PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रपति भण्डारीको बेइजिङ भ्रमणको तयारी, सी जिङपिङलाई नेपाल भ्रमणको निम्तो दिने



विधुर ढकाल

राष्ट्रपति भण्डारीको बेइजिङ भ्रमणको तयारी, सी जिङपिङलाई नेपाल भ्रमणको निम्तो दिने
फाइल फोटो

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी अर्को साता चीन भ्रमणमा जाने भएकी छिन्। बेइजिङमा हुने दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरममा सहभागी हुन चीन जाने कार्यक्रमको तयारी भइरहेको छ।

राष्ट्रपति भण्डारी अप्रिल २६ र २७ मा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जाने तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारी पाँच दिन लामो बेइजिङ भ्रमणको तयारी भइरहेको छ। २४ अप्रिलमा भण्डारी त्यसतर्फ जाने कार्यक्रम तय भइरहेको छ। यद्यपि मन्त्रालयले आधिकारिक रुपमा भ्रमण तालिका सार्वजनिक गरिसकेको छैन।

दोस्रो कार्यकालका लागि राष्ट्रिपति भएकी भण्डारी हालसम्म उत्तरी छिमेकी चीनको भ्रमण गरेकी छैनन्।

सम्मेलनमा राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बेइजिङ भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग भेट गर्ने कार्यक्रम छ। दुई समकक्षीबीच वान अन वान र द्वीपक्षीय भेटवार्ता हुने बताइएको छ।

राष्ट्रपति भण्डारीको यो भ्रमणलाई राजकीय भ्रमण बनाउने विषयमा छलफल भइरहेको स्रोतले जनायो। ‘भ्रमणलाई राजकीय बनाउने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘नेपालमा गणतन्त्र स्थापनापछि बेइजिङमा हुन लागेको नेपाली राष्ट्रपतिको यो पहिलो भ्रमण हो। त्यसैले पनि राजकीय भ्रमणको रुप दिने विषयमा छलफल चलिरहेको छ।’

यसअघि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले चीनको दुई पटक भ्रमण गरेका थिए। यद्यपि ती भ्रमण राजकीय थिएनन्।

यादव बोआओ फोरम र सांघाइ कोअप्रेसनको सम्मेलनमा सहभागी हुन चीन भ्रमण गरेका थिए। यद्यपि गणतन्त्र स्थापनापछि बनेका हरेक जसो सरकारका प्रमुखहरु बेइजिङको भ्रमण गरिसकेका छन्। राष्ट्रपति स्तरमा भने यो पहिलो राजकीय भ्रमण हुन सक्ने छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी जिङपिङलाई औपचारिक रुपमा नेपाल भ्रमणको निम्तोसमेत दिनेछिन्। हाल सम्म चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो प्रधानमन्त्रीमार्फत पटक पटक दिइँदै आए पनि सीले नेपालको भ्रमण गरेका छैनन्।

सम्मेलनमा हालसम्म ४० देशका सरकार तथा राष्ट्र प्रमुखहरुसहित १०० देशका प्रतिनिधिहरुले सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा चीनको विदेश मामिला सम्बन्धी केन्द्रीय आयोगका निर्देशक याङ जेइछीले सिन्ह्वासँग दिएको अन्तर्वार्तामा यस्तो जानकारी गराएका हुन्।

सम्मेलन अहिलेसम्मकै उच्चस्तरीय विदेशी राष्ट्रप्रमुखको जमघट हुने छ। सम्मेलनमा  राष्ट्रपति सीले राष्ट्र एवं सरकार प्रमुखका रूपमा छुट्टै सम्बोधन र छलफल गर्ने कार्यक्रम छ। त्यस्तै बेइजिङले केही देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राजकीय आथित्यतासमेत दिने तयारी गरिरहेको छ।

सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि बेइजिङ जाँदै छन्।

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री, इटालीका प्रधानमन्त्री, फिलिपिन्सका राष्ट्रपति लगायत सहभागि हुने छन्।

सम्मेलनले बीआरआईको पाँच वर्षे प्रगतिको समीक्षा र आगामी वर्षका लागि रोड प्याप तय गर्ने छ। त्यस्तै बीआरआईका बारेमा भइरहेको आलोचनाहरुको जवाफ दिने बताइएको छ।

पछिल्लो समय नेपालसहित दक्षिण एसियाका पाकिस्तान, श्रीलंकामा चीनले बीआरआईमार्फत गर्न लागेको लगानीले ती देशलाई ऋणमा डुबाउने भन्दै आलोचना हुँदै आएको छ। यो सम्मेलनले यी आलोचनाको जवाफ खोज्ने बताइएको छ।

 

यो पनिः  बीआरआईको करसम्बन्धी संयन्त्रको संस्थापक सदस्य हुँदै नेपाल

सन २०१७ को मेमा बेइजिङमा पहिलो सम्मेलन भएको थियो। सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपति सीले दोस्रो सम्मेलन २०१९ मा गर्ने घोषणा गरेका थिए। सोही अनुसार सम्मेलन हुन लागेको हो।

पहिलो सम्मेलनमा नेपालका तर्फबाट तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महरा सहभागी भएका थिए। बेइजिङमा सम्मेलनमा सहभागी हुन जानु अगाडि तत्कालिन अर्थमन्त्री महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितीमा नेपालले बीआरआई फ्रेमवर्क सम्बन्धी एमओयुमा हस्ताक्षर गरेका थियो। एमओयुमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि तत्कालिन चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका थिए।

सो सम्मेलनमा २९ देशका सरकार तथा राष्ट्र प्रमुखहरुले सहभागिता जनाएका थिए। त्यस्तै २७ बढी देशले मन्त्रीस्तरीय सहभागिता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell