PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोदीको पाँचौँ नेपाल भ्रमण मंसिर दोस्रो साता!



विधुर ढकाल

मोदीको पाँचौँ नेपाल भ्रमण मंसिर दोस्रो साता!

काठमाडौँ:  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मंसिरमा नेपालको भ्रमण गर्ने भएका छन्। काठमाडौंस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयले उनको पाँचौँ नेपाल भ्रमणको तयारी थालेको छ।

गत भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विम्स्टेकको चौँथो शिखर सम्मेलनका क्रममा मोदी नेपाल आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पुनः भ्रमणका लागि निम्ता दिएका थिए। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई मोदीले चाहेर पनि हुन नसकेको लुम्विनी भ्रमणका लागि उनलाई पुनः निम्ता दिएका थिए।

भारतीय दूतावास स्रोतका अनुसार मोदीको नेपाल भ्रमणको तयारी र तालिकामा काम भइरहेको छ। भ्रमणको तालिका तयारीका लागि भारतीय दूतावासका अधिकारी र परराष्ट्र मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन्।

यता परराष्ट्र स्रोतका अनुसार मोदीको भ्रमणको हुने भए पनि मिति र एजेण्डा भने टुंगो लागिसकेको छैन। ‘हामीहरु छलफलमै छौँ। उहाँको भ्रमण हुन्छ। कहिले हुन्छ भन्ने टुंगो लागेको छैन,’ स्रोतले भन्यो।

भ्रमणका क्रममा भारतीय सहयोगमा निर्माण भएको रेलवेको उद्घाटन गर्ने गरी तयारी भइरहेको समेत स्रोतले बतायो। यद्यपि त्यसको सम्पूर्ण तयारीपछि मात्र भ्रमणको टुंगो लाग्नेछ।

जनकपुर-जयनगर रेलवे खण्ड निर्माण सम्पन्न भइसकेको छ। सो रेलवेमा पुसभित्र रेल सञ्चालन गर्ने तयारी सरकारले गरिरहेको छ। सरकारले पुसभित्रै भारतीय डिब्बा ‘वेट लिज’मा लिएर रेल संचालनमा ल्याउने तयारी गरेको हो।

रेल विभागले गत साउनमा यसको परीक्षणसमेत सम्पन्न गरिसकेको छ। साउनको अन्तिम साता जयनगरदेखि -खजुरी करिब ९ किलोमिटर खण्डको परीक्षण गरिएको थियो।

यता नेपालको परराष्ट्र मन्त्रालयले भ्रमणको मिति र एजेण्डा टुंगो नलागे पनि भारतीय सञ्चार माध्यमले मोदी मंसिरको दोस्रो साता नेपाल भ्रमण गर्ने भन्दै समाचार प्रकाशित गरेका छन्। भारतको एएनआई न्यूजले भारतीय दूतावास स्रोतलाई उदृत गर्दै मोदी नोभेम्वर २८ र २९ (मंसिर १३ र १४ गते) नेपाल भ्रमणमा आउने जनाएको छ।

भ्रमणका क्रममा मोदीले लुम्विनीको भ्रमण गर्नेसमेत समाचारमा उल्लेख छ। ‘भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भगवान गौतम बुद्धको जन्मभूमि लुम्विनीको समेत भ्रमण गर्नुहुनेछ,’ दूतावास स्रोतले सीएनआईसँग भनेको छ, ‘यसअघि हुँदै आएका उच्चस्तरीय वार्ता तथा छलफलहरुसमेत हुँने छन्।’

सन् २०१४ मा प्रधानमन्त्री भएसँगै पहिलोपटक नेपाल आएका उनले पशुपति नाथको दर्शन गरेका थिए। सोही क्रममा उनी लुम्विनी जाने बताइए पनि सुरक्षाका कारण भ्रमण हुन सकेन्।

उनी सन् २०१४ मै सार्क शिखर सम्मेलनका क्रममा नेपाल दोस्रोपटक आए।

यसैवर्ष मोदी वैशाखमा तेस्रो पटक नेपाल भ्रमण गरे। सो भ्रमणका क्रममा उनले जनकपुर जानकी मन्दीर, मुक्तिनाथसँगै पशुपतिनाथको दर्शन गरे। तर त्यसवेला समेत उनी सुरक्षाकै कारण लुम्विनी जान सकेनन्।

चौथोपटक मोदी भदौमा नेपाल आए। बिम्स्टेक सम्मेलनका क्रममा उनी नेपाल आए। सो क्रममा नेपाल आएका म्यानमार, भुटान र श्रीलंकका भीभीआईपी लुम्विनी गए पनि सुरक्षा थ्रेटकै कारण उनको लुम्विनी भ्रमण सेड्युलमा परेन्। उनी पशुपतिनाथको दर्शनका लागि भने गए। त्यहाँ भारतीय सहयोगमा निर्मित धर्मशाला उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका थिए।

उनको यसपटकको मुख्य एजेण्डा नै लुम्बिनी भ्रमण हुने स्रोतले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell