PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


निर्मला प्रकरण : एकले अर्कोलाई दोष थुपार्दै प्रहरी, दुई प्रहरीको म्यासेज देखियो 'शंकास्पद'


सविन ढकाल

निर्मला प्रकरण : एकले अर्कोलाई दोष थुपार्दै प्रहरी, दुई प्रहरीको म्यासेज देखियो 'शंकास्पद'

काठमाडौँ : निर्मला पन्तको बलात्कार र हत्या घटनाको चुरोमा पुग्न सरकारसँगै प्रहरी संगठनले पनि विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ। तर अझै केही पत्ता लाग्न सकेको छैन। कञ्चनपुरमा घटनाको अनुसन्धान भइरहँदा प्रहरी प्रधान कार्यालय नक्सालमा पनि केही दिनदेखि प्रहरीमाथि नै अनुसन्धान जारी छ।

कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएका डिएसपी अंगुर जिसी लगायत दुई दर्जन प्रहरीको दैनिकी अहिले हेडक्वार्टरमा बयान र पोलिग्राफ परीक्षणमा बितिरहेको छ। एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले निर्मला प्रकरणमा संलग्न प्रहरीको बयान लिइरहेको छ। 

केही दिनदेखि समितिले लिएको बयानमा प्रहरीले एकअर्कोलाई दोषारोपण गरिरहेको अनुसन्धानसँग सम्वद्ध प्रहरी स्रोतले बताएको छ।

सिआइबीबाट गएको टोलीले कञ्चनपुर प्रहरीलाई र कञ्चनपुर प्रहरीले सिआइबी टोलीलाई दोषी देखाउँदै बयान दिएका छन्। एक प्रहरी अधिकृतले पहिलोपोस्टसँग भने, 'बयानमा दुवै पक्ष एक अर्कोलाई दोष थुपारिरहेका छन्।'

सिआइबीको टोलीले कञ्चनपुर प्रहरीले घटनाका अभियुक्त भनिएका दीलिपसिंह विष्टलाई पक्राउ गरेको र आफूहरुले प्रमाण संकलन गरेको र प्रमाण मिलेकाले कारबाही अगाडि बढाएको बताएका छन्। सिआइबी टोलीले घटनामा अभियुक्त विष्टको डिएनए परीक्षण समेत आफ्नै टोलीले गर्न लगाएको बताएको छ।

उता कञ्चनपुर प्रहरी प्रमुख लगायतले भने सिआइबीले प्रमाण र अनुसन्धान गर्दा अभियुक्त विष्टसँग नै मिलेकाले आफूहरुले कारबाही प्रकृयामा ल्याएको बताएका हुन्। बयानमा दुवै प्रहरीले कुनै पनि नियोजित रुपमा अनुसन्धान नगरेको दावी गरेका छन्। 

प्रहरीको म्यासेजमा कैफियत भेटियो

समितिले घटनामा संलग्न सबै प्रहरीको मोबाइलसमेत चेक गरेको छ। प्रहरीको फोन कलदेखि लिएर म्यासेजसम्मको अनुसन्धान गर्ने क्रममा कञ्चनपुरमा कार्यरत दुई प्रहरीको मोबाइलको म्यासेजमा भने केही कैफियत देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

तर म्यासेजमा कस्तो प्रकृतिको कैफियत हो भने खुल्न सकेको छैन। समितिले कञ्चनपुरका १७ र निलम्बित ६ जना प्रहरी अधिकृतहरुको मोबाइल चेक गरेको थियो। निलम्वित एसपी विष्टले चारवटा सिम कार्ड प्रयोग गर्ने गरेको भेटिएको छ।

घटनाको अनुसन्धान गर्ने समितिभित्र एक्सपर्ट टिम गठन

एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले घटनाको छानबिन गर्न एक्सपर्ट प्रहरीहरु मगाएको छ। 

समितिले प्राविधिक, कानुन, अपराध अनुसन्धान र मुद्दामा ज्ञान भएका प्रहरीहरु झिकाएको हो। कानुन डेस्कमा एसपी गणेश रेग्मी, मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापा,  प्राविधिक पक्षमा महानगरीय अपराध अनुसन्धानका महाशाखाका सई गजेन्द्र रावत र प्रहरी एकेडेमीका  सई सुमन थापालाई समितिमा राखिएको छ। 

टीमले घटनाको थप अनुसन्धान गर्नेछ। 


 



निर्मला प्रकरण : एकले अर्कोलाई दोष थुपार्दै प्रहरी, दुई प्रहरीको म्यासेज देखियो 'शंकास्पद' को लागी १ प्रतिक्रिया(हरु)

bishnu [ 2018-09-24 06:14:39 ]
we need Ramesh kharel there , he would have done it successfully.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट