन्तव्यतिर लाग्छ। बीचैमा उ झसङ्ग हुन्छ, ओह माइ गड। आजको गन्तव्य त घर हुनै सक्दैन।

उ बाइकलाई अल्लादिनतिरै फर्काउँछ र त्यहीँको एउटा रुम रेन्ट गर्छ।

उनीहरु विस्तारै भर्‍याङ उक्लिन्छन् र कोठामा पुग्छन्। बेडमा ढल्किँदै कनिका भन्छे, ‘मलाई छाडेर नजाउ है तिमी।’

चार्ली भन्छ, ‘मलाई दुई वर्ष पर्ख है तिमी।’

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)

यो सिरिजका अन्य गाथा-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell