PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

मध्य र पश्चिम कमान्डमा प्रहरी धरपकड बढ्दा पूर्वी कमान्डमा संगठन विस्तार गर्दै 'प्रतिबन्धित' नेकपा



विधुर ढकाल

मध्य र पश्चिम कमान्डमा प्रहरी धरपकड बढ्दा पूर्वी कमान्डमा संगठन विस्तार गर्दै 'प्रतिबन्धित' नेकपा

काठमाडौं: नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरी प्रशासनले नेता कार्यकर्तालाई पक्राउ गर्न थालेको छ।

विप्लवले पार्टीको संगठनलाई तीन वटा कमान्ड र १७ ब्युरोमा विभाजन गरेका छन्। पूर्वी मध्य र पश्चिम कमान्डमा गरी विभाजन गरिएका तीन कमान्डमध्ये पश्चिम र मध्य कमान्डमा प्रहरीले प्रतिबन्धित नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रम बढेको छ।

प्रतिबन्ध लगाउनु अगाडिदेखि नै यी दुई कमान्डमा प्रहरीले प्रतिबन्धित नेकपाका नेताहरुलाई पक्राउ गरिरहेको छ। पूर्वी कमान्डमा भने प्रतिबन्धित नेकपाले आफ्नो संगठन विस्तार अभियानलाई तीब्र पारेको छ।

मध्य र पश्चिम कमान्डमा प्रहरीको अप्रेसन

प्रतिबन्धित नेकपाको संगठन मजबुद भएको क्षेत्रको रुपमा रहेका यी कमान्डमा प्रहरीले उच्च निगरानीसहित अप्रेसन चलाइ रहेको छ।

२०७४ साल मंसिरमा भएका निर्वाचनका क्रममा पनि प्रतिबन्धित नेकपाले भन्दै आएको यी दुई कमान्डमा नै धेरै घटना भएका थिए। बम विस्फोट आगजनीसहितका। त्यसपछि पनि यीनै कमान्डमा विप्लव समूहको सक्रियता देखिँदै आएको छ।

गत फागु १० गते विप्लवका कार्यकर्ताले नख्खुस्थित दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुख्यालयको गेटमा वम विष्फोट गराउँदा एक जनाको मृत्यु भयो।

त्यस्तै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धारास्थित घरमा बम विस्फोट गराए।

त्यसको पाँच दिनपछि भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भयो। सरकारले नेकपामाथि प्रतिबन्ध लगाएकै राति करिब १२:३० बजे विष्फोट गराइएको थियो।

प्रतिबन्धित नेकपाका कार्यकर्ताले 'हिंसात्मक' गतिविधि तीब्र पारेपछि सरकारले यस क्षेत्रमा तीब्र रुपमा कारवाहीलाई अगाडि बढाएको छ।

यसबीच प्रहरीले प्रतिवन्धित नेकपाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनलाई शुक्रवार राति काभ्रेबाट पक्राउ गरेको छ।

सुदर्शन तीनै नेता हुन जसले एक जनाको ज्यान जाने गरी भएको नख्खु विष्फोटको जिम्मा लिएका थिए। हालसम्म प्रकाउ पर्नेमा ओली शीर्ष नेता हुन्। उनी प्रतिबन्धित नेकपाको तेस्रो तहका नेता हुन्।

प्रहरीले उनीसँग अन्य ८ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहालवाला मन्त्री विना मगरका पूर्वपति शंकर अधिकारी पनि छन्। अधिकारी प्रतिबन्धित नेकपाको ब्युरो सदस्य हुन्।   

यसअघि प्रहरीले पोलिटब्युरो सदस्य जीवन्त भनिने मोहन कार्की अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की, विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल, नेता जयराम दंगाल, केदार खतिवडा, अर्जुन केसी र अर्जुन गोतामेलगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ।

पछिल्लोसमय विप्लवका कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ रणनीति लिएको प्रहरीले मध्य र पश्चिम कमान्डमा अप्रेसनलाई तीब्र पारेको देखिन्छ।

यसबीच प्रहरीले विप्लव समूहको बुटवलस्थित पार्टी कार्यालय बन्द गराएको छ। बुटवलको ट्राफिक चोकदेखि माथि रहेको ‘रातो घर’ भनेर चिनिने कार्यालय प्रहरीले बन्द गराएको हो।

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि यो घरमा माओवादीले जनवर्गीय संगठनका कार्यालयहरु स्थापना गरेको थियो। राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको यो घरलाई माओवादीले जनयुद्धको समयमा नै झण्डा गाडेका थिए।

जनयुद्ध कालमा वाणिज्य बैंक रहेको यो घर माओवादीले कब्जामा लिएपछि बैंक भाडाको घरमा चल्दै आएको छ। तत्कालीन माओवादी शान्ति प्रकृयामा आएपछि यस घरमा माओवादीका जनवर्गीय संगठन र क्षेत्रीय कार्यालयहरु रहेका थिए। तत्कालीन माओवादी विभाजनपछि यो घरमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आफ्नो कार्यालय बनाएको थियो। पछि वैद्य समूहबाट विप्लव समूह अलग भएपछि यो घरमा विप्लव समूहले आफ्नो कार्यालय स्थापना गरेको थियो।

यो पनि: प्रतिबन्धित नेकपामाथि सरकार कडाः द्वन्द्व व्यवस्थापनमा मौलिकता अपनाएको नेपालले के नयाँ द्वन्द्वको मोडल तयार गर्दैछ?

यसबीच विप्लवको गृहजिल्ला कपिलबस्तुमा प्रहरीले सर्च अप्रेसन नै चलायो। शिवराज नगरपालिका–९, सिम्बरी डाँडामा प्रहरीले एक एक घरमा ९ घन्टा सर्च अप्रेसन चलायो। प्रहरी प्रधान कार्यालयको कार्य विभाग, प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु लगायतको टोलीले विप्लवको गाउँमाथि निगरानी राखेर अध्ययन गरिरहेको थियो। सोही अनुसार प्रहरीले अप्रेसन चलायो।

सोही क्रममा प्रहरीले दुर्गाबहादुर रोकालाई पक्राउ गरी गोली हानेको थियो। उनी घाइते भएका थिए। प्रहरीले उनको घरबाट प्रहरीले दुई वटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउन्ड गोली बरामद गरेको दाबी गरेको छ।

कपिलबस्तुमा मात्र होइन विप्लवका नेता कार्यकर्ता खोज्न प्रहरीले पहाडी जिल्लामा अप्रेसन चलाएको छ। रुकुम रोल्पाका गाउँमा प्रहरीले विप्लवका नेता कार्यकर्ता खोजी गरिरहेको छ।

जनयुद्धमा माओवादी गढको रुपमा रहेको कर्णाली हाल विप्लवको पश्चिम कमान्ड अन्तर्गत छ। यही कमान्डबाट प्रतिवन्धित नेकपाका केन्द्रीय नेताहरु धेरै छन्। दोस्रो तहका नेता हुन् प्रकाण्ड। उनको गृहजिल्ला कालिकोटबाट मात्र दर्जन बढी पोलिटब्युरो सदस्य छन्।

कर्णालीका जिल्लाबाट अधिकांश नेताहरु केन्द्रीय तहमा छन्। त्यसैले पनि प्रहरीले यहाँ विप्लवका कार्यकर्ता खोज्न गाउँ गाउँ पस्न थालेको छ।

पछिल्लो समय कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुख जिल्ला दौडाहामा छन्।

प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाह, सशस्त्र प्रहरी बलका डीआइजी राजुराज सुवाल र राष्ट्रिय अनुसन्धान विभाग प्रदेश निर्देशक मधु कार्कीसहितको टोली शान्ति सुरक्षाको अवस्था अध्ययन गर्दै सुरक्षा निकायलाई निर्देशन दिन जिल्ला–जिल्ला पुगेका छन्।

पूर्वी कमान्डमा संगठन विस्तार गर्दै प्रतिबन्धित नेकपा

पश्चिममा प्रहरीले अप्रेसनलाई तीब्र पारिरहेको बेला प्रतिबन्धित नेकपाले पूर्वी कमान्डमा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तीब्र पारेको छ।

गत शुक्रवार मात्र उसले दोस्रो चरणको यो अभियान सकेको छ। पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सम्पन्न २ महिने अभियान ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान–२’ चलाएको उसले यसको समीक्षा जनकपुर ब्युरोमा सम्पन्न गरेको छ।

सो कार्यक्रमका प्रमुख अतिथि थिए, पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा 'विरही'। त्यस्तै कार्यक्रममा पोलिटब्युरो सदस्य तथा जनकपुर ब्युरो अभियानकी कमान्डर उमा भुजेलसमेत सहभागी थिइन्।

जनकपुर ब्युरोमा मात्र यो अभियानका क्रममा दुई हजार ५७० जनालाई सदस्यता वितरण गरेको दाबी गरेको भुजेललाई उदृत गर्दै मुखपत्र रातोखबरले लेखेको छ।

सो क्रममा २६१ वटा जनवर्गीय संगठनका कमिटीहरु,  २७ वटा पार्टी सेल कमिटी निर्माण गरिएको दाबी भुजेलले गरेकी छन्। उनका अनुसार यस क्रममा ३७५ वटा पिँढीसभा-कोणसभा भएका छन्।

त्यस्तै मेची ब्युरोमा दुई वटा श्रमदान १९ वटा सांस्कृतिक कार्यक्रम, पिंढीसभा–कोणसभा २२ वटा,  १ सय ४४ वटा  जनवर्गीय संगठनका कमिटी, १० वटा पार्टी सेल कमिटी निर्माण भएका छन्।

त्यस्तै कोशी ब्युरोले जनवर्गीय सङ्गठनका १ सय ४४ वटा कमिटी, १८ स्थानमा साँस्कृतिक कार्यक्रम ११५ वटा पिंढीसभा–कोणसभा र १२ वटा जनसभा सम्पन्न गरेको जनाएको छ।

त्यस्तै सगरमाथामा पनि अभियान सकेको बताइएको छ। दुई महिने अभियान माघबाट सुरु भएको थियो। प्रतिवन्धित नेकपाले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान–३’ अर्को दुई महिने अभियान चलाउने तयारी गरिरहेको स्रोतले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell