PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हेमन्तसँगै पक्राउ पर्नेमा मन्त्री विना मगरका पूर्व पति शंकर पनि



पहिलोपोस्ट

हेमन्तसँगै पक्राउ पर्नेमा मन्त्री विना मगरका पूर्व पति शंकर पनि

काठमाडौं : हिजो काभ्रेपलान्चोकमा प्रहरीले घेरा हाली विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो क्रमका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्ने क्रममा पार्टीका ८ अन्य नेता कार्यकर्ता पनि समातिए। पक्राउ पर्नेमध्येका एक हुन् शंकर अधिकारी।

राजनीति र प्रेममा जे पनि हुनसक्छ भन्ने कुरालाई पुनर्पुष्टि गरायो यस घटनाले। खास के हो भने नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध लगाउँदै सबै गतिविधि नियन्त्रणमा खटेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा यिनै अधिकारीकी पूर्व पत्नी सदस्य छिन्।

खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेर नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिवन्धित घोषणा गर्ने क्याबिनेटको सदस्य रहेकी विना मगरका पूर्व पति हुन् शंकर अधिकारी। संयोग नै हो, जतिखेर उनी पक्राउ परे त्यतिखेर उनकी पूर्व पत्नी भने सत्तामा छिन्।

विना मगरले अधिकारीसँग सम्बन्ध टुटाउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशसँग सम्बन्ध जोडेकी थिइन्। अल्पायुमै प्रकाशको निधन भइसकेको छ। कम उमेरमै मन्त्री बनेकी विनाले यतिखेर मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छिन्। र, त्यही अवस्थामा पक्राउ परेका छन् शंकर अधिकारी।

तत्कालीन एकीकृत नेकपा माओवादी फुट्दा मोहन वैद्य र विप्लवसँगै शंकर अधिकारी पनि नेकपा माओवादीबाट नेकपा – माओवादीतिर लागेका थिए। नेकपा-माओवादी पनि टुक्रियो र विप्लवले नेपाल कम्युनिस्ट पार्टी गठन गरे। त्यससँगै अधिकारी पनि विप्लवसँग जोडिए।

अधिकारीसँग सम्बन्ध टुटाएर प्रकाश दाहालले विनालाई लिएर वेपत्ता भएको घटना त्यतिखेर मिडियामा ‘हट केक’ बनेको थियो। घटना सार्वजनिक भएपछि एकीकृत माओवादीले प्रकाशलाई राज्य समितिको सदस्यबाट निलम्बन गरी छानविन शुरु गरेको थियो। प्रकाशले विनासँग सम्बन्ध सुरु गर्दा उनी अखिल क्रान्तिकारीको सचिवालय सदस्य थिइन्। त्यतिखेर शंकर नवगठित नेकपा-माओवादीमा पुगिसकेका थिए। पार्टी विभाजनको त्यस अवधिमा धेरै नेताको जोडी फरक फरक पार्टीमा विभाजित भएका थिए।

विभाजनको यो क्रम पार्टी र परिवारमा नै परिरहेको छ। त्यसको असर हो, पूर्व पति हिरासतमा हुँदा पूर्व पत्नी मन्त्री पदमा आफ्नो विभागीय जिम्मेवारी निर्वाह गरिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell