PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्मला प्रकरण : एसपीपुत्रले पार्टी गरेको होटेलको सिसिटिभी फुटेज नियम विपरीत मेटियो, कारबाही गर्ने तयारी



सविन ढकाल

निर्मला प्रकरण : एसपीपुत्रले पार्टी गरेको होटेलको सिसिटिभी फुटेज नियम विपरीत मेटियो, कारबाही गर्ने तयारी

काठमाडौँ : १३ वर्षीय बालिका निर्मला पन्तको घटना धेरै प्रमाण प्रहरीले नै नष्ट गरेको खुल्न थालेको छ। निर्मलाको शवबाट झिकिएको कपडा स्थानीय प्रहरीले जलाएको गृहमन्त्री रामबहादुर थापाले नै बताइसकेका छन्। घटनास्थलमा अन्य व्यक्तिको बाक्लो उपस्थिति हुने हुनाले थप प्रमाण भेटिन सक्ने अवस्था छैन। अब प्रहरीको अपराधीसँग पुग्ने थप प्रमाण के रहला त?

घटनाको अनुसन्धान गरिरहेको प्रहरीसँग अहिले निर्मलाको शवबाट निकालिएको ‘भेजिनल स्वाब’ बाहेक अन्य गतिला प्रमाणहरू छैन।शङ्कास्पद व्यक्तिको डिएनए परीक्षण गरी अभियुक्तको खोजी गर्दैछ प्रहरी। प्रमाण नष्ट गरिँदा घटना झन् रहस्यमय बन्दै गएको हो। 

गत असोज २३ गते काठमाडौँको नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरियो। अपराधी नजिक पुग्न प्रहरीलाई धेरै कुर्नु परेन। घटनास्थल वरपर राखिएका सिसिटिभी प्रहरीको अनुसन्धानमा सारथी बन्यो। घटनास्थल वरपरका सबै फुटेज प्रहरीले मगायो। फुटेजमा देखिएका छिर्केमिर्के टिसर्ट लगाएका एक युवक प्रहरीको शंकाको घेरामा परे। प्रहरीले युवकको खोजी गर्यो्। नभन्दै तिनै युवकमार्फत् प्रहरी अपराधी नजिक पुग्यो। 

कालिमाटीको एक कार्यालयमा एसिड भन्दै डर देखाएर तीन लाख रुपैयाँ लुटिएको घटना होस् वा न्यूरोडको सहकारी संस्थाको डकैतीदेखि विभिन्न चोरीमा पनि प्रहरी सिसिटिभी फुटेजको माध्यमबाट नै अपराधीको नजिक पुगेका धेरै उदाहरण छन्। तर अहिले कञ्चनपुर प्रकरणमा भने सिसिटिभी फुटेज प्रहरी सहारा बन्न सकेन। 

सिसिटिभी जडानमा नै बदनियत !

घटनाका हरेक तथ्यहरू केलाइरहेको प्रहरी अहिले सिसीटिभी क्यामरामा पुगेको छ। भीमदत्त नगरपालिका अन्तर्गत राखिएका १७ वटा क्यामरामध्ये ७ वटा फुटाइएको, बन्द भएको देखिएको भन्दै स्थानीय आक्रोशित बनेपछि प्रहरीको ध्यान सिसिटिभीतिर जान बाध्य भएको थियो। त्यसअघि प्रहरीको अनुसन्धान सिसिटिभीको फुटेजतर्फ गएकै थिएन।

घटनामा शङ्का लागेर डिएनए परीक्षण गराइएका तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरा किरणले घटना भएको दिन ओपेरा होटेलमा पार्टी दिएका थिए। घटनास्थलबाट करिब ३ किलोमिटरको दूरीमा रहेको होटेलमा त्यस दिन के भएको थियो? को-को उपस्थित थिए? होटलमा एसपी विष्टपुत्र कति समयदेखि कति समयसम्म रहेका थिए? के निर्मला पनि त्यहाँ पुगेकी थिइन्? अहिले प्रहरी अनुसन्धानको लागि यी तथ्य सबैभन्दा महत्त्वपूर्ण देखिएको छ। 

तर होटलमा जडित क्यामराको फुटेज प्रहरी अनुसन्धानको लागि उपलब्ध छैन। किन? होटेल मालिकका अनुसार सिसिटिभी क्यामराको हार्डडिस्कमा १५ दिनको मात्र फुटेज संग्रह हुने क्षमता। घटना साउन १० गते भएको थियो। तर प्रहरी भने सिसिटिभी फुटेज खोज्दै त्यसको एक महिनापछि मात्र पुगेको थियो। 

समाजमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउन  गृह मन्त्रालयले 'सिसिटिभी क्यामरा जडान तथा सञ्चालन कार्यविधि २०७२' प्रयोगमा ल्याएको छ। तीन वर्षअघि नै सुरक्षा निकाय र अन्य सरकारी निकायसँगको छलफलपछि तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले यो कार्यविधि लागू गरेका थिए। 
कार्यविधिमा सिसिटिभीबाट खिचेका दृश्य कम्तिमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने उल्लेख छ। तर यस्तो  भएन। गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव एकदेव अधिकारी नियम विपरीत सिसिटिभि जडान भएको बताउँछन्।



३ महिनासम्म दृश्य सुरक्षित राख्न बढी क्षमताको हार्डडिस्क आवश्यक पर्ने भएकोले सिसिटिभी जडान गर्ने व्यापारीहरुले खर्च घटाउन सामान्यतया एक हप्ता वा १५ दिनको मात्रै दृश्य सुरक्षित राख्ने हार्डडिस्क प्रयोग गर्न सुझाउँछन्। 

कारबाही के होला ?

उपसचिव अधिकारी ‌ओपेरा होटेलमा भएको सिसिटिभी क्यामराका दृश्य १५ दिन मात्र सुरक्षित गर्ने क्षमता हुनु नियमको उल्लंघन हो। अधिकारी भन्छन्, 'यो नियम विपरीत हो। यसअघि यस्ता घटना कम नै भएका थिए। त्यसैले नियमनकारी निकायको ध्यान कम पुगेको थियो। अहिले दृश्य क्षमता कम हुँदा अनुसन्धानमा केही असहज भएको छ। कानुन विपरीत गएर काम गर्नेलाई कारबाही हुन्छ।'

ओपेरा होटेलको सिसिटिभी फुटेजलाई लिएर आवश्यक कारबाहीको लागि स्थानीय प्रशासनलाई जानकारी गराइसकेको उपसचिव अधिकारीले जानकारी दिए। उनले भने,' कञ्चनपुर मात्र होइन, अब यो घटनापछि सबैले बुझ्न जरुरी छ। आफ्ना कार्यालमा भएका सबै सिसिटिभीको क्षमता तीन महिना बनाउनुहोस्। नत्र कारबाहीको भागिदार हुनुहोला।' 

कार्यविधि पालना नगर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गर्ने व्यवस्था गरिएको छ। 

हार्डडिस्क रिकभर होला?

अहिले प्रहरीले मेटिइसकेका सिसिटिभी क्यामराका दृश्यहरु रिकभर गर्ने प्रयास गरिरहेको छ। यसका लागि हार्डडिस्कहरु प्रहरी प्रधान कार्यालय नक्साल ल्याइएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्री बताउँछन्, ‘१५ दिनको मात्र क्षमता भएकाले रिकभरको प्रयासमा छौँ। रिकभर हुन्छ, हुँदैन- टुङगो लागिसकेको छैन।'

यो पनि पढ्नुहोस्

नयाँ ट्विस्टपछि निर्मला प्रकरण : एसपी विष्टसहित निलम्बनमा परेका प्रहरी के गर्दैछन्?

निर्मला प्रकरण : एकले अर्कोलाई दोष थुपार्दै प्रहरी, दुई प्रहरीको म्यासेज देखियो 'शंकास्पद'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell