PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निर्मला प्रकरणमा गृहमन्त्रीको खुलासा : 'ब्याक डेट'मा प्रहरीले गर्न लगायो बावुको औठाछाप



सविन ढकाल

निर्मला प्रकरणमा गृहमन्त्रीको खुलासा : 'ब्याक डेट'मा प्रहरीले गर्न लगायो बावुको औठाछाप

काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थानीय प्रहरीले गम्भीर गल्ती गरेको गृहमन्त्री रामबहादुर थापाले स्वीकारेका छन्।  

एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले घटना भएपछि प्रहरीले प्रमाण मेटाउन कुन हदसम्म काम गर्यो, खुलासा गरे। 

संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले गरेको खुलासा अनुसार प्रहरीले निर्मलाका बुवा यज्ञराजको फर्जी औठाछाप गराएका थिए। निर्मालको शव गत साउन ११ गते भेटिएको थियो। सोही दिन प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बुवाको ‌औठाछाप लगाइएको छ। तर, निर्मलाका बुवा भने १२ गतेमात्र भारतबाट फर्किएका हुन्। 

गृहमन्त्री थापाले भने, '११ गते मुचुल्का उठाइएको छ। जसमा बुवाको औठा छापसमेत छ। बुवा १२ गते मात्र भारतबाट आएका हुन्। निर्मलाले लगाएका लुगासमेत खोलेर जलाइएको भेटियो। अनुसन्धानमा प्रहरीले मनपरी गरेको छ।'

समितिले मङ्गलवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। समितिका संयोजक सह-सचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो। सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ गते छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो। १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि अर्को १५ दिन म्याद थप गरिएको थियो। घटना दवाउन प्रहरीले घटनाको मुख्य अभियुक्तका रुपमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई समातेको थियो। उनको डिएनए परीक्षण नमिलेपछि जिल्ला अदालतले रिहाको आदेश दिएको थियो। 

समितिको प्रारम्भीक अनुसन्धानको अनुसार नै गृह मन्त्रालयले तत्कालीन कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी अङ्गुर जिसी, ज्ञानबहादुर सेती लगायत ६ जना प्रहरीलाई निलम्बित गरेको थियो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको गम्भीर त्रुटि देखिएकाले कारबाहीको प्रकृया अगाडि बढाइसकेको जानकारी दिएका छन् आजको समिति बैठकमा।
सम्वन्धित समचार

निर्मला प्रकरण थप रहस्यमय बन्दै : सिसीटिभीतिर अनुसन्धानको भर, गर्ला त प्रहरीले रिकभर?

निर्मला प्रकरणमा नपत्याइएको कुकुरः ब्लड हाउन्डको आशा लाग्ने अनुसन्धान

निर्मला प्रकरण : एकले अर्कोलाई दोष थुपार्दै प्रहरी, दुई प्रहरीको म्यासेज देखियो 'शंकास्पद'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell