काठमाडौँ : नेपाल प्रहरीले कञ्चनपुरमा हत्या भएकी १३ वर्षीय बालिका निर्मला पन्तको केससँग सम्बन्धित डिएनए परीक्षणबारे प्रेस विज्ञप्ति जारी गरेको छ।
निलम्बनमा परेका एसपी डिल्लीराज विष्टलगायत उनका छोरा किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टबाट संकलित डिएनए नमूना नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा समेत परीक्षण गरिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
तर निर्मलाको योनीबाट संकलन गरिएको 'भेजिनल स्वाब' को डिएनए परीक्षण कहाँ गरिएको भन्ने बारे चाहिँ विज्ञप्ति मौन छ।
निर्मलाको योनीबाट संकलन गरिएको 'भेजिनल स्वाब'को डिएनए र तीन जनाको डिएनए परीक्षणपछि म्याच गरिएको थियो। म्याच गर्दा तीनै जनाको डिएनए निर्मलाको भेजिनल स्वाबको डिएनएसित नमिलेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो।
प्रमाण नष्ट गरिएको भनी आफ्नै संस्थामाथि यत्रो प्रश्न उठिरहँदा पनि किन प्रहरीले आफ्नै प्रयोगशालामा मात्र निर्मलाको भेजिनल स्वाबको परीक्षण गर्यो भन्ने बारे विज्ञप्तिमा केही लेखिएको छैन।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा निर्मलाको शवबाट निकालिएको 'भेजिनल स्वाबको परिमाणको आधारमा पनि विधि विज्ञान प्रयोगशालामा नपठाएको बताउँछन्। एसएसपी थापाले पहिलोपोस्टलाई भने, 'निर्मलाको शवबाट झिकिएको भेजिनल स्वाब कम परिमाणको थियो। यो पटक-पटक निकाल्न पनि मिलेन तर अन्य आरोपीको जतिखेर पनि जति पनि निकाल्न सक्ने भएकाले दुवै प्रयोगशालामा पठाएका हौँ।'
तर राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झाका अनुसार सुरक्षित रहेको भेजिनल स्वाब छ महिनासम्म पुनः डिएनए परीक्षण गर्न मिल्छ।
‘भेजिनल स्वाब कति परिमाणको हुनुपर्छ भन्ने कुनै निश्चित मापदण्ड छैन,’ उनले भने, ‘कान कोट्याउने ‘इयर बड’ को कपासभन्दा अलिकति बढी भयो भने डिएनए टेस्ट गर्न मिल्छ। निर्मलाको केसमा भेजिनल स्वाबको मात्रा कति छ र कस्तो अवस्थामा छ, हामीलाई थाहा छैन।‘
झाले भने, 'निर्मला पन्तको भेजिनल स्वाबको रिपोर्ट के आयो हामीलाई थाहा हुन्न। उनीहरुले भन्दैनन्। हामीले हामी कहाँ आएका एसपीसहित अरुको डिएनए टेस्ट गरेर पठाएका हौँ। उनीहरुले हामीले पठाएको रिपोर्ट निर्मलाको डिएनए टेस्टसँग मिल्दैन भनेका हुन्।'
विधि विज्ञान प्रयोगशालामा हुनुपर्ने निष्पक्षतालाई मनन गरी प्रहरीको प्रयोगशाला बाहेक स्वतन्त्र प्रयोगशाला पनि आवश्यक रहेको निर्णय ३० वर्षअघिको सरकारले गरेको थियो। सोही अनुरुप बनेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला हाल स्वतन्त्र निकायको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको छ।
झाले नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा बाहेक नेपालमा अरु ठाउँमा डिएनए टेस्ट नहुनेसमेत बताए।
सम्बन्धित समाचार :
निर्मलाको डिएनए परीक्षण प्रहरीले आफ्नै ल्याबमा मात्र किन गर्यो? पीडित र शंकास्पदको टेस्ट फरक-फरक ठाउँमा
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको कि महानिरीक्षक सर्वेन्द्र खनालको कमान्ड चुकेको?