PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

निर्मला प्रकरण थप रहस्यमय बन्दै : सिसीटिभीतिर अनुसन्धानको भर, गर्ला त प्रहरीले रिकभर?



निर्मला प्रकरण थप रहस्यमय बन्दै : सिसीटिभीतिर अनुसन्धानको भर, गर्ला त प्रहरीले रिकभर?

काठमाडौं: १३ वर्षीया निर्मला पन्तको घटना दिनदिनै रहस्यमय बन्दै गएको छ। घटनाको अनुसन्धान गरिरहेको प्रहरीसँग अहिले ‘भेजिनल स्वाब’ बाहेक अन्य गतिलो प्रमाणहरू खासै हात लाग्न सकेको छैन। शंकास्पद व्यक्ति डिएनए परीक्षण गरी अभियुक्तको खोजी गर्दै छ प्रहरी।  प्रमाण लुप्त हुँदा घटना रहस्यमय बन्दै गएको हो।

घटनाको हरेक तथ्यहरू केलाई रहेको प्रहरीले अहिले सिसी टिभी क्यामरामा पुगेको छ। स्थानीयको चर्को दबाबपछि प्रहरीले घटनास्थलको वरपर रहेका सिसी टिभी क्यामरा हेरिएको छ। घटना भएको ६ दिनपछि घटनास्थलका वरपर रहेका सिसी टिभीमा कैफियत देखिएको भन्दै स्थानीयले आवाज उठाएका थिए। भीमदत्त नगरपालिका अन्तर्गत राखिएका १७ वटा क्यामरामध्ये ७ वटामा कैफियत देखिएको हो।

घटनामा शंका लागेर डिएनए परीक्षण गराइएका तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरा किरणले घटना भएको दिन होटेलमा पार्टी दिएका थिए। होटेल घटनास्थलबाट करिब ३ किलोमिटरको दुरीमा पर्छ। शंकाको तीर अहिले होटेलतिरको गतिविधिमा नै तेर्सिएको छ। होटेलमा जडित सिसी क्यामरामा भने कुनै दृश्य कैद नहुनाले घटनालाई टुइष्ट गराएको हो। आखिर किन क्यामरामा दृश्य कैद भएन?

विष्टले आफ्नो जन्मदिनको अवसरमा साथीहरूसहित फोटो सुट गरेको भनिएको होटेल ओपेराको सीसीटीभी क्यामेराको हार्डडिस्कको क्षमता १५ दिनसम्म मात्रै भएको प्रहरीको दाबी छ।

घटनाले टुइस्ट लिएपछि अहिले प्रहरीले कैफियत देखिएका क्यामरा रिकभर गर्ने भएको छ। रिकभरको लागि कैफियत देखिएका  क्यामरा प्रहरी प्रधान कार्यालय नक्साल ल्याइएको छ। प्रहरीको प्राविधिक टिमले क्यामराको रिकभर गर्दै छ। 'हामीले कैफियत देखिएका क्यामरा ल्याएका हौँ। हाम्रो टिमले हेरिरहेको छ। रिकभर भएकै घटनामा अनुसन्धान गर्ने केही सहयोग पुग्न सक्छ।' नेपाल प्रहरीका एसएसपी शैलेस थापाले क्षेत्रीले भने।

विवादास्पद प्रहरीकै पोलिग्राफ टेस्ट गर्दै

निर्मला प्रकरणमा विवादास्पद प्रहरीहरूमाथि पोलिग्राफ टेस्ट गरिरहेको छ। प्रहरी प्रधान कार्यालयमा केही दिनदेखि जारी टेस्टमा आइतवार भने एसपी विष्टसहितको पोलिग्राफ लिने तयारी गरेको हो। एसपी विष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो। एसपी विष्टको डिएनए परीक्षणसमेत गरिएको छ। तर प्रहरीले डिएनए सार्वजनिक गरेको छैन। निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी लगायतको पोलिग्राफ लिएको हो। निलम्बित विष्ट हिजोआज बिहान १० बजे हेडक्वार्टर पुग्ने र दिनभरको अनुसन्धान, बयानपछि दिउँसो ५ बजेतिर निस्किने गरेका छन्।

१७ प्रहरीलाई छुट्टाछुटै अनुसन्धान

निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौँ झिकाए अनुसन्धान भइरहेको छ। उनीहरूमाथि प्रहरी प्रधान कार्यालयबाट डिआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले अनुसन्धान सुरु गरिरहेको छ। घटनामा कसको के भूमिका रह्यो? कुन प्रहरीको के कमजोरी देखियो? भन्ने विषयमा अनुसन्धान हुने गरेको छ। दुईवटा समूह बनाएर अनुसन्धान भइरहेको हो।

कञ्चनपुरमा जिल्ला प्रहरी प्रमुख एसपी कुबेरबहादुर कठायत,  केन्द्रीय अनुसन्धान ब्युरोबाट एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा पुगेको टिम र एसपी दुर्गा सिंहको समूहले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell