PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निर्मलाको डिएनए परीक्षण प्रहरीले आफ्नै ल्याबमा मात्र किन गर्‍यो? पीडित र शंकास्पदको टेस्ट फरक-फरक ठाउँमा



सागर बुढाथोकी

निर्मलाको डिएनए परीक्षण प्रहरीले आफ्नै ल्याबमा मात्र किन गर्‍यो? पीडित र शंकास्पदको टेस्ट फरक-फरक ठाउँमा

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसँग सम्बन्धित डिएनए परीक्षण दुई फरक-फरक ठाउँमा गरेको भेटिएको छ।

निर्मलाको 'भेजिनल स्वाब' को डिएनए परीक्षण प्रहरीले आफ्नै प्रयोगशालामा मात्र गरेर शंकास्पदहरुको भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएर गरिएको हो। 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख डा. दिनेशकुमार झाले एसपी डिल्लीसिंह विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टकोमात्रै रगतको डिएनए परिक्षण गरेको बताए। 

प्रयोगशालामा निर्मला पन्तको 'भेजिनल स्वाब' नल्याइएकोले त्यसको परीक्षण नगरेको उनले बताए। भने, 'घटनाको दुबै पक्षको डिएनए यहीँ भएको भए हामीले डिएनए मिलेको, नमिलेको भन्न सक्थ्यौँ। हामीले एक  पक्षको डिएनए परीक्षण गरेर त्यसबारे रिपोर्ट लेखेर पठायौँ। नेपाल प्रहरीको ल्याबमा अर्को पक्षको डिएनए टेष्ट भयो।' 

झाले नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा बाहेक नेपालमा अरु ठाउँमा डिएनए टेस्ट नहुनेसमेत बताए। 

विधि विज्ञान प्रयोगशालामा हुनुपर्ने निष्पक्षतालाई मनन गरी प्रहरीको प्रयोगशाला बाहेक स्वतन्त्र प्रयोगशाला पनि आवश्यक रहेको निर्णय ३० वर्षअघिको सरकारले गरेको थियो। सोही अनुरुप बनेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला हाल स्वतन्त्र निकायको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको छ। 

झाले भने, 'निर्मला पन्तको भेजिनल स्वाबको रिपोर्ट के आयो हामीलाई थाहा हुन्न। उनीहरुले भन्दैनन्। हामीले हामी कहाँ आएका एसपीसहित अरुको डिएनए टेस्ट गरेर पठाएका हौँ। उनीहरुले हामीले पठाएको रिपोर्ट निर्मलाको डिएनए टेस्टसँग मिल्दैन भनेका हुन्।'

परीक्षणको रिपोर्ट शुक्रबारनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर बहादुर कठायतले एसपी डिल्लीसिंह विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टसित डिएनए रिपोर्ट मेल नखाएको रिपोर्ट आएको बताए। यसअघि प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको दिलिपसिं‌ह विष्टसित पनि डिएनए मिलेको थिएन। त्यसपछि उनी थुनामुक्त भइसकेका छन्। 

यो केसमा प्रहरीको भूमिकामाथि नै प्रश्न उठिरहेको बेला प्रमुख प्रमाणका रुपमा रहेको निर्मलाको ‘भेजिनल स्वाब’ प्रहरीले आफ्नै प्रयोगशालामा मात्र गर्नुले घटना थप रहस्यमय बनाएको छ। 

गृहमन्त्री रामबहादुर थापाले समेत घटनामा प्रहरीले लापरवाही गरेको देखिएको सार्वजनिक रुपमा बताइसकेका छन्। 

घटनास्थल मुचुल्का तयार पार्दाका क्रममा बरामद गरिएको महत्वपूर्ण प्रमाणका रुपमा लिइने कपडा लगायतका सामाग्री फेला नपरेको गृहमन्त्री थापाले यसअघि नै बताइसकेका छन्। यस्तै घटनास्थलमा फेला परेको कपडा पखालिएको भिडियो पनि बाहिरिएको थियो। 

मैले डिएनए परीक्षण गरेको हैन : डा. वस्ती

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ डाक्टर हरिहर वस्तीले आफूले निर्मला पन्तको डिएनए परिक्षण नगरेको बताएका छन्। 

समाचारहरुमा हरिहर वस्तीसहितको टोलीले डिएनए परीक्षण गरेको भनेर आएपछि उनले आफूले डिएनए परीक्षण नगरेको बताएका हुन्। 
वस्तीले भने, 'म डिएनए परिक्षण गर्ने डाक्टर होइन। यसको बारेमा मलाई केही ज्ञान छैन।'

वस्तीले आफूसँग सम्बन्धित नभएकाले यसबारेमा केही जानकारी नभएको बताए। भने, 'कसले हल्ला फैलायो थाहा छैन। शिक्षण अस्पतालमा पोष्टमार्टम मात्र हुन्छ डिएनए टेस्ट हुन्न।' 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापा क्षेत्रीले डीएनए परीक्षणको लागि कुनै टोली गठन नगरेको जनाए। क्षेत्रीले भने, ‘शिक्षण अस्पतालमा शंकास्पदहरुको रगतको नमूना निकालेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएका हौँ।‘

निर्मला पन्तको भेजिनल स्वाब भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको नपठाएको बारे आफूलाई जानकारी नभएको उनले बताए।

के हो भेजिनल स्वाब?  

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख झाका अनुसार 'भेजिनल स्वाब' भनेको महिलाहरुको योनीमा (भेजिना) हुने तरल पदार्थ हो। बलात्कार जस्तो केशहरुमा 'टुथबड' जस्तो सामान प्रयोग गरे भेजाइनाबाट तरल पदार्थ निकालिन्छ, त्यसलाई भेजाइनल स्वाब भनिन्छ। बलात्कार जस्तो केसमा भेजाइनल स्वाब संकलन गर्दा पुरुषको शुक्रकिटसमेत त्यहाँ हुन्छ। भेजाइनल स्वाब प्रयोगशालामा लगेर टेस्ट गर्दा भेजाइनल स्वाबले पुरुषको बारेमा संकेत दिन्छ। यस्तो केसहरुमा भेजाइनल स्वाबको डिएनए टेस्ट प्रभावकारी मानिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell