PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको कि महानिरीक्षक सर्वेन्द्र खनालको कमान्ड चुकेको?



सविन ढकाल

निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको कि महानिरीक्षक सर्वेन्द्र खनालको कमान्ड चुकेको?

काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना नाघिसक्दा पनि कसले यो अपराध गर्‍यो पत्ता लगाउन सकिएको छैन। न प्रहरीले आरोपीका रुपमा खडा गरिएका पात्रले यसो गरेको प्रमाण भेटियो न स्थानीयले आरोप लगाएका पात्रहरुको। 

प्रहरीले ४१ वर्षका दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। स्थानीय पत्याउन तयार थिएनन्। विष्टको रगतको डिएनए निर्मलाको योनीबाट संकलन गरिएको 'भेजिनल स्वाब' मा भेटिएको पुरुष वीर्यको डिएनएसित मेल खाएन। प्रहरीको अनुसन्धानात्मक भनिएको दावीले हावा खायो। सरकारी वकीलको कार्यालयको रायपछि विष्ट छुटे। 

उनको डिएनए मेल नखाएपछि कञ्चनपुरमा मात्र होइन देशभर एउटै आवाज उठ्यो 'अब प्रहरीकै डिएनए परीक्षण हुनुपर्छ।' एसपी विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजाको समेत डिएनए परीक्षण हुनुपर्ने आवाज उठ्यो। यसपछि प्रहरीकै डिएनए परीक्षण गर्न प्रहरी बाध्य भयो।

निर्मला प्रकरण चर्कँदै गएपछि गत भदौ ७ गते सरकारले उपसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन गरेको थियो। समिति गठन भएको दुई दिनमा नै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको लापरबाही देखिएकाले निलम्बन गर्न समितिले सुझाव दियो। गृह मन्त्रालयले समितिको सुझाव अनुसार नै भदौ ९ गते एसपी विष्टलाई निलम्बन गर्‍यो।

निलम्बन अगाडि नै एसपी विष्ट कञ्चनपुरबाट काठमाडौँ आइसकेका थिए। एसपीको नै डिएनए परीक्षण गर्ने आवाज उठेपछि प्रहरी प्रधान कार्यालय एसपी विष्टको डिएनए परीक्षण गर्ने निर्णयमा पुगेको थियो। भदौ २८ गते दिउँसो रगत निकाल्न एसपी विष्टलाई टिचिङ अस्पताल लगियो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विशेषज्ञ डाक्टर हरिहर वस्तीले एसपी विष्टको रगत झिकिदिए। 

डिएनए परीक्षण एसपी विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि गर्नुथियो। तर उनीहरू त्यो समयमा काठमाडौँमा थिएनन्। कञ्चनपुर प्रहरीलाई दुई जनाको रगत झिकेर काठमाडौँ पठाउन हेडक्वार्टरबाट निर्देशन जारी भयो। हेडक्वार्टरको निर्देशनसँगै कञ्चनपुर प्रहरीले अञ्चल अस्पतालमा लगेर दुई जनाको रगत झिकेर काठमाडौँ पठायो।

सुरक्षित रूपमा रगत जम्मा भएपछि डिएनए परीक्षणको लागि प्रहरी हेडक्वार्टरले प्रहरीले आफ्नै प्रयोगशाला केन्द्रीय विधि विज्ञान प्रयोगशाला र शिक्षा सूचना तथा प्रविधि मन्त्रालय मातहत रहेको स्वतन्त्र ल्याब राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठायो। नेपालमा यी दुई ठाउँमा मात्रै डिएनए परीक्षण हुन्छ।  

रगत पठाएको दुई सातापछि तीनै जनाको डिएनए रिपोर्ट प्रहरीलाई आयो। 

निर्मलाको पोस्टमार्टम गर्दा संकलन गरिएको ‘भेजिनल स्वाब’को डिएनए परीक्षण भने प्रहरीले आफ्नै प्रयोगशालामा गरेर रिपोर्ट तयार पारिसकेको थियो। त्यही रिपोर्ट प्रहरीले अभियुक्त दावी गरेको दिलीपसिंह विष्टसँगको रगतबाट निकालिएको डिएनएसित पनि भिडाएको थियो। प्रहरीको आफ्नै ल्याब र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला दुवैको रिपोर्टमा डिएनए म्याच नभएपछि उनी रिहा भएका थिए। 

एसपी विष्ट, उनका छोरा किरण र आयुष विष्टको पनि डिएनए म्याच नगरेपछि निर्मलाको शवबाट झिकिएको 'भेजिनल स्वाब' माथि नै शङ्का उठिरहेको छ। सँगसँगै प्रमाण नष्ट गरिएको भनी आफ्नै संस्थामाथि यत्रो प्रश्न उठिरहँदा पनि किन प्रहरीले आफ्नै प्रयोगशालामा मात्र निर्मलाको भेजिनल स्वाबको परीक्षण गर्‍यो? किन स्वतन्त्र ल्याबमा परीक्षण गर्न दिएन? आखिर किन प्रहरीले फेरि पनि आफैँ माथि शङ्का गर्ने ठाउँ बनायो? 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा निर्मलाको शवबाट निकालिएको 'भेजिनल स्वाबको परिमाणको आधारमा पनि विधि विज्ञान प्रयोगशालामा नपठाएको बताउँछन्। एसएसपी थापा भन्छन्, 'निर्मलाको शवबाट झिकिएको भेजिनल स्वाब कम परिमाणको थियो। यो पटक-पटक निकाल्न पनि मिलेन तर अन्य आरोपीको जतिखेर पनि जति पनि निकाल्न सक्ने भएकाले दुवै प्रयोगशालामा पठाएका हौँ।'

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झाका अनुसार सुरक्षित रहेको भेजिनल स्वाब छ महिनासम्म पुनः डिएनए परीक्षण गर्न मिल्छ। 

‘भेजिनल स्वाब कति परिमाणको हुनुपर्छ भन्ने कुनै निश्चित मापदण्ड छैन,’ उनले भने, ‘कान कोट्याउने ‘इयर बड’ को कपासभन्दा अलिकति बढी भयो भने डिएनए टेस्ट गर्न मिल्छ। निर्मलाको केसमा भेजिनल स्वाबको मात्रा कति छ र कस्तो अवस्थामा छ, हामीलाई थाहा छैन।‘   

एसपी विष्टमात्र होइन प्रहरी महानिरीक्षकसमेत चुके?

गृहमन्त्री रामबहादुर थापाले संसदको राज्य व्यवस्था समितिको बैठकमा सार्वजनिक रूपमा भनिसकेका छन् - कञ्चनपुर घटनामा प्रहरीले लापरबाही गर्‍यो। उनले प्रहरीले मुचुल्का उठाउँदा भारतमा रहेका निर्मलाको बुवाको औँठाछाप लगाएको पाइएको समेत बताए। गृहमन्त्रीको भनाईले घटनामा संलग्न अपराधीलाई लुकाउन प्रहरी नै लागेको प्रष्ट हुन्छ।  

घटनास्थलमा प्रहरीले प्रमाण उठाउँदा शवमाथि गरेको लापरबाही, पीडित परिवार माथिको व्यवहार र नक्कली अभियुक्त खडा गर्ने प्रहरी नै अर्को अपराधी होइन? प्रहरीले नै निर्मलाको शरीरको कपडा जलाउनु अपराध होइन? गृहमन्त्री यही भन्दै हिँडिरहेका छन्। तर अनुसन्धान गर्ने प्रहरीलाई कारबाही भएको छैन। आखिर किन?

गृहमन्त्री थापा मात्र होइन। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि प्रहरीलाई ‘निकम्मा’को ट्याग दिँदै हिँडिरहेका छन्, एसपी विष्टलाई निकम्मा भनिरहँदा आफ्नो सङ्गठन चाहिँ के भयो त? उनले नै गरेको नेतृत्व कता जाँदैछ? गैर व्यवसायिक काम गरेर कमान्ड समाल्न नसक्ने प्रहरीले छोडेर जाँदा हुन्छ भन्ने महानिरीक्षकलाई अब के भन्ने?

गृहमन्त्री र महानिरीक्षकले प्रहरीको अनुसन्धान बदनियत भएको भन्दै हिँड्ने तर नियन्त्रणमा लिएर कारबाही गर्न किन हिचकिचाहट? एसपी विष्टले निलम्बन मात्र हुनुपर्ने लापरबाही मात्रै गरेका हुन् त?

मुलुकी अपराध संहिताको दफा ९९ (२) अनुसार बदनियतपूर्वक अनुसन्धान गर्ने प्रहरीलाई ६ महिना कैद तथा पाँच हजार रुपैयाँसम्म वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। 

प्रश्न उठ्छ विष्टले कसलाई जोगाउन यत्रो जोखिम मोलिरहेका छन्?

गृहमन्त्री र महानिरीक्षकले कि भन्न सक्नु पर्‍यो प्रहरीले लापबाही नै गरेको छैन। तर लापरबाही भन्ने अनि कारबाही गर्न खुट्टा कमाउने हो भने म कुटेजस्तो गर्छु तँ रोए जस्तो गर भन्ने उखान भएन र ?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell