PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कान्तिपुर गाथा : कति रोमान्टिक भएको तिमी!



किशोर नेपाल

कान्तिपुर गाथा : कति रोमान्टिक भएको तिमी!

चार्ली फर्किए पनि कनिका त्यति खुलेर खुशी हुन सकेकी थिइन। ऊ मात्र दुई साताका लागि फर्किएको थियो। चार्लीका ममी–ड्याडी पनि त्यति खुशी थिएनन्। ऊसका ड्याडी चाहन्थे - ऊ कान्तिपुरमा नै काम गरेर बसोस्। तर, चार्ली आत्मनिर्भर बन्न चाहन्थ्यो। दुईचार वर्ष पैसा कमाएर देश फर्किने विचार थियो ऊसको। ड्याडीले खटाएर दिएको पैसा खर्च गरेर कान्तिपुर शहरमा हल्लिनुको कुनै मजा थिएन। बाबु–आमाको इमोसनल व्ल्याकमेलिङ र कनिकाको समर्पणले ऊसलाई खासै प्रभाव पारेको थिएन। बेलाबेलामा बुढ्यौलीले छोएका आमा–बुबाको हेरविचारको चिन्ता लाग्थ्यो चार्लीलाई। तर, मायाले मात्रै त भएन। पैसा भएन भने केही हुने होइन। कनिकाको मायाले चार्लीलाई बेलाबेलामा मनमा अप्ठ्यारो पार्दथ्यो। त्यस्तो बेला ऊ आफ्नो मनलाई बिस्तारै थुम्थुम्याउँथ्यो।

चार्ली फर्किएको पाँच दिन भइसकेको थियो। छैठौं दिन ऊ कनिकासँग डेटिङमा निस्कियो। ऊसले आफ्नो बाइक सर्भिसिङ गराएर टिलिक्क पारेको थियो। आफू पनि पोलोको कालो टिसर्ट र जिन्समा सजिएको थियो। कनिका नीलो रङको टप र जिन्समा निकै आकर्षक देखिएकी थिइ। कानमा अर्मानीको टप सुहाएको थियो ऊसलाई। ऊ बाइकमा बसेपछि चार्लीले कुदायो कालिमाटीतिर। यतिन्जेल केही नबोली बसेकी थिइ कनिका। बाइक कालिमाटीबाट दक्षिणकालीको बाटो लागेपछि सोधी, ‘कहाँ जाँदैछौं हामी?’ चार्लीले सुनेन। ऊ एकनासले बाइक चलाइरह्यो। कनिका पनि चार्लीसँग लिपिक्क टाँसिइरही।

हात्तीवनको ऊकालो कटेपछि चार्लीले बाइक रोक्यो। ऊनीहरु पहाडको सानो डिलमा ऊभिए। चार्लीले कनिकाको ध्यान तल फाँटतिरका नयाँ बनेका बस्तीहरुतिर एकोहोर्‍याउँदै भन्यो, ‘कस्तो लाग्यो त?’

कनिकाले स्वच्छ आकाशतिर आँखा दौडाउँदै जवाफ दिइ, ‘मलाई त सफा आकाश नै मन पर्छ।’

कनिका यतातिर कहिल्यै आएकी थिइन। कान्तिपुर शहरको रिमिझिमीमा रमाएकी केटी पहाडका मनोरम दृश्यहरु देखेर मोहित भएकी थिइ। आफ्नो घरबाट यति नजिकै यस्ता दृश्यहरु हेर्न पाइन्छ भन्नेसम्म थाहा नपाएकोमा ऊ पछुताउँदै थिइ।

दश मिनट सुस्ताएपछि चार्ली बाइकमा बस्यो। कनिका बाइकमा बस्न लाग्दा चार्लीले ऊसलाई झुक्याएर ओठैमा माइल्ड किस गर्‍यो। कनिकाको पूरै शरीर सननन्न भयो। ऊसले भनी, ‘कति रोमान्टिक भएको तिमी।’

चार्लीको बाइक कुद्दै फर्पिङबाट दक्षिणकालीतिर लाग्यो। कनिकाले सोची, ‘मन्दिर जाने होला। मन्दिरमा पनि के डेटिङ आएको होला।’ बाइक मन्दिरमा पनि रोकिएन। छैमले गाउँ छिचल्दै रिजोर्टमा गएर रोकियो।

रिजोर्टको वातावरणले कनिकालाई भावुक बनायो। आफै सिंगारिएकी प्रकृतिलाई मानिसले आफनो रुची अनुसार सजाएका थिए। नजिकै बगेको सानो खोलाको समानान्तरमा एऊटा कृत्रिम झरना बनाइएको थियो। आफै सुन्दर केटीलाई व्युटिसियनले सजाएर निखार दिए जस्तो।

चार्लीले रिजोर्टमा रुम बुक गरेको थियो। ऊनीहरु रुममा पुगे। चार्लीले सोध्यो, ‘तिमीलाई भोक लागेन कनि?’ ऊनीहरुले लन्च अर्डर गरे। कनिकाले अचानक चार्लीलाई चपक्क समातेर किस गर्न थाली। चार्लीका लागि यो नयाँ कुरा थिएन। कनिका यस्तो मामिलामा निकै खुला थिइ।

आधा घण्टापछि रेष्टुराँले लन्च तयार भएको सूचना दियो। ऊनीहरु रेष्टुराँतिर लागे। लन्च निकै स्वादिलो थियो।

रुममा फर्किएपछि कनिका चार्लीसँग लुटपुटिन थाली। चार्लीले बुझेको थियो कनिकाको इच्छा र आशय। तर, ऊ त्यसका लागि तयार थिएन। ऊ जीवनका केही व्यवहारिक विषयका बारे कनिकासँग कुरा गर्न चाहन्थ्यो। तर, कनिका चार्लीको शारीरिक स्पर्शमा डुबेकी थिइ। ऊ माया बाहेक अरु कुरै सुन्न तयार थिइन। आवेग थियो ऊसमा। चार्ली ऊसलाई खुशी राख्न चाहन्थ्यो। त्यसैले ऊसले कनिकालाई केही सुनाएन। बिस्तारै ऊ पनि कनिकाको आवेगसँगै बहकिन थाल्यो। ऊनीहरु आफैंमा यति लिप्त थिए कि समय घर्किएको पनि थाहा पाएनन्।

साँझपख चार्लीले भन्यो, ‘अब जाने होइन?’

कनिकाले भनी, ‘कहाँ जाने ? आज यहीँ बसौं न हुन्न?’

चार्ली केही बोलेन। दुवैले एक–अर्काको मनको भाव बुझेका थिए।

त्यसपछि कनिकाले घरमा फोन गरी, ‘आज चार्लीसँग बस्छु। यता घुम्न आएको अबेर भयो।’

कनिकाको भनाईले चार्ली झस्कियो। 

​कनिकाले घरमा आफ्नो प्रेम र समर्पणको पर्दा खोलिसकिछ। ऊसले यसका परिणामका बारेमा विचार गर्‍यो। त्यसपछि मनमनै चित्त बुझायो, ‘जे होस् होस्। दुई वर्ष पर्खिन भनेकै छु। दुईको सट्टा तीन वर्ष त होला।’ (तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा) 

यो सिरिजका अन्य गाथा- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell